ने.क.पा. (मसाल)को वक्तव्य जस्ताको त्यस्तै;
ने.क.पा. (मसाल)को छैठौँ राष्ट्रिय भेला हालै सम्पन्न भयो । का. सहजको अध्यक्षतामा सम्पन्न त्यो भेलाको उद्घाटन महामन्त्री मोहनविक्रम सिंहले गर्नुभएको थियो । त्यो भेलाको सञ्चालन का. अग्निले र स्वागत भाषण पार्टीका प्रवक्ता का. राम प्रकाश पुरीले गर्नुभएको थियो ।
भेलाको उद्घाटन समारोहमा मजदुर मोर्चाबाट का. प्रकाश, किसान मोर्चाबाट का. विक्रम, युवक मोर्चाबाट का. सङ्गीत कुमार, महिला मोर्चाबाट का. सरला, बैधानिक मोर्चाबाट का. कमला, विद्यार्थी मोर्चाबाट का. संजय, दलित मोर्चाबाट का. सागर, जनजाति मोर्चाबाट का. प्रविण, मूल प्रवाह अखिलभारत नेपाली एकता समाजबाट का. विशाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट का. प्रभात, शिक्षक मोर्चाबाट का. पुञ्ज, बुद्धिजीवी मोर्चाबाट का. दिवस, कानून व्यवसायीबाट का. प्रज्जवल, सांस्कृतिक मोर्चाबाट का. अनल, तराई मधेश जनवादी मोर्चाबाट का. कैलाशले शुभकामना दिनुभएको थियो ।
उद्घाटन कार्यक्रमपछि बन्दसत्र प्रारम्भ भयो । का. काशी, का. रक्षा र का. विशालको अध्यक्ष मण्डलमा बन्दसत्र सुरु भएको थियो । बन्दसत्रको सञ्चालन का. कमान सिंहले गर्नुभएको थियो । राष्ट्रिय भेलामा १७५ प्रतिनिधिहरूको उपस्थिति थियो ।
त्यो राष्ट्रिय भेला खालि दुई विषयहरूबारे मात्र विचार गर्नलाई आयोजित गरिएको थियो ः प्रथम, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समीक्षा । द्वितीय, पार्टीभित्रको अनुशासनको समस्याको मूल्याङ्कन । महामन्त्री मोहनविक्रम सिंहले प्रस्तुत गरेको प्रस्तावमाथि पहिले पी.वी. र केन्द्रीय समितिमा विस्तृत छलफल भएर पारित भएको थियो रपछि त्यो राष्ट्रिय भेलामा पनि प्रस्तुत भएको थियो । भेलाका प्रतिनिधिहरूलाई ९ ग्रूपमा बाँडेर राजनीतिक प्रस्तावमाथि ग्रूप छलफल गरिएको थियो । सबै टोलीहरूले आफ्ना आफ्ना ग्रूपमा भएको छलफलको विवरण राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए । त्यसपछि त्यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो र जनवादी तरिकाले त्यो पारित भएको थियो ।
त्यो राजनीतिक प्रस्तावमा गत चुनाव र पार्टीभित्रका अनुशासनसम्बन्धी कमजोरीहरूबारे खुला प्रकारले छलफल गरिएको थियो । माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीले आफ्ना कमजोरीहरूलाई लुकाउने होइन, तिनीहरूलाई खुला रूपले प्रस्तुत गर्ने वा आत्मालोचना र आलोचना गर्नुपर्ने कुरामा जोड दिन्छ । त्यसैलाई बोल्सेभिक स्प्रिट भनिन्छ । भेलाद्वारा पारित प्रस्तावमा त्यही प्रकारको स्प्रिटद्वारा चुनाव वा पार्टी अनुशासनसम्बन्धी कमजोरीहरूमाथि प्रकाश हालिएको छ । त्यस प्रकारका कमजोरीहरूलाई स्वीकार गर्नुका पछाडि पुनः तिनीहरूलाई सुधार्ने दृढ इच्छा र नैतिक बलले नै काम गरेको हुन्छ ।
