बिहारमा हालै सम्पन्न विधन सभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन ‘नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए)’ले प्रक्षेपण गरेभन्दा ठुलो जित हासिल गर्यो । एक वर्षअघि मात्र लोकसभा चुनावमा राज्यमा पाएका उत्साहहीन मतलाई अहिले आएर बलियो जितमा परिणत गर्नु उल्लेखनीय हो । यस्तो जित पार्टीयन्त्रले मात्र दिलाउन सम्भव हुँदैन, त्यसमा चुनावी निपुणता चाहिन्छ । र, यसका लागि भाजपा अझ सटीक रूपमा भन्नुपर्दा नरेन्द्र मोदी र अमित साहलाई जस दिँदा केही फरक पर्दैन ।
महाराष्ट्र, हरियाणा, दिल्ली र अहिले बिहार । एनडिएले यी हरेक राज्यमा यति सजिलै विजय हासिल गर्यो कि विपक्षी त्यहाँ आफ्नो उपस्थिति प्रमाणित गर्नसमेत संघर्ष गरिरहेको छ । केही राज्यका विधान सभामा त अहिले विपक्षीको उपस्थिति नाम मात्रमा सीमित भएको छ, अर्थात् तिनले कुनै प्रभाव राख्ने मत गुमाएका छन् । भाजपाको रणनीति सटीक र सघन भएर हो कि अहिले विपक्षीहरूले आलोचना पनि आफैँभित्र केन्द्रित गर्न थालेको देखिन्छ ।
बिहार विधान सभा चुनावपछि केहीले त प्रश्न नै गरिरहेका छन्– ‘आखिर विपक्षी दलले किन बिहारमा चुनाव बहिष्कार गरेनन् ? न तयारी, न रणनीति, कुनै भाष्यविना चुनावी आँधीबेहरीमा हामफाल्नुको के अर्थ थियो ?’
विपक्षी दलमा गहिरो संकट
माथिको टिप्पणी खासमा तितो र स्तब्ध पार्ने खाल छ । तर, यस्ता विचार अहिले धेरैमाझ फैलिइरहेका छन् । अब आमजनताले यो प्रश्न गर्न छाडेका छन् कि ‘भाजपाले यति ठुलो विजय कसरी हासिल गरिरहेको छ ?’ बरु, अब प्रश्न विपक्षीतर्फ मोडिन थालेको छ– ‘आखिर उनीहरूले किन बारम्बार यति नराम्ररी हार भोगिरहेका छन् ?’ केही दशकअघि भाजपाको रणनीतिमाथि यस्तै प्रश्न उठ्थ्यो, अहिले त्यही कुरा भारतका वर्तमान विपक्षीको मूर्खताबारे उठिरहेका छन्– ‘आखिर किन आफ्नो बारम्बार हारबारे पूर्वानुमान गर्न सकेनन् ?’
यो त्यो विन्दु हो, जहाँ राष्ट्रिय मनोभाव डगमगाउन थालेको छ । यो केवल डर मात्र होइन, न त यो पूर्ण हारकै भावना हो । अहिलेको अवस्था त्योभन्दा खतरनाक छ– टस गरिनुअघि नै खेल सकिएजस्तो महसुस हुन थालेको छ । यदि संस्थाहरू असफल भए भने नागरिक पनि लर्खराउनेछन् र त्यसपछि ती पनि ढल्नेछन् । रिस त केही घण्टा उठ्ला र साँझको खाना खाने समयमा गायब हुनेछ । किनकि चाहे कसैले प्रशंसा गरून् वा घृणा, भाजपाको चुनावी विजय सजिलो बन्दै गएको छ ।
दुर्भाग्यवश, विपक्षीहरूले अहिले मिहिनेत नै गर्न छाडिदिएको छ । प्रश्न केवल संख्याको मात्र होइन, यो विचारधाराबारे पनि केन्द्रित छ । यो सत्ताको ‘भौतिकशास्त्र’ हो, जसलाई भाजपाले गुह्यसम्म बुझेको देखिन्छ । भारतमा सत्तारूढ भाजपा चुनाव लड्दैन, ऊ चुनावको ‘तयारी’ गर्छ, सिजनका लागि होइन, युगहरूका लागि चुनावी तयारी गरिन्छ । र यही प्रश्नले यो समयलाई थप अन्धकार बनाउँछ । राजनीतिमा विजय एक मात्र भाषा बन्यो र विपक्षीले बोल्नै बिर्सिए भने लोकतन्त्रको के होला ?
