मुम्बई । बलिउडका चर्चित कलाकार राजपाल यादवको आज अदालतमा सुनुवाइ हुने भएको छ।
चेक बाउन्स प्रकरणमा उनले फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका थिए। हास्य कलाकारका रूपमा सफलता हासिल गरेका राजपालले आफैं फिल्म बनाउन खोज्दा आर्थिक नोक्सान व्यहोर्नुपरेको थियो। अहिले भने उनलाई सहयोगका हातहरू अघि बढिरहेका छन्।
सफल अभिनेता सोनु सूदले राजपाललाई सहयोग गर्न सबैलाई अपिल गरेका छन्। सलमान खान, अजय देवगन र डेविड धवनलगायतका कलाकारहरू पनि उनलाई सहयोग गर्न तत्पर देखिएका छन्।
यसैगरी निर्देशक प्रियदर्शनले चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफ्नो आगामी फिल्मका लागि राजपालको पारिश्रमिक सामान्यभन्दा बढी निर्धारण गर्न निर्माताहरूलाई राजी गराएका छन्।
प्रियदर्शनका अनुसार आर्थिक संकटमा फसेका राजपाललाई जोगाउन र सहयोग पुर्याउन यस्तो कदम चालिएको हो। मिड–डेसँगको अन्तर्वार्तामा प्रियदर्शनले राजपाललाई २० वर्षदेखि चिनेको र उनी असल व्यक्ति भएको बताएका छन्।
उनले राजपालको अवस्थाप्रति सहानुभूति प्रकट गर्दै भने, “मैले जुबली फिल्म्सका निर्माताहरूलाई राजपालको अवस्था हेरेर उनलाई सामान्यभन्दा बढी भुक्तानी गर्न आग्रह गरेँ र उनीहरू सहमत भएका छन्।” प्रियदर्शनको आगामी फिल्ममा राजपाल पहिलो पटक खलनायकको भूमिकामा देखिनेछन्।
राजपाललाई आर्थिक ज्ञानको अभावका कारण यस्तो समस्या परेको तर उनको नियत खराब नभएको प्रियदर्शनको दाबी छ। चेक बाउन्स मुद्दामा दोषी ठहरिएपछि राजपालले फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।
राजपालले चुप चुप के, भूल भुलैयाँ, हंगामा, गरम मसाला, वक्त, ढोल, पार्टनर, फिर हेरा फेरी, मुझसे शादी करोगी, खट्टा मीठा, भागम भाग, मालामाल वीकली, मैं मेरी पत्नी और वो, जुडवा २, एक्शन जैक्सन लगायत सयौँ फिल्ममा अभिनय गरिसकेका छन्।
सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन ५ करोड ऋण लिएका उनले समयमा रकम तिर्न नसकेपछि मुद्दा परेको थियो। यद्यपि उनले हालसम्म ३ करोडभन्दा बढी रकम चुक्ता गरिसकेको उनका वकिलले अदालतमा जानकारी दिएका छन्। तर पटक–पटक मौका दिँदा पनि सम्झौता पालना नगरेको भन्दै अदालतले उनलाई कडा फटकार लगाएको छ।
जेल जानुअघि राजपालले आफूसँग पैसा नभएको बताएका थिए। उनको अवस्था देखेपछि अभिनेता सोनु सूदले उद्योगका कलाकारहरूलाई सहयोगका लागि अपिल गरेका थिए। त्यसपछि सलमान खान, अजय देवगन र डेविड धवनजस्ता हस्तीहरूले उनलाई आर्थिक सहयोग गरेको खबर छ।
आज फेब्रुअरी १६ मा उनको जमानत याचिकामाथि अदालतमा पुनः सुनुवाइ हुँदैछ।
–एजेन्सी