काठमाडौँ । निर्वाचनको मितिसम्म हिमाली तथा पहाडी उच्च भूभागका बस्तीहरुमा हिउँ पर्ने र चिसो घट्ने सम्भावना देखिंदैन ।
यो चिसो फागुनको अन्त्यसम्म धेरै स्थानमा यथावत रहन सक्ने मौसमविद्हरुले जनाएका छन् ।
उपल्लो मुस्ताङमा चिसो बढेपछि लो–घेकर गाउँपालिका मराङका बासिन्दाहरु डेढ महिनादेखि पोखरा, काठमाडौँ लगायतका स्थानहरुमा सरेका छन् । उनीहरु चुनावमा सहभागी हुन गाउँ फर्कने निश्चित छैन । जाडो छल्न पोखरा–काठमाडौंलगायत सहर झरेका उपल्लो मुस्ताङी फागुन अन्तिम साता वा चैतको पहिलो सातातिरबाट मात्र घर फर्कन थाल्छन् ।
खेतीपाती हुनेहरू फागुन मध्यतिरबाट फर्कन्छन् । गहुँ, फापर छर्ने र पशुपालन गर्ने उपल्लो मुस्ताङी अरूभन्दा केही छिटो फर्किए पनि अहिले खेतीपाती गर्नेको संख्या नै कम भएकोले धेरै फर्कने सम्भावना कम छ ।
हिउँद नसकिने भएकाले हिमपातको सम्भावना पनि उत्तिकै रहने र बाक्लो हिमपात हुँदा उपल्लो मुस्ताङमा चुनाव असम्भव जस्तै हुने उनीहरुको भनाई छ ।
मुस्ताङका पाँचमध्ये लोमन्थाङ र लो–घेकर गाउँपालिका उपल्लो भेगमा पर्छन् । थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तुलनात्मक रूपमा कम हिमपात हुन्छ ।
मुस्ताङको लोमन्थाङ गाउँपालिकाका कार्यपालिका झन्डै ९ सय जनसंख्या रहेको लोमन्थाङ–५ मा हाल ५०–६० जना मात्रै स्थानीय रहेका छन् । चुनावमा उपल्लो मुस्ताङमा मत कम खस्ने आकलन छ ।
गण्डकीको अर्को हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा अहिले पनि हिउँ जमेको छ । उक्त गाउँपालिकाका अधिकांश घर खाली छन् । त्यहाँका स्थानीय जाडो छल्न पोखरा र काठमाडौं झरेका छन् । नार्पाभूमिका ५ वटै वडाका मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलभित्र राखेको छ । सडक नपुगेको नार्पाभूमि पुग्न सदरमुकाम चामेबाट हिँडेर तीन दिन लाग्छ ।
मनाङका २८ मतदान केन्द्रमध्ये ५ अति संवेदनशील, १४ संवेदनशील र ९ सामान्य छन् ।
मनाङका एक स्थानीयका अनुसार यसअघि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदा काठमाडौं र पोखराबाट हेलिकोप्टरमै मतदातालाई गाउँ पुर्याउने होड चल्थ्यो । उम्मेदवारले मतदाता ओसार्न करोडौं रुपैयाँ खर्च गर्थे । यसपल्ट भने एमाले र राप्रपाले कांग्रेसका टेकबहादुर गुरुङलाई समर्थन गर्दै आफ्ना उम्मेदवार उठाएका छैनन् ।
हुम्लाको नाम्खा गाउँपालिका–५ हिल्सा र ६ नम्बर वडाको लिमीमा गत शनिबारको भारी हिमपातले आउजाउ बन्द भएको छ । सदरमुकाम सिमकोटसँग ती गाउँको सम्पर्क विच्छेद छ । सदरमुकामबाट लिमी र हिल्सा जान झन्डै ५ हजार मिटरका न्यालु र नारा लेक काट्नुपर्छ ।
अहिले कम्तीमा तीन फिट हिउँ छ । अब हिउँ नबिलाउन्जेलसम्म आउजाउ नै बन्द भयो । लिमीका तीन मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन् । त्यसमध्ये गाउँमा मुस्किलले सय जना रहेका छन् । स्थानीय जाडो छल्न तथा व्यापार–व्यवसाय र अध्ययनका लागि घरबाहिर गएका हुन् ।
लिमीका तीन गाउँमध्ये तील र हल्जीमा मात्र गाउँ कुरुवा छन् भने जाङ गाउँका सबै घरमा ताला लागेको छ । हिल्सामा रहेका झन्डै ५० घरधुरी पनि अहिले मानवविहीन छन् । हिमपातअघि हिल्सामा करिब दुई दर्जन होटल सञ्चालनमा थिए । सिमकोट–हिल्सा सडक कात्तिक दोस्रो सातादेखि बन्द छ ।
लिमीमा कात्तिकमा दुईपल्ट हिमपात भएको थियो । पुसमा भने हिउँ परेको थिएन, माघमा फेरि ठूलो हिउँ प¥यो । नारा र न्यालुको हिउँ बिलाउन कम्तीमा दुई महिना लाग्छ, त्यो बेलासम्म चुनाव भइसक्छ, घर फर्कनै समस्या भयो ।
लिमीका तीनवटा र हिल्सामा एक मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा मतदान सामग्री पुर्याउन हेलिकोप्टर चार्टरको विकल्प नभएको स्थानीय बताउँछन् ।