कम्युनिष्ट पार्टीले राजनीतिक शक्तिहरूलाई वर्गीय रूपमा मित्र र दुश्मन शक्तिहरूका रूपमा बाँड्दछ । त्यस अनुसार सामन्त, दलाल र नोकरशाही पूँजीपतिहरूलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरू नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिहरू हुन् । राष्ट्रिय पूँजीपति वर्ग, धनी किसान र मध्यम किसानहरू वा निम्नपूँजीपति वर्गहरूलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरू नयाँ जनवादी क्रान्तिका मित्र शक्तिहरू हुन्, यद्यपि उनीहरूमा ढुलमुल, अवसरवादी र सम्झौतापरस्त प्रवत्ति पनि हुन्छ । एमाले र माओवादीहरूले निम्नपूँजीपति वर्गको प्रतिनिधित्व गर्दछन् । त्यसकारण तिनीहरू नयाँ जनवादी क्रान्तिका मित्र शक्तिहरू हुन् ।
देशको कुनै खास बेलाको राजनीतिक स्थिति र आवश्यकतानुसार मित्र वा दुश्मन शक्तिहरूसित कार्यगत एकता, तालमेल, काम वा आन्दोलनमा कोअर्डिनेशन र आवश्यकतानुसार सङ्घर्षको नीति निश्चित गरिन्छ । गत चुनावमा कायम भएका दुईवटा गठबन्धन मध्ये ने.का.को गठबन्धनबाट गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा गम्भीर खतरा भएको र उक्त प्रश्नहरूमा वामपक्षधर गठबन्धनले अपेक्षाकृत प्रगतिशील र सही नीति लिएकाले हाम्रो पार्टीले ने.का. पक्षको विरोध गरेर वामपक्षीय गठबन्धनलाई समर्थन गर्ने वा वामसित तालमेल गर्ने नीति लिएको थियो र त्यो नीतिलाई राष्ट्रिय भेलाले सही ठहराएको छ । पार्टीको त्यो नीति अनुसार कतिपय निर्वाचन क्षेत्रहरूमा पारस्परिक सम्झौताका आधारमा उनीहरूसित चुनावी तालमेल गरिएको थियो, जस्तो कि बाग्लुङ र प्यूठानमा ।
कतिपय स्थानहरूमा परस्परमा भएको समझदारी अनुसार उनीहरूका उम्मेदवारहरूको समर्थनमा आफ्ना उम्मेदारहरूलाई फिर्ता लिने काम पनि गरिएको थियो, जस्तै कि अर्घाखाँची, गुल्मी र डडेलधुरामा । वामपक्षीय गठबन्धनकातर्फबाट कैलाली, दाङ, रूपन्देही, पर्सा र काठमाडौँ समेतका करिब आधा दर्जन उम्मेदवारहरूले उनीहरूको समर्थनमा हाम्रा उम्मेदवारहरू फिर्ता गर्नका लागि सम्पर्क गरेका थिए । तर उनीहरूसित वा नेतृत्व तहमा कुनै प्रकारको समझदारी हुन नसकेको हुनाले अन्यत्र हामीले आफ्ना उम्मेदवारहरू फिर्ता लिने कार्य गरेका थिएनौँ ।
पहिले हाम्रो पार्टीले बाग्लुङमा प्रतिनिधिसभा र प्रदेशसभाका १÷१ तथा प्यूठानका प्रतिनिधिसभा र प्रदेशसभाका १÷१ सीट नछाड्ने “बटम लाइन” निश्चित गरेको थियो । तर वामपक्षीय गठबन्धनसित त्यस अनुसार तालमेल गर्न सहमति हुन नसकेपछि त्यो बटमलाइनमा अडान लिएको भए हामीलाई प्रतिनिधिसभा वा प्रदेशसभामा एकसिट पनि प्राप्त गर्न कठिन हुन्थ्यो । त्यो अवस्थामा प्यूठानमा प्रतिनिधिसभाको एउटा सीट र बाग्लुङमा प्रदेशसभाका दुईवटा सीटहरू लिने गरी वामपक्षीय गठबन्धनसित तालमेल गर्नु परेको थियो र त्यसलाई व्यवहारले सही सावित गरेको छ ।
पार्टीले संसदीय चुनावमा भाग लिने नीति अपनाएदेखि नै आवश्यकतानुसार आफ्ना उम्मेदवारहरूलाई बदल्ने, फिर्ता लिने वा अन्य पक्षहरूसित तालमेल भएपछि अन्य उम्मेदवारहरूलाई आवश्यकतानुसार समर्थन गर्ने पार्टीले पहिलेदेखि अपनाउँदै आएको अभ्यास हो । पार्टीमा संसदीय बोर्ड, कार्यालय वा कतिपय अवस्थामा महामन्त्रीद्वारा पनि त्यस प्रकारका परिवर्तनहरू गर्ने गरिएका कैयौँ उदाहरणहरू छन् । त्यस प्रकारको पृष्ठभूमिमा अहिले अपनाइएको नीति पनि गलत थिएन भन्ने कुरा राष्ट्रिय भेलाले ठहर गरेको छ ।
