काठमाडौँ । आम निर्वाचन नजिकिँदै जाँदा पुराना राजनीतिक शक्तिहरू फेरि एक–अर्कातर्फ नजिकिन थालेका संकेतहरू देखिन थालेका छन् ।
जनअसन्तोष, भ्रष्टाचारविरोधी चेतना र जेन–जी पुस्ताको राजनीतिक हस्तक्षेपले कमजोर बनेका परम्परागत दलहरू आफ्नो अस्तित्व जोगाउन पुनः गठबन्धनको बाटो रोज्न सक्ने खतरा बढ्दै गएको छ । यही सन्दर्भमा नेकपा एमालेले पुराना शक्ति केन्द्रहरूलाई एउटै मोर्चामा ल्याउने गुप्त तयारी थालेको छ ।
सबैभन्दा बढी आलोचित र जनताबाट तिरस्कार भोगेको दलका रूपमा रहेको एमालेले आगामी निर्वाचनपछि एक्लै सत्ता राजनीतिमा टिक्न सक्ने आधार कमजोर बन्दै गएको महसुस गरेपछि नयाँ जुक्ति निकालेको हो ।
त्यसैले विगतमा जनताले अस्वीकार गरिसकेको गठबन्धन संस्कृतिलाई पुनर्जीवित गर्दै राजनीतिक कुटिलता अपनाउने रणनीति अघि सारिएको देखिन्छ । यो केवल सत्ता गणितको अभ्यास मात्र नभई, पछिल्ला वर्षहरूमा सुरु भएको परिवर्तनकामी राजनीतिक धारलाई उल्ट्याउने प्रयासका रूपमा पनि बुझ्न सकिन्छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग फोन सम्पर्क गरी गठबन्धनका लागि आग्रह गरेको विषय बाहिरिनु सामान्य घटना होइन । यसपछि एमालेले कुनै पहल नगरेको दाबी गर्नु र प्रचण्ड स्वयंले फोनको कुरा सार्वजनिक गर्नुले एमालेको दोहोरो राजनीतिक चरित्र पुनः उजागर गरेको छ । बाहिर परिवर्तनको कुरा गर्ने तर भित्र पुरानै सत्ता समीकरण जोगाउने अभ्यासमा एमाले लागेको आरोप यसले थप बलियो बनाएको छ ।
जेन–जी आन्दोलनलाई दबाउन खोजेको, सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरेको र आलोचकहरूलाई शत्रुका रूपमा चित्रित गर्दै आएको ओलीको राजनीतिक प्रवृत्ति परिवर्तनविरोधी शक्तिको प्रतिनिधि बनेको छ । यस्तो पृष्ठभूमिमा उनको गठबन्धन पहल लोकतान्त्रिक स्थायित्वभन्दा पनि पुरानै कुशासन फर्काउने योजनाको अंशका रूपमा देखिन्छ ।
नेपाली कांग्रेसले ओलीको प्रस्ताव अस्वीकार गर्नुले तत्कालीन रूपमा प्रतिरोधको संकेत दिएको भए पनि कम्युनिस्ट शक्ति भित्रै संवाद भइरहनुले खतरा अझै टरेको छैन । यदि पुराना दलहरू फेरि एउटै घेरामा उभिए भने, जनताले खोजेको वैकल्पिक राजनीति, नयाँ नेतृत्व र उत्तरदायी शासन प्रणाली गम्भीर संकटमा पर्न सक्छ ।
यही कारण जेन–जी पुस्ता र परिवर्तनकामी शक्तिहरूले यो राजनीतिक चलखेललाई सामान्य गठबन्धन अभ्यासका रूपमा नभई परिवर्तन उल्ट्याउने सम्भावित खतराका रूपमा नजिकबाट नियालीरहेका छन् । आगामी दिनहरूमा जनचेतना र राजनीतिक दबाब कमजोर परेमा, पुरानै शक्तिहरूले पुनः राज्य कब्जा गर्ने जोखिम पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन ।