ढाका । बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्। फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो।
यो चुनावमा भएको जनमत संग्रहमा जेन–जीले उठाएका सुशासनका मुद्दाले पूर्ण विजयी प्राप्त गरेको छ ।
तारिक रहमानको शपथग्रहण समारोह भव्य रूपमा आयोजना गरिएको छ । शपथ कार्यक्रममा १२ सय स्वदेशी तथा विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
समारोह राजधानी ढाकास्थित संसद भवनको साउथ प्लाजामा आयोजना हुनेछ। राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।
करिब दुई दशकपछि बीएनपी नेतृत्वमा सरकार गठन हुन लागेको हो । अन्तरिम सरकारका कानुन सल्लाहकार आसिफ नजरुलका अनुसार आज बिहान १० बजे नवनिर्वाचित सांसदहरूको शपथ हुने र दिउँसो ४ बजे मन्त्रिपरिषद् सदस्यहरूको शपथ हुने छ । ३ सय सदस्यीय संसदमा बहुमत ल्याएको बीएनपी गठबन्धनले दक्षिण एशियाली राजनीतिमा नयाँ समीकरण बन्ने आंकलन गरिएको छ ।
समारोहमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । तीमध्ये भुटानका प्रधानमन्त्री क्षिरिङ टोबगे, भारतको लोकसभाका सभामुख ओम बिडला, पाकिस्तानका योजनामन्त्री अहसान इकबाल, नेपालका परराष्ट्रमन्त्री बाला नन्द शर्मा, माल्दिभ्सका परराष्ट्रमन्त्री अब्दुल्ला खलील। श्रीलंकाका स्वास्थ्यमन्त्री नलिन्दा जयाटिस्सा तथा बेलायतकी इन्डो–प्यासिफिक अन्डर सेक्रेटरी सीमा मलहोत्रा सहभागी हुने बताइएको छ।
परम्पराअनुसार शपथग्रहण समारोहमा वरिष्ठ न्यायाधीश, राजनीतिक दलका शीर्ष नेताहरू, सुरक्षा निकायका प्रमुख, कूटनीतिज्ञ तथा विशिष्ट आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। सत्ता हस्तान्तरणका लागि अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले राजीनामासमेत घोषणा गरिसकेका छन्। आज बन्ने प्रधानमन्त्री तारिक रहमान पूर्व प्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।
सन् २०२४ अस्टमा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निर्वासन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो । विद्यार्थी आन्दोलनपछि बनेको उक्त अन्तरिम सरकारले १६ महिनापछि निर्वाचन सम्पन्न गराएको हो।
नयाँ सरकार गठनसँगै बंगलादेशको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गर्ने छ । अब बन्ने नयाँ सरकारले आर्थिक सुधार, राजनीतिक स्थायित्व र क्षेत्रीय कूटनीतिमा कस्तो दिशा लिन्छ भन्ने चासो सबै तिर बढेको छ।
त्यसैगरि, बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुगेका छन्।
हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका सचिव डा. मोहम्मद नजरुल इस्लामले भव्य स्वागत गरेका थिए। बंगलादेशमा सम्पन्न १३ औँ संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई बधाई दिएकी थिइन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई चुनावी विजयतर्फ डो¥याएकोमा तारिक रहमानलाई विशेष बधाई समेत ज्ञापन गरेकी थिइन्।
उनले आफ्नो सन्देशमा बीएनपीको जितलाई ’सराहनीय’ भन्दै दुई देशबिचको सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिइन्।
बंगलादेशमा आएको राजनीति परिवर्तन र उदार शासन पद्धतिको सुरुवातले परिवर्तनको संघारमा रहेका नेपाल लगायत मुलुकमा समेत प्रभाव पर्नेछ ।
–एजेन्सी