काठमाडौँ । इतिहासमा पहिलोपटक जनताबीच अत्यधिक रुचाइएका सामान्य परिवारको नागरिक प्रधानमन्त्री हुने भएका छन् ।
यो चुनावले बालेन शाहलाई प्रधानमन्त्री मात्र बनाउने छैन करीब सम्पूर्ण जनताको अभिमत उनीमाथी खनिएको छ ।
भर्खर उदाएको रास्वपाबाट चुनाव लडेका बालेनको व्यक्तिगत लोकप्रियताका आधारमा इतिहासकै बलियो सरकारको नेतृत्व उनले गर्दैछन् ।
जनताको अभिमतका आधारमा नेपालको सबैभन्दा ठुलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ ।
रास्वपालाई यतिधेरै सफलता मिल्नुको प्रमुख कारण बालेन र सभापति रवि लामिछाने रहेको राजनीति क्षेत्रमा चर्चा छ ।
२०८२ साल फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा रास्वपाले अत्यधिक सिट जितेकोले यो दल बलियो पहिलो दल बनेको हो ।
अबको केही दिनभित्र रास्वपाका वरिष्ठ नेता बालेन्द्र अर्थात बालेन शाह प्रधानमन्त्री हुँदैछन् ।
रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने र अन्य सांसदलाई मन्त्री बनाउने तयारी थालेको छ ।
सम्पूर्ण मतपरिणाम आउने वित्तिकै नयाँ सरकार गठन हुनेछ । अहिले प्रत्यक्षको गणना सकिएको छ भने समानुपातिकको जारी छ ।
प्रत्यक्ष तर्फको अन्तिम परिणाम अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटमा जित हासिल गरेको छ ।
समानुपातिक तर्फ पनि ४९ लाख बढी भोट ल्याएर यो दल निकै अघि छ । समानुपातिकमा मतगणना अझै जारी छ ।
त्यस्तै, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ र स्वतन्त्र उम्मेदवार एक जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले लगायत पुराना शक्ति यो निर्वाचनमा निकै खुम्चिएका छन् भने रास्वपा नयाँ शक्तिको रूपमा उदाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा निर्वाचनमा रास्वपा र कांग्रेसले सात वटै प्रदेशबाट प्रतिनिधित्व गरेका छन् भने बाँकी दलको केही प्रदेशमा मात्रै उपस्थिति देखिएको छ ।
रास्वपाले कोशी प्रदेशबाट २८ मध्ये १७ सिट, मधेसबाट ३२ मध्ये ३० सिट, बाग्मतीबाट ३३ मध्ये ३१ सिट, गण्डकीबाट १८ मध्ये १५ सिट, लुम्बिनीबाट २४ मध्ये २१ सिट, कर्णालीबाट १२ मध्ये १ सिट र सुदूरपश्चिमबाट १६ मध्ये १० सिटमा जित हासिल गरेको छ ।
कांग्रेसले कोशीमा ४ सिट, मधेस र बाग्मतीमा १र१ सिट, गण्डकी र लुम्बिनीमा २र२ सिट, कर्णालीमा ५ सिट र सुदूरपश्चिममा ३ सिटमा जित हासिल गरेको छ ।
एमालेले कोशीमा ४ सिट, सुदूरपश्चिममा ३ सिट, लुम्बिनी र कर्णालीमा १र१ सिटमा जित निकालेको छ । मधेस, बाग्मती र गण्डकी गण्डकीमा यो पार्टीको शून्य सिट छ ।
नेपाली कम्युनिष्ट पार्टीले मधेस र बाग्मतीमा एकरएक सिट, लुम्बिनीमा २ सिट र कर्णालीमा २ सिट जितेको छ । कोशी, गण्डकी र सुदूरपश्चिममा यो पार्टीको प्रतिनिधित्व छैन ।
श्रम संस्कृति पार्टीको कोशीबाट ३ सिट र राप्रपाको कर्णालीबाट एक सिट आउँदा स्वतन्त्र उम्मेदवारको रूपमा महाविर पुन निर्वाचित भएका छन् ।
२०७९ को निर्वाचनमा ५७ सिटमा जित हासिल गरेको कांग्रेसले ३९ सिट गुमाएको छ । एमालेले ४३ सिट जितेकोमा ३४ सिट गुमाएको छ । नेकपाभित्र रहेका तत्कालिन माओवादी र समाजवादीले प्रत्यक्षतर्फ कुल २७ सिट जित्दा यस पटक १९ सिट गुमाएको छ ।
राप्रपाले ७ सिट जितेकोमा यस पटक ६ सिट गुमाएको छ । जसपा, जनमत, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोरणचा लगायत दलले यस पटक उपस्थिति जनाउन सकेनन् ।
यसअघि ७ सिट जितेको रास्वपाले यी सबैको सट्टा रास्वपाले ११८ सिट थपेर १२५ सिट बनाएको छ । त्यस्तै, पहिलो पटक संसदीय निर्वाचन लडेको श्रम संस्कृतिले यसअघि दुई एमाले र एउटा माओवादीको किल्ला भत्काएर जित हासिल गरेको छ ।
पहिलो हुने रास्वपा र दोस्रो भएको नेपाली कांग्रेसबीचको अन्तर निकै फराकिलो छ । तर, दोस्रो, तेस्रो र चौथोबीचको अन्तर भने समान रहेको छ । तेस्रोमा एमाले र चौथोमा नेपाली कम्युनिस्ट पार्टी रहेका छन् ।