काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनीहरूको उम्मेदवारी कानुनविपरीत रहेको दाबी गर्दै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको हो । ती उजुरीहरूको जानकारी निर्वाचन आयोग, काठमाडौँमा समेत पठाइएको आयोगले जनाएको छ ।
उजुरीमा उम्मेदवारहरूमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन वा फैसला भइसकेको, सर्वोच्च अदालतबाट दोषी ठहर भएको, सरकारी निकायबाट पेस्की लिएर फर्छ्योट नगरेको, बेरुजु बाँकी रहेको तथा नागरिकता विवरणमा कैफियत देखिएको जस्ता कारण देखाइएका छन् । निर्वाचन कार्यतालिकाअनुसार ६ माघमा उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो भने ७ माघ उम्मेदवारविरुद्ध उजुरी दिने दिन तोकिएको थियो ।
माधवकुमार नेपालविरुद्ध पनि उजुरी परेको थियो । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । तर उक्त उजुरी दर्ता नभई दरपीठ गरिएको छ । मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार मुद्दा विचाराधीन अवस्थामा रहेकाले दोषी ठहर नभएसम्म उम्मेदवारी खारेज गर्न नमिल्ने कानुनी सिद्धान्तका आधारमा उजुरी दरपीठ गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली–१ का उम्मेदवार रेशमलाल चौधरीविरुद्ध भने उजुरी दर्ता भएको छ । चौधरी टीकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्ति हुन् । यद्यपि उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर रिहा गरिएको थियो । उजुरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १६ को देहाय (घ) अनुसार जन्मकैद सजाय पाई अन्तिम फैसला भइसकेका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेको उल्लेख गर्दै चौधरीको मनोनयनपत्र बदर गरी खारेज गर्न माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई उम्मेदवारविरुद्ध पनि उजुरी दर्ता भएका छन् । रास्वपाबाट भक्तपुर–२ का उम्मेदवार राजीव खत्रीविरुद्ध नेपाल स्काउटसँग सम्बन्धित ९५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको दाबी गरिएको छ । त्यही निर्वाचन क्षेत्रमा नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरुद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै उजुरी परेको छ । भक्तपुर–२ की निर्वाचन अधिकृत राधिका सुवालका अनुसार दुवै पक्षलाई बोलाएर प्रमाणका आधारमा उजुरीमाथि छानबिन गरिनेछ ।
रास्वपाकै सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध पनि उजुरी परेको छ । जनता माध्यमिक विद्यालयसँग थापाको आर्थिक कारोबार रहेको र निजी कम्पनीमार्फत काम गर्दा बेरुजुको बक्यौता बाँकी रहेको दाबी उजुरीमा गरिएको छ । सुनसरी–२ का निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालका अनुसार उजुरीको अध्ययनपछि निर्णय गरिनेछ ।
निर्वाचन आयोगका सूचना अधिकृत सुमन घिमिरेका अनुसार पाँच जना उम्मेदवारविरुद्ध परेका उजुरीमाथि तोकिएको कार्यतालिकाअनुसार बिहीबार साँझ ५ बजेसम्म निर्णय दिने तयारी छ ।
यसैबीच, केही निर्वाचन क्षेत्रमा एउटै दलबाट दुई–दुई जनाको उम्मेदवारी दर्ता भएको समस्या पनि देखिएको छ । नवलपरासी–२ मा नेपाली कांग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापाले पार्टीको आधिकारिक पत्रसहित उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही–४ मा एमालेले पहिला रविशंकर कुशवाहालाई र पछि अमनिशकुमार यादवलाई टिकट दिएपछि दुवैको उम्मेदवारी दर्ता भएको छ । सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट राजन दाहाल र महेश्वर दाहाल दुवैले पार्टीको पत्रसहित उम्मेदवारी दिएका छन् । कैलाली–४ मा रास्वपाबाट हरिप्रसाद रेग्मी र खेमराज कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार उम्मेदवारी मनोनयनको जाँचबुझ गरी सम्बन्धित निर्वाचन अधिकृतले कानुनअनुसार निर्णय लिनेछन् । आयोगले बनाएको सफ्टवेयरमा एउटै दलबाट एक जना उम्मेदवारको मात्र नाम दर्ता हुने व्यवस्था रहेकाले पहिले आएका उम्मेदवारको नाम सफ्टवेयरमा दर्ता भएको र पछि आएका उम्मेदवारको मनोनयन ‘म्यानुअली’ दर्ता गरिएको आयोगले जनाएको छ । पार्टीको आधिकारिकता र कागजातको वैधता जाँच गरी आवश्यक निर्णय लिन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ ।