बेइजिङ (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सि जिनपिङले १५औँ पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) को सुदृढ सुरुआत सुनिश्चित गर्न वरिष्ठ पार्टी पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।
सीपीसी केन्द्रीय समिति तथा आफूसमक्ष हालै पेश गरिएका वरिष्ठ पार्टी पदाधिकारीहरूको वार्षिक कार्यप्रतिवेदन अध्ययन गरेपछि सि जिनपिङले उक्त निर्देशन दिएका हुन्।
यी पदाधिकारीहरूमा केन्द्रीय समितिको राजनीतिक ब्युरो र सचिवालयका सदस्यहरू, राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिको पार्टी समूह, राज्य परिषद्को पार्टी समूह र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिको पार्टी समूहका सदस्यहरू, साथै सर्वोच्च जनअदालत र सर्वोच्च जनअभियोजनालयका पार्टी समूहका सचिवहरू समावेश छन्।
सि जिनपिङले सबै पदाधिकारीहरूलाई विचार, राजनीतिक अडान र कार्यशैलीमा सधैं केन्द्रीय पार्टी नेतृत्वसँग पूर्ण रूपमा एकरूप रहन आह्वान गर्दै केन्द्रीय नेतृत्वका निर्णय र योजनाहरू पूर्ण कार्यान्वयनका लागि ठोस कदम चाल्न निर्देशन दिएका छन्।
उनले आ–आफ्नो जिम्मेवारीको दायराभित्र सक्रियतापूर्वक उत्तरदायित्व वहन गर्न, आचरण सुधारसम्बन्धी केन्द्रीय पार्टी नेतृत्वको आठ बुँदे निर्णय तथा त्यसको कार्यान्वयनका विस्तृत नियमहरू कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
साथै, सुशासनसम्बन्धी सही दृष्टिकोण स्थापना र अभ्यासमा अग्रसर हुन तथा जनताका लागि ठोस उपलब्धि हासिल गर्न निष्ठापूर्वक र समर्पित भावनासहित काम गर्न उनले जोड दिएका छन्।
स्वच्छ र सुदृढ राजनीतिक वातावरण निर्माणका लागि निरन्तर प्रयास गर्नुपर्नेमा पनि उनले विशेष जोड दिएका छन्।
–एजेन्सी