काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतगणना अबको केहीबेरमा हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार, मतपेटिका संकलन भइसकेका स्थानहरुमा मतगणना सुरु गरिनेछ । अहिले रुजू गर्ने र प्रमाणित गर्ने काम भइरहेको छ ।
दुर्गम जिल्ला र मतगणनास्थल टाढा भएका स्थानहरुमा पनि भोलि विहानसम्ममा गणना सुरु हुने आयोगले जनाएको छ ।
उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आजै मतगणना हुनेछ । उपत्यकाका जिल्लाहरुमा ६० देखि ६५ प्रतिशत मत खसेको छ।
काठमाडौं मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६५ प्रतिशत मत खसेको जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत खड्काले अबको केहीबेरबाट गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी गराए ।
त्यसैगरी, निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत बढी मत खसेको जनाएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको थियो।
मतगणना कार्य छिटो भन्दा छिटो गर्न लागिएको उनले जानकारी दिए । धेरै स्थानमा आजै गणना आरम्भ हुनेछ, उनले भने ।
निर्वाचन आयोगका अनुसार, देशभरका क्षेत्रमा यसपालि गणना कार्य छिटो सम्पन्न गर्ने तयारी भइरहेको छ ।