चुनावका बेलामा वामपक्षीय गठबन्धनको नेतृत्व तहसित भएको समझदारी अनुसार हामीलाई राष्ट्रिय सभाको एउटा सीटमा समर्थन गर्ने हाम्रो प्रस्तावमा उनीहरू सकारात्मक भएको बताएका थिए । अर्घाखाँचीमा ता त्यसबारे लिखित सहमति नै भएको थियो । तर राष्ट्रिय सभाको चुनावमा उनीहरू त्यस प्रकारको बचनबाट विमुख भए । पहिले पनि उनीहरू आफ्ना बचनबाट विमुख भएका कैयौँ उदाहरणहरू छन्, जस्तै कि पहिले राष्ट्रियसभाको चुनावमा र कपिलवस्तुको चुनावमा हामीसित भएको सहमतिका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूलाई जिताएको वा कर्मचारीको चुनावमा परस्परमा सहमति गरेर चुनाव लडेको भए पनिपछि हामीलाई निर्वाचित एउटा सिट दिने भनेकोमा त्यो दिन अस्वीकार गरेको आदि । तर हामीले आफ्नातर्फबाट मौखिक वा लिखित रूपमा भएका सबै बचनहरूलाई पालन गर्ने गरेका छौँ वा कतिपय अवस्थामा राजनीतिक आवश्यकतामाथि ध्यान दिंदै उनीहरूका कतिपय नीति वा सरकारहरूलाई पनि समर्थन गर्ने गरेका छौँ । उनीहरूको हामीहरूसित भएका सहमतिहरूलाई भङ्ग गरेका कैयौँ उदाहरणहरू भएपनि यसपल्ट प्यूठान र बाग्लुङमा भएको तालमेलमा उनीहरूले इमान्दारितापूर्वक हाम्रा उम्मेदवारहरूलाई मत हालेका छन् ।
जेहोस्, उनीहरूको व्यवहार अविश्वसनीय प्रकारको हुने गरेको भएपनि कुनै राष्ट्रिय आवश्यकताअनुसार उनीहरूलाई समर्थन गर्ने, उनीहरूसित तालमेल गर्ने वा आवश्यक भएमा उनीहरूका विरुद्ध सङ्घर्ष गर्ने हाम्रो पहिलेदेखिको नीति यथावत नै छ र रहने पनि छ ।
भेलाले पार्टीभित्रको अनुशासनको समस्याबारे पनि गम्भीरतापूर्वक विचार गरेको छ । त्यस सिलसिलामा भेलाद्वारा पारित राजनीतिक प्रस्तावमा देशमा प्रभावशाली प्रकारको राजनीतिक भूमिका खेल्नका लागि पार्टीभित्र जनवादी केन्द्रियतामा आधारित अनुशासन र एकताले निर्णयात्मक महत्व राख्दछ । पार्टीमा अनुशासन र एकतालाई सुदृढ पार्नका लागि एकातिर, पार्टीका सदस्यहरूको सैद्धान्तिक स्तर र, अर्कातिर, आवश्यकतानुसार अनुशासनको कारवाही गर्नुपर्ने आवश्यकतामाथि पनि भेलाले जोड दिएको छ । भेलाले अहिलेसम्म अनुशासनको प्रश्नमा देखाइने उदारवादी प्रकारको दृष्टिकोणको विरोध गर्दै आवश्यकतानुसार त्यसमा कडाई गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
चुनावमा अनुशासनसम्बन्धी कैयौँ कमजोरीहरू देखा परेका छन् । काङ्ग्रेस पक्षीय गठबन्धनका ठाउँमा वामपक्षीय गठबन्धनसित तालमेल गरेको वा प्यूठान र बाग्लुङमा तालमेल गरेका कार्यहरूको पनि सार्वजनिक रूपमा नै विरोध गर्ने काम भएको छ । खास गरेर सामाजिक सञ्जालहरूमा त्यस प्रकारको अनुशासनविहिनता अत्यन्त भद्दा र विकृत रूपमा देखा पर्यो । त्यस सन्दर्भमा क्षेत्रीयतावाद वा कतिपय उम्मेदवारहरूको व्यक्तिगत टिकाटिप्पणी गर्ने र चरित्र हत्या गर्ने जस्ता कामहरू पनि भए । बुर्जुवा पार्टीहरूमा पनि आफ्नै पार्टीका उम्मेदवारहरूको कसैले विरोध गर्यो भने त्यसलाई गम्भीर प्रकारको अपराधका रूपमा लिइन्छ र त्यस प्रकारको कार्यका विरुद्ध कडा कारवाही गर्ने गरिन्छ । त्यो अवस्थामा ने.क.पा. (मसाल) जस्तो अत्यन्त अनुशासित पार्टीमा त्यस प्रकारका प्रवृत्तिहरू देखा पर्नु चिन्ताको कुरा हो । तैपनि यस सन्दर्भमा यो उल्लेखनीय छ कि पार्टीका कुनै जिम्मेवार नेता वा पार्टी सदस्यहरूले त्यस प्रकारका गैरजिम्मेवार कामहरू गरेका छैनन् । तैपनि अहिले सामाजिक सञ्जालको व्यापक प्रचारका कारणले एकाध गल्तिद्वारा त्यस प्रकारको कार्य गरिए पनि त्यसको असर व्यापक हुन्छ । त्यसले गर्दा त्यस प्रकारका गल्तिहरू थोरै भएको भएपनि पार्टी सदस्यहरूको सक्रियता र एकतालाई त्यसले केही न केही क्षति पुर्यायो र चुनावमा पनि त्यसको केही असर पर्यो । भेलाले सामाजिक सञ्जालमा देखापर्ने सबै अनुशासनविहीन गतिविधिलाई नियन्त्रित गर्न सबै पार्टी समिति वा सदस्यहरूले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
जनवादी केन्द्रीयता वा छलफलमा स्वतन्त्रता र काममा एकताको लेनिनवादी सिद्धान्त अनुसार हामीले कुनै विषयमा निर्णय गर्दा छलफलको स्वतन्त्रतालाई पूरै पालना गर्नुपर्दछ । तर कामको दौरानमा पूरै नै एकता वा अनुशासनलाई पालना गर्नुपर्दछ । कामको दौरानमा देखाइने मतभेद वा अनुशासनविहिनता लेनिनवादी सङ्गठनात्मक पद्धति वा अनुशासनका विरुद्धको कुरा हो । गतकालमा हाम्रो पार्टीमा त्यस प्रकारका कमजोरीहरू पनि केही न केही देखापर्ने गरेको कुरालाई अस्वीकार गर्न सकिन्न । त्यो अराजकतावादी चिन्तन प्रणालीको परिणाम हो । त्यसकारण त्यस प्रकारको चिन्तन प्रणालीलाई सैद्धान्तिक वा आवश्यक भएमा अनुशासनको कारवाहीद्वारा सुधार र नियन्त्रण गर्ने प्रयत्न गर्दै पार्टी अनुशासन र एकताको रक्षा गर्न हामीले विशेष ध्यान दिनुपर्दछ । त्यसरी नै पार्टीले अनुशासित र एकतावद्ध भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्नेछ भन्ने कुरा पनि राजनीतिक प्रस्तावमा स्पष्ट गरिएको छ ।
हामीलाई चुनावमा जुन उपलब्धि प्राप्त भएको छ, देशव्यापी रूपमा विचार गर्दा त्यो अत्यन्त कम छ । चुनाव हाम्रो रणनीति नभएर सैद्धान्तिक प्रचार, जनसम्पर्क वा जनआधारको एउटा माध्यम मात्र हो । त्यसैले चुनावमा सफलता कम भए पनि हामीले पुनः नयाँ प्रकारले आफ्ना सङ्गठनात्मक र राजनीतिक गतिविधिहरूलाई अगाडि बढाउन सङ्गठित रूपले काम गर्न ध्यान दिनु पर्दछ । तैपनि समग्र रूपमा चुनावमा प्राप्त परिणाम हाम्रो सङ्गठनात्मक स्थिति अनुरूप नै छ । त्यसैले अहिलेको सङ्गठनात्मक स्थिति तथा पार्टी अनुशासनको स्तरलाईमाथि उठाउने दिशातिर हामीले विशेष प्रयत्न गर्नुपर्ने आवश्यकता छ, जसबाट चुनावमा वा आन्दोलनमा बढी सफलता प्राप्त गर्नु सम्भव होस् ।
