अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियाको जाँच बलियो नभएका देशमा कडाइ गरेको हो, यसमा पुनर्विचार नभएसम्म लामो समय अमेरिका जान चाहने ती देशका मानिसहरू प्रभावित हुनेछन् ।
संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका आवेदकको आप्रवासी भिसाको प्रशोधन नै निलम्बन गर्ने बताएको छ । जनवरी २१ बाट लागू हुने यस निलम्बनबाट ल्याटिन अमेरिका र क्यारिबियन, बाल्कन र दक्षिण एसिया, अफ्रिका र मध्यपूर्वका धेरै देशका आवेदक प्रभावित हुनेछन् ।
सूचीमा दक्षिण एसियाका नेपालसहित अफगानिस्तान, पाकिस्तान, बंगलादेश र भुटान समावेश छन् । त्यस्तै एसियाका अरबी मुलुकहरू जोर्डन, सिरिया, इराक, इरानको नाम पनि सूचीमा समावेश छन् । यीबाहेक अन्य एसियाली मुलुक दक्षिणपूर्व एसियाका देश छन्, ती म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडिया हुन् ।
विदेश मन्त्रालयले आप्रवासी भिसा प्रक्रियाको पुनरावलोकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहनेछ । यो परिवर्तनले स्थायी रूपमा अमेरिका जान चाहने मानिसलाई मात्र असर गर्छ । आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोवास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो । यो आगन्तुक वा छोटो अवधिको भिसा धारकमा लागू हुँदैन, जसमा छोटो समयका लागि दिइने विद्यार्थी, व्यावसायिक, भिजिट भिसालगायत भिसा पर्छन् ।
अमेरिका, क्यानडा र मेक्सिकोले मिलेर फिफा विश्वकप आयोजना गर्नुभन्दा पाँच महिनाअघि आएको यस कदमले खेलमा सहभागी हुन चाहने धेरै एसियाली तथा अफ्रिकीलाई रोक्नेछ ।
अमेरिकी प्रशासनको घोषणामा के छ ?
अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका अमेरिकी वाणिज्य दूतावासलाई उल्लिखित देशमा आप्रवासी भिसा आवेदनमा कुनै प्रक्रिया नचलाउन निर्देशन दिएको बताएको छ ।
पछिल्लो कदम गत नोभेम्बरमा जारी एक बृहत्तर आदेशअनुरूप छ, जसले अमेरिकामा आर्थिक बोझ बन्न सक्ने सम्भावित आप्रवासीमाथि अनुगमन कठोर बनाएको छ ।
‘ट्रम्प प्रशासनले अमेरिकी जनताको करबाट चल्ने अमेरिकाको आप्रवासन प्रणालीको दुरुपयोगको अन्त्य गर्दै छ,’ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विदेश मन्त्रालयले कल्याणकारी र सार्वजनिक सुरक्षा सुविधा लिने विदेशी नागरिकको प्रवेश रोक्नेसम्बन्धी आप्रवासन प्रशोधन प्रक्रियाको पुनर्मूल्यांकन नगरेसम्म यी ७५ देशबाट आप्रवासी भिसा प्रशोधन रोकिनेछ ।’
विदेश मन्त्रालयका अनुसार प्रभावित देशका नागरिकले अझै पनि आप्रवासी भिसा आवेदन पेस गर्न सक्छन् । तर, निलम्बन लागू भइन्जेल ‘आप्रवासी भिसा’ भने न त स्वीकृत हुनेछ, न जारी नै गरिनेछ । निलम्बन गैरआप्रवासी, अस्थायी, पर्यटक वा व्यावसायिक भिसामा लागू हुनेछैन ।
कुन–कुन देश प्रभावित हुन्छन् ?
अमेरिकाको पछिल्लो निर्णयबाट प्रभावित हुने ७५ देशको सूची निम्न छ – अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ एन्ड बरबुडा, आर्मेनिया, अजरबैजान, बहमानस, बंगलादेश, बरबाडोस, बेलारुस, बेलिज, भुटान, बोन्सिया एन्ड हर्जगोभिना, ब्राजिल, कम्बोडिया, क्यामरुन, केप भर्ड, कोलम्बिया, आइभरी कोस्ट, क्युबा, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाटा, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, कजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस्, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, म्यानमार, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, रिपब्लिक अफ द कंगो, रुस, रुवान्डा, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुइस, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्स, सेनेगल, सियरा लियोन, सोमालिया, साउथ सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्यान्ड, टोगो, ट्युनिसिया, युगान्डा, युरुग्वे, उज्बेकिस्तान र यमन ।
ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि उनको प्रशासनले आप्रवासन नियम कडा बनाउँदै लगेको छ । विशेषगरी भिसा प्रक्रियाको जाँच पर्याप्त बलियो नभएका देश कडाइमा परेका छन् । ट्रम्पले त्यस्तो देशका नागरिक सम्भावित राष्ट्रिय सुरक्षा जोखिम हुन सक्ने बताउँदै आएका छन् । पछिल्लो कडाइको असर देखिन थालिसकेको छ । जस्तो– जनवरीमा ट्रम्पले सत्ता सम्हालेदेखि डिसेम्बरको सुरुसम्ममा ट्रम्पको गृह मामिला हेर्ने होमल्यान्ड सेकुरिटी मन्त्रालयले ६ लाख पाँच हजारभन्दा बढी मानिसलाई देश निकाला गरेको बताएको छ ।
यही अवधिमा झन्डै १९ लाख मानिसले आफैँ अमेरिका छाडेका छन् । यसका कारण सन् २०२५ मा अमेरिकामा भित्रिनेभन्दा बढी आप्रवासीले देश छाडेको ब्रुकिङ्स इन्स्टिच्युसनको विश्लेषणले देखाउँछ, जुन पछिल्लो ५० वर्षको पहिलो यस्तो घटना हो ।
–अलजजिराबाट