काठमाडौंको बसपार्कदेखि मुस्ताङको ट्रेकिङ रुटसम्म, कलेजको क्यान्टिनदेखि रातिको सिफ्टमा काम गर्ने कारखानासम्म आज एउटै दृश्य दोहोरिन्छ – रंगीन क्यान हातमा लिएका युवा। कसैलाई जागा बस्नु छ, कसैलाई खेल जित्नु छ, कसैलाई लामो ड्राइभ धान्नु छ। इनर्जी ड्रिंक्स अब केवल पेय रहेन, यो हतारिएको जीवनशैलीको प्रतीक बनेको छ। तर यो बोतलभित्र वास्तवमा के छ–ऊर्जा, भ्रम, बजारको प्रभाव कि सम्भावनाको नयाँ कथा? इतिहास हेर्दा मानिसले ऊर्जा, सहनशक्ति र मानसिक दृढता बढाउन विभिन्न उपाय अपनाएको पाइन्छ। युद्ध, लडाइँ, लामो पदयात्रा वा कठोर शारीरिक श्रमका क्रममा विभिन्न समाजहरूले मदिरा, जडीबुटी तथा अन्य उत्तेजक पदार्थहरूको प्रयोग गर्थे। यद्यपि, तिनको उद्देश्य र प्रभाव फरक–फरक थिए। प्राचीन र मध्यकालीन सेनाहरूमा मदिराको प्रयोग सामान्य मानिन्थ्यो। सैनिकहरूको डर, तनाव र चिन्ता कम गर्न, चिसो मौसममा न्यानोपनको अनुभूति दिलाउन, मनोबल बढाउन तथा चोटपटक वा पीडा कम गर्न रक्सी प्रयोग गरिन्थ्यो।
युरोपेली सेनाहरूमा वाइन, बियर वा रम वितरण गर्ने चलन थियो। ब्रिटिश नौसेनामा नाविकहरूलाई दैनिक रम दिने परम्परा लामो समयसम्म रह्यो। ब्रिटिश रोयल नेभीमा यसलाई ‘रम रेशन’ भनिन्थ्यो। नेपाल तथा हिमाली क्षेत्रमा जाँड, छ्याङ, रक्सी वा तोम्बा जस्ता स्थानीय पेय पदार्थहरू कठोर श्रम वा चिसो मौसममा प्रयोग हुने गरेका छन्। त्यसबेला उपलब्ध साधन र ज्ञानको सीमाभित्र रहेर सैनिकहरूले शारीरिक तथा मानसिक चुनौती सामना गर्न यस्ता उपाय अपनाएका थिए। चीनमा जिन्सेङलाई सहनशक्ति र पुनःस्थापनासँग जोडिन्थ्यो। एन्डिज पर्वतीय क्षेत्रमा कोका पात चपाउने चलन थियो, जसले थकान कम महसुस गराउन मद्दत गर्थ्यो। मध्य एसिया र हिमाली क्षेत्रमा विभिन्न जडीबुटीजन्य चिया र टनिकहरू प्रयोग गरिन्थे। नेपालमा पनि जटामसी, यार्सागुम्बा, पाँचऔंले, सतुवा लगायतका केही जडीबुटीहरूलाई शक्ति र सहनशीलतासँग जोडेर हेर्ने परम्परा छ, यद्यपि सबै दाबीहरू आधुनिक वैज्ञानिक अनुसन्धानबाट समान रूपमा पुष्टि भएका भने छैनन्।
