महान सदाचारी बनेर पनि राजनीतिज्ञ बन्न सकिन्छ भन्ने एक विशाल उदाहरण हुनुहुन्थ्यो, गोविन्द शर्मा कँडेल । उहाँले जीवनभर राजनीतिलाई पवित्र कर्म बनाएर पेश गर्नुभयो । राजनीतिलाई दुरुपयोग गरेको भएर गोविन्द शर्मा कँडेलले धेरै सम्पत्ति जोड्न सक्नुहुन्थ्यो । नेपालको राजनीति चरित्र भन्दा निकै अलग हुनुहुन्थ्यो उहाँ ।
नेपालमा परिवर्तनको जगजगी समयको कालखण्डमा सांसद हुनुहुन्थ्यो, गोविन्द शर्मा कँडेल । अहिले जस्तो सस्ता बग्रेल्ती भेटिने सांसदहरु जस्तो होइन त्यो बेला । ०४८ सालमा सांसद हुने भनेको शक्तिका हिसाबले राज्यस्रोत दोहन गर्ने ठुलो हतियार थियो । धेरैले त्यो हतियार दुरुपयोग गरे ।
सामान्य गास (गाविस सदस्य) ले त कति लुँड्याए । सांसद वा मन्त्रीको त कुरा नै छाडौं । तर, गोविन्द शर्मा कँडेलले कहिल्यै पदको दुरुपयोग गर्नुभएन । बरु आफैँ भौतिकता त्यानुभयो, एउटा निष्ठाको राजनीतिज्ञ बनेर । उहाँको मृत्युवरण गर्दासम्म उहाँको शरीरमा लगाएको कपडा बाहेक केही थिएन । बागलुङ बिहुँकोट गाउँमा पुर्खोली सामान्य घर बाहेक भौतिक सम्पत्ति शून्य थियो गोविन्द शर्मा कँडेलसँग ।
गोविन्द बाको निधनले पुर्याएको चोट
एउटा मानिसले जिन्दगी बिताउँदै गर्दा कयौं आफन्त मृत्यु भएको देख्छ, थाहा पाउँछ । यस्ता चिनेका कयौं मानिसको मृत्युमा सुरुको क्षणमा उसको मनमा चोट पुग्छ । विस्तारै एकपछि अर्को मृत्युहरु देख्दै र भोग्दै गएपछि उसले ती मृत्युलाई सामान्य रूपमा लिन्छ ।
तर, कुनै-कुनै मानिसको निधनले गहिरो चोट पुर्याउने रहेछ । यही (२०८२) असार १५ गते । सदा झैं नियमित कार्यालय पुगें म । केही क्षण काम गरेर मोबाइल खोलेर फेसबुक हेर्दा स्तब्ध भएँ । दिउँसो १ बजेतिर बागलुङका पत्रकार साथी ज्ञानेन्द्र गौतमले ‘एउटा निष्ठावान राजनीतिज्ञको निधन’ भएको श्रद्धाञ्जली पोष्ट गरेका रहेछन् ।
तत्काल कमेन्टमा हार्दिक श्रद्धाञ्जली लेख्न सकिन मैले । पृथ्वी नै डग्मगाए जस्तो अनुभव भयो मलाई । गोविन्द बाको निधन पत्यार लागेर पनि मनले विश्वास खोजिरहेको थियो । अनि उनै ज्ञानेन्द्र गौतमलाई फोन लगाएँ । अब भने गोविन्द बाको मृत्यु भएको मनले विश्वास गर्यो । झन चारैतिर अँध्यारो महसुस भयो ।

मानिसको जीवनमा रगतको नाता भन्दा भावनात्मक सम्बन्ध गहिरो हुने रहेछ । मेरो जीवनमा पनि त्यस्तै भयो गोविन्द बासँगको सम्बन्ध । त्यो सम्बन्धले कतिसम्म भावुक बनाउने रहेछ भने मैले जीवनमा कयौं आफन्तदेखि चिनेका व्यक्तिहरुको मृत्युमा त्यति ठुलो चोट महसुस गरेको थिइन ।
तर, गोविन्द बाको निधनको खबरले मैले एक्लो महसुस जस्तो गरें । पृथ्वी नै भासिए जस्तो विरानो अनुभव जस्तो भयो मेरा लागि ।