विगत ११ वर्षदेखि विपक्षीहरूले यति पनि बुझ्न सकेका छैनन् कि नरेन्द्र मोदी र अमित साह चुनावलाई प्रेम गर्छन् । मोदीलाई चुनावले उनका छवि, नारा र अजेयता बढाउने भएकाले उनी यसलाई मन पराउँछन् । अमित साह चुनावलाई फरक तरिकाले मन पराउँछन् संयमी रूपमा ठन्डा दिमागले । उनका लागि चुनाव प्रदर्शन नभएर संरचना हुन् । यदि मोदी मिथक हुन् भने साह गणित हुन्, जो स्पष्ट र खतरनाक रूपमा सटीक हुन्छ । अर्कोतर्फ विपक्षीहरूले चुनावहरू कुनै सिजनल उत्सव ठानेझैँ देखिन्छ, जुन आउने–जाने भइरहन्छ, तर त्यो अस्थायी हुन्छ । सरल भाषामा भन्नुपर्दा भाजपाले २४सै घण्टा–सातै दिनको राजनीतिक संयन्त्र चलाइरहँदा विपक्षी अस्थायी पसल चलाइरहेका छन् ।
बिहारमै हेरौँ– सन् २०२४ को लोकसभा चुनावमा तेजस्वी यादवले धेरै हल्ला गरे । उनी चुनावी र्यालीका क्रममा कैयौँ जिल्ला पुगे । राज्यको शक्तिशाली यादव–मुस्लिम आधारलाई थप बलियो बनाउने प्रयास गरे । र, आफूलाई एक युवा, गतिशील विपक्षीको अनुहारका रूपमा प्रस्तुत गरे । तर, जब चुनावी परिणाम आयो र मत तथा सिटबिचको अनुपात घटेको देखिनासाथ उनको सबै उत्साह हराएको देखियो ।
लोकसभा चुनावपछिका महिनामा तेजस्वीको राजनीतिक सक्रियता घट्यो । उनको सार्वजनिक उपस्थिति कम हुन थाल्यो । त्यसपछि तेजस्वी राजनीतिक परिचालनमा भन्दा पारिवारिक कलह, दाइसँगको विवादमा रुमलिए, जसले गर्दा उनी न त युवाहरूको नेता बन्न सके, न त नीतीश कुमारको विकल्प । सार्वजनिक रूपमा उनको बढ्दो अनुपस्थितिले आरजेडीको संरचनालाई कमजोर बनायो । गैरयादव ओबिसी समूहसम्मको पहुँच कट्दै गयो । परिणामस्वरूप विपक्षीको राजनीतिक आधार खाली बन्दै गयो ।
लोकसभा चुनावपछि महिनौँ हराएका तेजस्वी सन् २०२५ को विधान सभा चुनावको ठिकअघि अचानक फेरि देखा परे, कुनै नाटकको अंशजस्तै । यसपटक उनले आफूलाई विपक्षी गठबन्धनको मुख्यमन्त्रीको अनुहार घोषणा गरेका थिए । उनको ¥यालीहरू फेरि बढे, नयाँ वाचाहरू आउन थाले । तर, उनको यो जागरण धेरै ढिलो गरी आएको थियो । जति क्षति हुनुपर्ने पहिले नै भइसकेको थियो । भाजपाको नेतृत्वमा रहेको एनडिएले मैदानमा आफ्ना लागि बलियो स्थान बनाइसकेको थियो ।