लिमीका तीनमध्ये भृकुटी प्रावि मतदान केन्द्र जाङगाउँमा मतदाताको संख्या शून्य छ । यही अवस्थामा मतदान भए हिमशिखर प्रावि लितगाउँ र सुनखानी प्राविको मतदान केन्द्रमा भने ३० देखि ४० प्रतिशत मात्र मत खस्ने अनुमान छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार उच्च हिमाली बस्तीका २० वटा मतदान केन्द्रमा अत्यधिक हिमपात हुन्छ । ती क्षेत्रका झन्डै ४ हजार मतदाता बाहिर रहेको प्रहरीको तथ्यांक छ । अत्यधिक चिसो हुने कर्णालीका १० वटा प्रहरीचौकी कात्तिक दोस्रो सातादेखि जिल्ला प्रहरी कार्यालयमै विस्थापित भएका थिए ।
मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तीलगायत गाउँका अधिकांश मानिस बाहिर छन् । मुगुगाउँका मात्रै झन्डै ४ सय जना जाडो छल्न गाउँबाहिर गएका छन् ।
हुम्लाको अवस्था पनि उस्तै छ ।
पूर्वी पहाडी तथा हिमाली जिल्लाहरुको उच्च भूभागमा पनि चिसो अत्यधिक बढेको छ । यहाँका बासिन्दाहरु ताप्लेजुङबाहिर काठमाडौं, धरान, भारतको दार्जिलिङलगायतका स्थानमा छन् ।
३१ सय मिटर उचाइकै अर्को बस्ती ओलाङचुङगोलाका बासिन्दा आधाजति बस्तीमै छन् । यहाँका बासिन्दा बस्ती नै रित्याएर बाहिर जाँदैनन् । तर चिसोयाममा खासै काम नहुने भएकाले आफन्त भेटघाटलगायतका लागि सदरमुकाम फुङलिङ, राजधानी काठमाडौंतिर जान्छन् । उनीहरू प्रायः फागुन सुरु भएपछि मात्र फर्कन्छन् ।
जिल्लाकै उच्च स्थानमा रहेको ४२ सय मिटर उचाइको याङ्माका बासिन्दा भने गाउँमै छन् । हरेक वर्षको हिउँदयाममा चेने भन्ने स्थानमा झर्ने उनीहरूले गत वर्षदेखि बस्तीमै बस्ने अभ्यास थालेका हुन् । यो वर्ष पनि उनीहरू बस्तीमै छन् ।
निर्वाचनका लागि जिल्लाका उच्च स्थानमा रहेका मतदान केन्द्र यिनै हुन् । ल्होसार मनाएर बस्ती फर्कने भएकाले मतदाताका तर्फबाट समस्या देखिँदैन । याङमामा ६१, ओलाङचुङगोलामा २ सय ७६ र घुन्सामा १ सय ६६ मतदाता छन् । तर अघिल्लो निर्वाचनमा याङमामा १३ र ओलाङचुङगोलामा ९६ मत मात्र खसेको थियो । ओलाङचुङगोला र घुन्सामा यस वर्ष पनि एक सय हाराहारी मत खस्ने वडाध्यक्षहरूको अनुमान छ ।
भौगोलिक विकटता रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा निर्वाचनको माहोल छैन । ६ माघमा उम्मेदवारी दर्ता भए पनि कुनै पनि उम्मेदवार हिमाली गाउँका बस्ती पुगेका छैनन् ।
हिमालको काखमा रहेको बस्ती चुमनुब्री वडा १ को साम्दो र सामागाउँ, वडा २ को ल्हो, वडा ७ को छेकम्पारका अधिकांश बासिन्दा यतिखेर चिसो छल्न काठमाडौं, पोखरा लगायतका सहरमा छन् । कात्तिक अन्तिम साता बेंसी झरेका मतदाता निर्वाचन छेको पारेर गाउँ फर्कने तयारीमा छन् ।
गोरखा–१ को निर्वाचन अधिकृतको कार्यालय गोरखा सदरमुकाममा छ । निर्वाचन अधिकृतको कार्यालयबाट चुमनुब्री–१ सामागाउँको मतदान केन्द्र पुग्न एक दिन सवारी यात्रा र तीन दिन पैदल गरी कम्तीमा ४ दिन लाग्छ । त्यस्तै छेकम्पारको मतदान केन्द्र पुग्न पनि एक दिन सवारी र दुई दिन पैदल हिँडनुपर्ने बाध्यता छ ।
भौगोलिक दूरीका हिसाबले अपायक परेपछि चुमनुब्री–६ को खार सामुदायिक खोप केन्द्र खार मतदानस्थल थप गरिएको छ । चुम्लिङ आधारभूत विद्यालयका १ सय १९ मतदाता थपेर मतदानस्थल थप गरिएको हो । चुमनुब्रीका अझै पनि कतिपय मतदानस्थल पुग्न मतदातालाई ४ देखि ५ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ ।
दोलखा, रसुुवा, सोलुखुम्बु लगायत जिल्लाहरुका उच्च क्षेत्रमा समेत फागुन अन्तिमसम्म पनि चिसो नघट्ने स्थानीयहरुले बताएका छन् ।
चिसो र हिउँका कारण यस्ता उच्च भूभाग क्षेत्रमा निकै न्यून मतदान हुन सक्ने अनुमान अनुभवी व्यक्तिहरुले सुनाएका छन् ।