आधुनिक सैन्य अनुसन्धानले पनि भन्छ – क्याफिनले केही घण्टा प्रतिक्रिया गति बढाउन सक्छ, तर यसले निद्रा, पोषण र सहनशीलताको विकल्प दिँदैन। कलेजका विद्यार्थी, लोकसेवा तयारी गर्ने युवादेखि जिम जाने, खेलकुदमा सक्रिय रहने र लामो दूरीका सवारी चालकसम्म इनर्जी ड्रिंक्सका प्रमुख उपभोक्ता बनेका छन्। रातिसम्म पढ्ने विद्यार्थीहरूले जागा रहन यसको प्रयोग गर्छन् भने धेरै युवाले खेलकुद र फिटनेसका लागि पनि यसलाई उपयोगी ठान्छन्। त्यस्तै, बस, ट्रक तथा माइक्रो चालकहरू थकान कम गर्न यसको सहारा लिन्छन्। निर्माण, सुरक्षा, होटल तथा अन्य रात्रीकालीन काममा संलग्न श्रमिकहरूमा पनि यसको प्रयोग बढ्दो छ। ट्रेकिङ र पर्वतारोहणमा जाने केही साहसिक पर्यटकहरूले समेत इनर्जी ड्रिंक्स प्रयोग गर्छन्, यद्यपि अनुभवी शेर्पा, गाइड र पर्वतीय समुदायले आज पनि तातो चिया, सूप, सात्तु र घ्यूयुक्त परम्परागत पेयलाई बढी भरपर्दो ऊर्जा स्रोत मान्ने गर्छन्।
आज शहरदेखि गाउँसम्म यसको पहुँच विस्तार भएको छ। पसल, क्यान्टिन, जिम, खेलमैदान र सुपरमार्केटमा सजिलै पाइन्छ। धेरैका लागि यो आधुनिक जीवनशैलीको हिस्सा जस्तै बनिसकेको छ। तर एउटा महत्वपूर्ण प्रश्न भने अझै बाँकी छ–के इनर्जी ड्रिंक्सले साँच्चै ऊर्जा दिन्छ वा केवल केही समयका लागि शरीरलाई सक्रिय महसुस गराउँछ? यसको उत्तर बुझ्न इनर्जी ड्रिंक्सको इतिहास, यसको प्रयोगको उद्देश्य, यसमा प्रयोग हुने तत्वहरू र यससँग जोडिएको अर्थतन्त्रलाई बुझ्न आवश्यक छ। आधुनिक इनर्जी ड्रिंक्सको कथा दोस्रो विश्वयुद्धपछिको जापानबाट सुरु हुन्छ। सन् १९६२ मा टाइशो फार्मास्युटिकलले ‘लिपोभिटान डी’ बजारमा ल्यायो, जुन लामो सिफ्टमा काम गर्ने कारखाना मजदुर र ट्रक चालकका लागि बनाइएको थियो। त्यसमा क्याफिन, टाउरिन र बी-भिटामिनको मिश्रण थियो। पछि थाइल्याण्डमा ‘क्राटिङ डाएङ’ लोकप्रिय भयो।
एसिया-प्यासिफिक क्षेत्रमा इनर्जी ड्रिंक्स बजार ठूलो हुँदैछ। अनुमान अनुसार सन् २०२६ मा २२.४८ अर्ब अमेरिकी डलरको रहेको बजार सन् २०३१ सम्म ३४.८९ अर्ब डलर पुग्ने र वार्षिक ८.७१% ले बढ्ने प्रक्षेपण छ। नेपाल पनि यही लहरबाट अछुतो छैन। धेरैजसो इनर्जी ड्रिंक्समा करिब ८० देखि २०० मिलिग्राम क्याफिन, चिनी वा स्वीटनर, टाउरिन र भिटामिन बी३, बी६ र बी१२ हुन्छन्। यी तत्वहरूले शरीरलाई केही समयका लागि सक्रिय बनाउँछन् र थकान कम भएको महसुस गराउँछन्। विश्व स्वास्थ्य निकायका अनुसार स्वस्थ वयस्कले दिनमा करिब ४०० मिलिग्रामसम्म क्याफिन सुरक्षित रूपमा लिन सक्छन्। अर्थात् त्यही दिन चिया वा कफी नलिएको अवस्थामा अर्को क्यान धेरैका लागि सीमाभित्र पर्न सक्छ।
