काठमाडौँ । नेपालको समकालीन राजनीतिमा बालेन्द्र शाह केवल एउटा व्यक्ति होइनन्, उनी एउटा मनोविज्ञान, एउटा प्रतिक्रिया र एउटा विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। उनको लोकप्रियता आकस्मिक होइन, न त सामाजिक सञ्जालको क्षणिक उछाल मात्र हो। यो क्रेज पुराना राजनीतिक संरचना, व्यवहार र असफलतामाथिको सामूहिक असन्तोषबाट जन्मिएको हो, जसले बालेनलाई प्रतीक बनाएको छ।
सबैभन्दा पहिले, पुराना दलहरूको दीर्घकालीन अकर्मण्यता र संस्थागत भ्रष्ट आचरणले जनताको भरोसा गहिरो रूपमा खियाएको छ। दशकौं सत्ता चलाएका दलहरू विकास, सुशासन र जवाफदेहिताको सवालमा असफल देखिए। भाषण धेरै भए, परिणाम कम आए। यही रिक्ततामा नयाँ अनुहार होइन, नयाँ शैलीको खोजी थियो, जहाँ बालेन शाह स्वाभाविक रूपमा फिट भए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र लोकप्रियताले पनि परम्परागत राजनीति विरुद्धको जनमतलाई थप स्पष्ट बनायो। रास्वपाले 'पुराना होइन, नयाँ' भन्ने विम्बलाई स्थापित गर्यो। तर रास्वपाको राजनीतिक संगठन निर्माण र दीर्घकालीन रोडम्यापमाथि उठेका प्रश्नहरूले केही मतदाता अझै व्यक्तिकेन्द्रित भरोसातर्फ ढल्किए, जहाँ बालेन शाह पार्टीभन्दा बाहिर रहेर पनि भरोसाको पात्र बने।
केपी शर्मा ओलीको राजनीतिक दम्भ, विशेषगरी जेन–जी आन्दोलनको क्रममा भएको धनजनको क्षतिप्रति क्षमा नमाग्नु, उल्टै त्यसलाई तिरस्कारपूर्ण भाषामा प्रस्तुत गर्नु र त्यसपछि पुनः एमाले अध्यक्षमा निर्वाचित हुनु, युवा पुस्ताका लागि झनै निराशाजनक बन्यो। यो केवल एउटा व्यक्तिप्रतिको असन्तोष होइन, सिंगो शैलीप्रतिको अस्वीकृति थियो। यही अस्वीकृतिको खाली ठाउँमा बालेन शाहको मौनता र विनम्र उपस्थितिले धेरैलाई आकर्षित गर्यो।
नेपाली कांग्रेसको हकमा पनि यथास्थितिमा चल्ने प्रवृत्तिले अपेक्षित उत्साह जगाउन सकेन। यद्यपि गगन थापा सभापतिमा निर्वाचित भएपछि भावी प्रधानमन्त्रीका रूपमा उनको सम्भावना बलियो देखिन्छ, तर त्यो सम्भावना अझै प्रक्रियागत र पार्टीगत सीमाभित्रै छ। जनताले चाहेको परिवर्तनको गति र साहस कांग्रेसले अझै देखाउन सकेको छैन भन्ने धारणा बलियो छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र लोकप्रियताले पनि परम्परागत राजनीति विरुद्धको जनमतलाई थप स्पष्ट बनायो। रास्वपाले 'पुराना होइन, नयाँ' भन्ने विम्बलाई स्थापित गर्यो।
बालेन्द्र शाहको काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा देखिएको कार्यशैलीले उनको राजनीतिक विश्वसनीयता झनै बढायो। संरचनात्मक अवरोधबीच पनि उनले केही ठोस काम गरेर देखाए, जसले “बोल्ने होइन, गर्ने” नेताको छवि निर्माण गर्यो। रास्वपाले भावी प्रधानमन्त्रीको घोषणा गर्दा जनतामा पैदा भएको भरोसा र बालेनको कार्यानुभव मिलेर एउटा साझा निष्कर्ष निकालियो—देशलाई भाषणभन्दा बढी काम गर्ने नेतृत्व चाहिएको छ।
हालै पूर्वी जिल्लाहरूमा गरिएको मौन भ्रमण र अहिले सुदूरपश्चिममा पनि त्यही शैली दोहोरिनु, बालेन शाहको राजनीतिक परिपक्वताको अर्को संकेत हो। ठूला सभा, चर्का भाषण र नाराबाजी बिना नागरिकसँग प्रत्यक्ष भेट, उनीहरूको कुरा सुन्ने र बोल्नभन्दा बढी बुझ्ने अभ्यास नेपाली राजनीतिमा दुर्लभ छ। यही मौन संवादले जनतामा “हामीलाई सुन्ने कोही त छ” भन्ने अनुभूति गराएको छ।
यसरी हेर्दा बालेन शाहको क्रेज कुनै व्यक्तिपूजा होइन, यो परम्परागत राजनीतिप्रतिको सामूहिक प्रश्न हो। उनी समाधान हुन् कि संक्रमणकालीन प्रतीक, त्यो भविष्यले बताउला। तर यति स्पष्ट छ—जब पुराना शक्ति केन्द्रहरू आफैंसँग संवाद गर्न असफल हुन्छन्, तब मौनताले पनि राजनीति गर्छ। बालेन शाहको बढ्दो क्रेज त्यही मौन राजनीतिको परिणाम हो।