गोविन्द बासँग जुन दिनदेखि चिनजान भयो, त्यो दिनदेखि मेरो उहाँसँग कहिल्यै सम्बन्ध तोडिएन । कुनै मानिससँग सम्बन्ध जोडिन कुनै सहयोगको आदानप्रदान गर्नुपर्दैन । गोविन्द बासँग कहिल्यै भौतिक लेनदेन भएन । तर उहाँसँग भएको एउटा सच्चाई र इमान्दारबाट मैले धेरै प्राप्त गरेको छु । यसकारणले उहाँसँग मेरो सम्बन्ध निरन्तर कायम रह्यो ।

माओवादी द्वन्द्वकाल चरमोत्कर्षमा पुगिरहेको थियो । नेपालमा व्यवस्था परिवर्तनको लहर चलिरहेको थियो । म सानो फुच्चे केटो । नेपालको सबैभन्दा ठुलो प्रकाशनगृह कान्तिपुर पब्लिकेशन्स प्रा.लिमा खुल्ला प्रतिष्पर्धाबाट छानिएर म बागलुङ संवाददाता बनेको थिएँ ।
मेरा लागि बागलुङ निकै नयाँ ठाउँ थियो त्यो बेला । त्यो बेला कान्तिपुरको शक्ति कति थियो यहाँ वर्णन गर्न सम्भव छैन । सामान्य नागरिकदेखि नेताहरु कान्तिपुरमा समाचार छाप्न मरिमेट्थे । समाचार छाप्न सबै सुम्पिन तयार हुन्थे । त्यो अथाह अनुभव छ मेरा जीवनमा ।

तर, बागलुङको सबैभन्दा शक्तिशाली र देशकै एउटा स्थानमा पुग्नुभएका गोविन्द बाले कहिल्यै समाचार छाप्न दबाब दिनुभएन । न अनुरोध नै गर्नुभयो । न मैले त्यो महानता देखाउन सकें ।
लोभलालच, लोकप्रियवादबाट टाढा रहनुभएका गोविन्द बासँग पछ्याउने पत्रकार थिएनन् । उहाँ नै सधैं पत्रिका साथमा बोक्नुहुन्थ्यो । अनामनगरको कोठाभरी पत्रिकाको चाङ हुन्थ्यो । म बेलाबेलामा पुग्दा सोध्ने गर्थे, बुवा यतिधेरै पुराना पत्रिका राख्नुभएको छ, केका लागि ? गोविन्द बाले जवाफ दिनुहुन्थ्यो, 'विनोद बाबु, यी पत्रिकामा हाम्रो देशको चित्र छ, म बेलाबेलामा खोजेर हेरिरहन्छु ।’
केही वर्षअघिको कुरा हो । म पुनः अनामनगरमा उहाँको डेरामा पुगेको थिएँ । कोठा पुरै खाली थियो । बुवालाई सोधें, खोई त ती पत्रिकाहरु ? बुवाले भन्नुभो, ‘म बागलुङ गएको बेला शेखर (छोरा) ले बेचिदिएछ ।’ बुवाले मलिन स्वरमा उत्तर दिनुभयो ।

साथमा कहिल्यै पत्रिका नछुटाउने र त्यो पत्रिका रिठ्ठो नविराई पढ्ने अद्भुत अभ्यास थियो गोविन्द बाको । जीवनको अन्तिम क्षणसम्म बाइनाकुलरको सहायताले उहाँले पत्रिका पढिरहनुभयो । तर, त्यही पत्रिकामा नाम छपाउन कहिल्यै महत्वकांक्षा पाल्नुभएन उहाँले । एउटा प्रमुख दलको सांसद भइसकेको व्यक्तिसँग कति धेरै प्रचारमोह र आस हुने गर्छ । तर अँह, उहाँले कहिल्यै त्यो मोह कहिल्यै देखाउनुभएन ।
भावनात्मक कसिलो सम्बन्ध
असार ८ गते आइतबार दिउँसो दुई बजेर ४७ मिनेट । 'बुवा कहाँ हुनुहुन्छ ?' मैले फोन गरेर सोधें, उहाँले भन्नुभयो, 'म मनमैजु आफन्तको पूजामा छु, भोलि सोमबार चितवन जान्छु होला, १५/१६ गते पूर्वसांसदहरुको कार्यक्रम छ, काठमाण्डौ फर्केपछि भेटौंला विनोद बाबु ।’ यो नै गोविन्द बासँग मेरो अन्तिम संवाद भयो । त्यतिबेला मैले बुवासँग मेरो एक मिनेट एक सेकेण्ड समयको बातचित भएको रहेछ ।

