काठमाडौँ । बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा अदालतले अन्तरिम जमानत प्रदान गरेको छ ।
अब राजपाल जेलमुक्त हुनेछन् ।
१ करोड ५० लाख भारू जम्मा गरेपछि सोमबार उनलाई दिल्ली उच्च अदालतबाट अन्तरिम जमानत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राजपालले अन्तरिम जमानत पाएपछि उनका प्रबन्धक गोल्डीले भनेका छन्, ’हो, यो सत्य हो कि राजपाल सरलाई अन्तरिम जमानत दिइएको छ। यो हामी सबैका लागि ठूलो खुसीको क्षण र आनन्दको दिन हो।’
उनका अनुसार राजपालले यस मुद्दालाई सम्बोधन गर्न र यसबारे कुरा गर्न एक÷दुई दिनमा पत्रकार सम्मेलन गर्नेछन्। राजपाल अन्तरिम जमानतमा जेलबाट बाहिर आउने तयारीमा छन्। मुद्दाको अर्को सुनुवाइ मार्च १८ मा हुनेछ। सो अवधिमा उनले अदालतले निर्धारण गरेका सर्तहरूको पूर्ण पालना गर्नुपर्नेछ।
राजपाल यादवलाई सन् २०१० मा फिल्म ’अता पता लापता’ को लागि ऋण लिएको आरोप थियो। उनी स्वयंको निर्देशनमा बनेको यो फिल्म असफल हुँदा उनले ५ करोड भारू ऋण फिर्ता गर्न सकेनन् र ब्याज सहित ९ करोड भारूभन्दा माथि पुगेको बताइएको छ।
चेक बाउन्स प्रकरणमा उनले फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका थिए। हास्य कलाकारका रूपमा सफलता हासिल गरेका राजपालले आफैं फिल्म बनाउन खोज्दा आर्थिक नोक्सान व्यहोर्नुपरेको थियो। अहिले भने उनलाई सहयोगका हातहरू अघि बढिरहेका छन्।
राजपाल रिहाई र सहयोगका बारेमा सबैभन्दा पहिलो बलिउडका सफल कलाकार सोनु सुद बोलेका थिए ।
सफल अभिनेता सूदले राजपाललाई सहयोग गर्न सबैलाई अपिल गरेका छन्। सलमान खान, अजय देवगन र डेविड धवनलगायतका कलाकारहरू पनि उनलाई सहयोग गर्न तत्पर देखिएका छन्।
यसैगरी निर्देशक प्रियदर्शनले चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफ्नो आगामी फिल्मका लागि राजपालको पारिश्रमिक सामान्यभन्दा बढी निर्धारण गर्न निर्माताहरूलाई राजी गराएका छन्।
प्रियदर्शनका अनुसार आर्थिक संकटमा फसेका राजपाललाई जोगाउन र सहयोग पुर्याउन यस्तो कदम चालिएको हो। मिड–डेसँगको अन्तर्वार्तामा प्रियदर्शनले राजपाललाई २० वर्षदेखि चिनेको र उनी असल व्यक्ति भएको बताएका छन्।
उनले राजपालको अवस्थाप्रति सहानुभूति प्रकट गर्दै भने, “मैले जुबली फिल्म्सका निर्माताहरूलाई राजपालको अवस्था हेरेर उनलाई सामान्यभन्दा बढी भुक्तानी गर्न आग्रह गरेँ र उनीहरू सहमत भएका छन्।” प्रियदर्शनको आगामी फिल्ममा राजपाल पहिलो पटक खलनायकको भूमिकामा देखिनेछन्।
राजपाललाई आर्थिक ज्ञानको अभावका कारण यस्तो समस्या परेको तर उनको नियत खराब नभएको प्रियदर्शनको दाबी छ।
राजपालले चुप चुप के, भूल भुलैयाँ, हंगामा, गरम मसाला, वक्त, ढोल, पार्टनर, फिर हेरा फेरी, मुझसे शादी करोगी, खट्टा मीठा, भागम भाग, मालामाल वीकली, मैं मेरी पत्नी और वो, जुडवा २, एक्शन जैक्सन लगायत सयौँ फिल्ममा अभिनय गरिसकेका छन्।
जेल जानुअघि राजपालले आफूसँग पैसा नभएको बताएका थिए। उनको अवस्था देखेपछि अभिनेता सूदले उद्योगका कलाकारहरूलाई सहयोगका लागि अपिल गरेका थिए। त्यसपछि सलमान खान, अजय देवगन र डेविड धवनजस्ता हस्तीहरूले उनलाई आर्थिक सहयोग गरेको खबर छ।
राजपाल बलिउडका सफल हास्य कलाकार मानिन्छन् । उनका लाखौं नेपाली फ्यान रहेका छन् । दक्षिण एसियाका नागरिकबीचमा उनको हास्यकला निकै लोकप्रिय बनेको छ । राजपालले नेपाली चलचित्र पनि खेलेका छन् ।
–एजेन्सी