२८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले सांसद खरिद–बिक्रीको राजनीति अझै नछाडेको आरोप लगाएका छन्। बागमती प्रदेश सरकार गठनका क्रममा एमालेले राप्रपाका सांसदलाई ‘किनेको’ दाबी गर्दै उनले सांसद खरिद–बिक्रीको विकृति अझै कायम रहेको बताएका हुन्।
आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले ठूला राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको प्रवृत्ति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए।
उनले एमालेमाथि आरोप लगाउँदै आफ्नै पार्टीका सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाए। आफ्नै सांसदहरू व्यक्तिगत स्वार्थका लागि ‘बिक्न तयार’ भएपछि अरूलाई मात्रै दोष दिन नसकिने उनको भनाइ थियो।
‘एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन सकेन र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्याएको देखिन्छ,’ लिङ्देनले भने, ‘तर आफ्नै थैलो हामीले राम्रोसँग बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’
पार्टीको टिकटबाट चुनाव जितेका सांसद व्यक्तिगत नभई पार्टीका प्रतिनिधि भएको स्पष्ट पार्दै लिङ्देनले पार्टीको निर्णयविपरीत अर्को दलसँग मिल्ने वा जाने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।
‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ उनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’
सांसद खरिद–बिक्री र व्यक्तिगत स्वार्थका आधारमा दल परिवर्तन गर्ने प्रवृत्तिले लोकतन्त्रप्रतिको जनविश्वास कमजोर बनाउने भन्दै लिङ्देनले यस्तो राजनीतिक विकृति अन्त्य गर्न पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।