गर्भवती महिला, उच्च रक्तचाप भएका व्यक्ति, मुटुरोगी तथा निद्रासम्बन्धी समस्या भएकाहरूले चिकित्सकको सल्लाहअनुसार मात्र इनर्जी ड्रिंक्स प्रयोग गर्नु उपयुक्त हुन्छ। विद्यार्थीहरूले परीक्षाअघि तीन रात नसुतेर क्यानको भर पर्छन्, तर अनुसन्धानले देखाउँछ – निद्रा अभावमा स्मरणशक्ति र निर्णय क्षमता घट्छ, क्याफिनले त्यो क्षति पूरा गर्दैन। सही समय, सही मात्रा र आवश्यकताअनुसार प्रयोग गर्दा इनर्जी ड्रिंक्सले व्यस्त जीवनशैलीमा अस्थायी रूपमा सतर्कता र सक्रियता कायम राख्न सहयोग पुर्याउन सक्छ। नेपालमा इनर्जी ड्रिंक्सको सबैभन्दा ठूलो शक्ति स्वाद होइन, इमेज हो। विज्ञापनले भन्छ – पिउनेबित्तिकै तिमी छिटो, साहसी र आधुनिक हुन्छौ। सामाजिक सञ्जालमा क्यान समातेको फोटो, गेमिङ क्याफेमा रातभर बसेको रिल, बाइक राइडको भिडियो – सबैमा इनर्जी ड्रिंक्स देखिन्छ।
यस सन्दर्भमा स्वदेशी ब्रान्ड ‘एक्स्ट्रीम इनर्जी ड्रिंक’ को उदय महत्त्वपूर्ण छ। एग्रो थाई फुड्सले नेपालमै उत्पादन गर्ने यो पेयले पछिल्ला वर्षहरूमा आक्रामक बजार विस्तार गरेको छ। काठमाडौँका चिया पसलदेखि राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सीसम्म, सामाजिक सञ्जालका अभियानदेखि दरबारमार्ग स्ट्रिट फेस्टिभलसम्म यसको उपस्थिति देखिन्छ। बजारमा ३३० मिलिलिटरको क्यान करिब १३० रुपैयाँमा उपलब्ध छ। यो केवल पेय मात्र होइन, ‘नेपालमै उत्पादन गर्न सकिन्छ’ भन्ने आत्मविश्वासको प्रतीक बन्ने प्रयास पनि हो। इनर्जी ड्रिंक्सको चर्चा गर्दा नेपालको अर्को यथार्थ बिर्सन हुँदैन – रोजगारी। ट्रेडिङ इकोनोमिक्सका अनुसार नेपालको बेरोजगारी दर सन् २०२४ मा १०.७० प्रतिशत पुग्यो, जुन सन् १९९१ देखि २०२४ सम्मको औसत १०.७१ प्रतिशतकै हाराहारी हो र सन् २०२६ मा करिब १० प्रतिशत रहने प्रक्षेपण छ। युवाको अवस्था झनै कठिन छ। विश्व बैंकको तथ्यांक अनुसार सन् २०२४ मा १५–२४ वर्ष उमेर समूहको युवा बेरोजगारी दर २०.८२ प्रतिशत थियो। प्रत्येक पाँचमध्ये एक युवा कामविहीन हुनु भनेको विदेश पलायन, निराशा र अनौपचारिक श्रम बढ्नु हो।
यही पृष्ठभूमिमा ‘एग्रो’ जस्ता स्वदेशी उद्योगको भूमिका महत्वपूर्ण छ। एउटा क्यान उत्पादन हुनु भनेको केवल कारखानाको मेसिन चल्नु होइन। यसमा कच्चा पदार्थ ढुवानी, प्याकेजिङ, गुणस्तर परीक्षण, वितरण, खुद्रा बिक्री, मार्केटिङ र इभेन्ट व्यवस्थापन जोडिन्छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं परिवारको आम्दानी यसै चक्रमा चल्छ। जब पैसा नेपालभित्रै घुम्छ, कर तिर्छ र रोजगारी सिर्जना हुन्छ, तब ‘एक्सट्रिम’ केवल स्वास्थ्यको बहस बन्दैन, आर्थिक आत्मनिर्भरतामा सानो इँटा पनि थप्छ। यस्ता उद्योगको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन। यसले मानसिक रूपमा पनि समाजमा सकारात्मक सन्देश दिन्छ–’नेपालमै केही गर्न सकिन्छ।’ जब युवाले आफ्नै देशमा बनेको उत्पादन देख्छन्, उनीहरूमा आत्मविश्वास बढ्छ र विदेशिनै पर्छ भन्ने सोच केही हदसम्म कम हुन सक्छ।
इनर्जी ड्रिंक्समा हुने क्याफिनको मात्रा ब्रान्डअनुसार फरक हुन्छ र सबै इनर्जी ड्रिंक्समा कफीभन्दा बढी क्याफिन हुन्छ भन्ने आवश्यक छैन। टाउरिन र बी–भिटामिनहरू शरीरका लागि आवश्यक तत्व हुन्, जसले सामान्य शारीरिक तथा मानसिक कार्यसम्पादनमा सहयोग पुर्याउँछन्। यद्यपि, इनर्जी ड्रिंक्सलाई सन्तुलित रूपमा प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। दिनमा सीमित मात्रामा सेवन गर्ने, पर्याप्त पानी पिउने, पौष्टिक खाना खाने र पर्याप्त निद्रालाई प्राथमिकता दिने बानीले यसको उपयोगलाई अझ प्रभावकारी बनाउन सक्छ। उद्योगको पनि महत्वपूर्ण जिम्मेवारी हुन्छ। उत्पादनमा रहेका तत्वहरूको मात्रा स्पष्ट रूपमा उल्लेख गर्ने, जिम्मेवार विज्ञापन गर्ने र उपभोक्तालाई सही जानकारी दिने कामले विश्वास बढाउँछ। चिनी कम भएका वा विशेष आवश्यकता अनुसारका विकल्पहरू उपलब्ध गराउनु पनि सकारात्मक कदम हुन सक्छ।
सरकार, उद्योग र उपभोक्ता सबैको सहकार्यले सुरक्षित र जिम्मेवार उपभोगको वातावरण बनाउन मद्दत पुर्याउँछ। यस सन्दर्भमा एक्सट्रिम इनर्जी ड्रिंक जस्ता स्वदेशी ब्रान्डहरूको योगदान उल्लेखनीय छ– नेपालमै उत्पादन, नेपालमै रोजगारी। स्वदेशी उत्पादनप्रति विश्वास बढाउनु भनेको देशको आर्थिक आधारलाई बलियो बनाउनु पनि हो। अझ बढी यसले ऊर्जा बेचेको होइन, ‘ऊर्जा बुझाउने’ संस्कृति बसालेको छ। आजको व्यस्त र प्रतिस्पर्धी जीवनमा मानिसहरूलाई कहिलेकाहीँ अतिरिक्त सक्रियताको आवश्यकता पर्न सक्छ। जापानको कारखानाबाट सुरु भएको यो पेय आज नेपालको हिमाली बाटोसम्म आइपुगेको छ र युवाको हातमा ब्रान्ड बनेको छ। कतिपय मानिसहरू इनर्जी ड्रिंक्सलाई शत्रु ठान्छन्, यो ठान्नु हतारो हो। यसलाई सहायक साधनका रूपमा, सीमित मात्रामा र सही समयमा प्रयोग गर्ने हो भने यसले अस्थायी साथ दिन सक्छ। तर दीर्घकालीन ऊर्जा, सफलता र स्वास्थ्यको आधार भने सधैं सन्तुलित आहार, पर्याप्त आराम, नियमित व्यायाम र स्वस्थ जीवनशैली नै हो।