हाम्रो भेला दुईटा विषयमा छलफल गर्नका लागि मात्र भएको थियो ः चुनावको समीक्षा र पार्टी अनुशासनको मूल्याङ्कन । खास गरेर एक वर्षमा हुने पार्टीको आठौँ महाधिवेशनमा पार्टीभित्र स्वस्थ र अनुशासित वातावरणको निर्माण गर्नका लागि नै हामीले अहिलेको भेलाको आयोजना गरेका थियौँ । तैपनि त्यो भेलाको सिलसिलामा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय महत्वका कैयौँ विषयहरूमा पनि छलफल गरेको छ र त्यससम्बन्धी कतिपय आगामी नीति र कार्यक्रमहरू पनि निश्चित गरेको छ ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता तथा राष्ट्रिय हितमा अहिले पनि गम्भीर आँच पुग्ने खतरा छ । राजावादी, पृथकतावादी, मधेशवादी वा भारतीय विस्तारवादले त्यसका लागि लगातार प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा उक्त विषयहरूमा आँच पुर्याउन खोज्ने कुनै पनि प्रयत्नहरूका विरुद्ध उच्च प्रकारको सतर्कता र सङ्घर्ष गरिरहनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । त्यसका साथै जनताका प्रगतिशील र न्यायपूर्ण मागहरू पूरा गराउन पनि लगातार सङ्घर्ष गर्ने हाम्रो नीति हुनेछ ।
सङ्घीयता देशका लागि उपयुक्त छैन भन्ने हाम्रो पहिलदेखिको अवधारणा अहिले आर्थिक, राजनीतिक र व्यवहारिक रूपले नै प्रमाणित हुँदै गएको छ । त्यसको परिणाम स्वरूप देशको राष्ट्रियता वा विकास कार्यमा प्रतिकूल असर झन्पछि झन् बढ्दै गइरहेको छ । त्यसैले त्यसका विरुद्ध वा त्यसलाई खारेज गराउने हाम्रो पार्टीले संसदभित्र वा बाहिर लगातार आफ्नो सङ्घर्षलाई अगाडि बढाउने प्रयत्न गरिरहने छ । त्यसका साथै सङ्घीय व्यवस्था खारेज गराउन संविधानमा संशोधनका लागि पनि हामीले पहल गर्नुपर्ने आवश्यकता छ ।
बुटवलको ऐतिहासिक स्थल जितगढीको नजिक र आसपासका क्षेत्रमा भारतले बनाउन थालेको पेन्सनक्याम्पका विरुद्ध त्यहाँका स्थानीय जनताले गरेको आन्दोलनलाई ने.क.पा. (मसाल)ले समर्थन गर्दछ र त्यो सङ्घर्षसित ऐक्यवद्धता प्रकट गर्दछ । वास्तवमा त्यो सामान्य पेन्सन क्याम्प मात्र नभएर त्यसद्वारा नेपालको सुरक्षा र राष्ट्रियताका विरुद्ध आँच पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा आफ्नो पार्टी पराजित भइसकेपछि र आफ्नो सरकारका अन्तिम दिनहरूमा पनि राष्ट्रिय कोषको दुरूपयोग गर्ने र आफ्ना कार्यकर्ताहरूलाई स्वेच्छाचारी प्रकारले वितरण गर्ने जुन कार्य गरे, त्यसको हाम्रो पार्टीले विरोध गर्दछ र नयाँ सरकारसित त्यसबारे छानवीन र आवश्यक कारवाही गर्नका लागि माग गर्दछ ।
देशमा बढिरहेको भ्रष्टाचार, महङ्गी तथा पेट्रोलको मूल्यमा बारम्बार बृद्धि जस्ता कार्यहरूबाट जनताले धेरै नै पीडित हुनुपरेको छ । नयाँ सरकारद्वारा उक्त कार्यहरूमा सुधार र नियन्त्रणका लागि आवश्यक र प्रभावशाली कदम उठाउनु पर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।
लामो समय बितिसक्दा पनि भूकम्प पीडितका घरहरूको निर्माणको कार्य हुन सकेको छैन र उनीहरूलाई आवश्यक सहायता प्राप्त हुन सकेको छैन । त्यसले गर्दा उनीहरूले वर्षा र जाडोमा समेत अत्यन्त दयनीय अवस्थामा जीवन बिताउन परिरहेको छ । उक्त विषयमा सिघ्र प्रभावशाली कदम उठाउनका लागि हामीले सरकारसित माग गर्दछौँ ।