यहीँनिर विपक्षीको सबैभन्दा ठुलो संकटको चर्चा गर्न आवश्यक छ– खासमा उनीहरू भाजपाविरुद्ध कम, आफू–आफूमा बढी लडिरहेका छन् । मोदीको भव्य राजनीतिक खेलको जवाफ दिनुको सट्टा उनीहरू आफैँभित्र तमासा सिर्जना गरेर बस्छन् । उनीहरूको पत्रकार सम्मेलनमा पुगेकाले देख्छन्– ती कसरी आन्तरिक झगडाको डायरी बन्छन् भनेर । कसरी अहंकार विचारधाराभन्दा बढी टड्कारो हुन्छ ? उनीहरू सरकार र सत्तारूढ दलको कम र एक–अर्काको बढी विरोध गर्छन् । शक्ति र एकताको वास्तविक आवश्यकता परेको समयमा देखावटी प्रदर्शन मात्र गर्छन् ।
कल्पनाको कमी
यही कारण भाजपा निरन्तर सत्तामा छ, र विपक्ष झन्–झन् विखण्डित हुँदै छन् । विपक्षीहरूसँग नेताहरू धेरै छन्, तर उनीहरूसँग नेतृत्व छैन । सिंहासनका लागि धेरै दाबेदार छन्, तर पत्रकार सम्मेलनभन्दा पर सोच्न सक्ने कोही पनि देखिँदैनन् । अन्तमा, तिनीहरू सरकारको विपक्षभन्दा पनि विपक्षभित्रकै विपक्ष बन्छन् । थकित दर्शकहरू नाटक समाप्त हुनुभन्दा पहिले नै घर फर्किसकेका हुन्छन् ।
त्यसैले अहिलेको समय भाजपाले के गर्यो भन्नेबारे मात्र नभई भारतका विपक्षले के हुन दिए भन्नेबारे हो । सन् २०१४ ले मोदीलाई सत्तामा ल्यायो । सन् २०२४ ले एक क्षणका लागि विपक्षमा आशा पनि जगायो । तर, डेढ वर्षभित्रै त्यो भावना कमजोर बनेको छ । सायद यसैकारण यसपटक भाजपाको जित ‘अद्भुत’ देखिन्छ । किनभने कसैले पनि उसको बाटोमा उभिने कोसिससमेत गरेनन् । त्यसैले पछिल्लो समय भारतीय राजनीति कुनै टक्करको कथा रहेन । यहाँ न कुनै अन्य कल्पना बाँकी छैन, न कुनै अन्य सपना नै ।
त्यसैले अब भाजपा कसरी सत्तामा टिकिरहेको भन्नेबारे लेख्न रुचि नै हराएको छ । यो कथा अब पहिले नै अनुमान गर्न सकिने कथाजस्तो लाग्न थालेको छ । त्यसैले अहिलेको असली कथा विपक्षी किन हार्दै गएको छ भन्ने हो । लोकतन्त्र तब मर्दैन, जब एक पक्ष धेरै शक्तिशाली हुन्छ, बरु तब मर्छ अब अर्को पक्षले प्रयास नै गर्न छोड्छ ।
अहिले भारत अधिनायकवादभन्दा कल्पनाको अभावबाट बढी पीडित छ । खासमा भारतमा सरकारले विपक्षीलाई चुप लगाएको होइन, विपक्षी आफैँले आफ्नो आवाज परित्याग गरिदिएको हो । र आजको समय किन भाजपाले लेखिरहेको छ भने विपक्षीले खासमा लेख्नै छाडिदिएकाले भाजपाले लेखिरहेको छ ।
(आधुनिक सोचकी पत्रकार श्रुति राजनीति, अन्तर्राष्ट्रिय मामिला र समसामयिक विषयमा लेख्छिन् ।
हामीले यो लेख द प्रिन्टबाट साभार गरेका हौँ । सम्पादक )