दुई दशकसम्म अनवरत गोविन्द बासँग मेरा भावनात्मक र संवादयुक्त सम्बन्धहरु जोडिए । मेरो पोखराको घर होस् वा चितवनको परिवारसँग उहाँ राम्रो परिचित हुनुहुन्थ्यो । सायद ०६५ तिर हुनुपर्छ, मैले पोखरामा रहनुभएका मेरा बुवा आमासँग गोविन्द बालाई भेट गराएको थिएँ । मेरा व्यक्तिगत जीवनका उतारचढावमा गोविन्द बा सबैभन्दा परिचित हुनुहुन्थ्यो । जब अनामनगरको चिया पसलमा बसेर चिया गफ हुन्थ्यो, अनि गोविन्द बा भन्नुहुन्थ्यो, 'विनोद बाबु अब आफ्नो घरबार व्यवस्थित गर्न लाग्नुस, हाम्रो नारायण छ, उसले कानुनी सहयोग गर्छ, मैले भनेको छु ।’ गोविन्द बाले मलाई यति धेरै माया गर्नुहुन्थ्यो कि मेरो व्यक्तिगत जीवनलाई उहाँले धेरै चिन्ता व्यक्त गरिरहनुहुन्थ्यो ।

गत वर्ष एकदिनको कुरा हो । नारायणदत्त कँडेलसँग टेलिफोनमा कुराकानी हुँदा नारायणजीले भन्नुभएको एउटा वाक्यांश याद आइरहन्छ । (नारायणदत्त गोविन्द बाको भतिज, तत्कालीन धवलागिरी पत्रकार महासंघका अध्यक्ष, पछि लन्डनबाट कानुनमै विधावारिधी गर्नुभएका मेरा अनन्य मित्र पनि) 'विनोद जी, गोविन्द बा जता जाँदा पनि की तपाईंलाई की मलाई धेरै सम्झनुहुन्छ ।’ हुन पनि गोविन्द बाका आफन्त, शुभचिन्तक र शुभेच्छुक बागलुङ, चितवन, काठमाडौँ लगायत देशैभरी छन् । तर, जब गोविन्द बा थानकोट उकालो कट्नुहुन्थ्यो, अनि मलाई फोन गरेर भन्नुहुन्थ्यो, 'विनोद बाबु, म काठमाडौँ आएको छु, म सानो भर्याङतिर (सायद उहाँका परिवारकै सदस्यको घर) बस्छु, भोलि भेटमला है ।’ यसरी उहाँ काठमाडौँ आउँदा मलाई नियमित सम्पर्क गरिरहनुहुन्थ्यो । उहाँ पछिल्ला वर्षमा विरामी र अलि कमजोर हुन थालेपछि अनामनगरको डेरा छोडिसक्नुभएको थियो । राजधानी आउँदा उहाँ शान्तिनगर, सानो भर्याङ लगायतका इष्टमित्र र परिवारकै सदस्यका घरहरुमा बस्ने गर्नुहुन्थ्यो ।

गोविन्द बा गत वर्ष विरामी पर्नुभयो । मुटुको सानो अपरेसन भयो । मैले सकभर यो वृद्ध अवस्थामा अपरेसन गर्न नहुने भनेर सुझाएको पनि थिएँ । नारायणजीसँगको कुराकानीमा थाहा भयो—चिकित्सकले अपरेसन गर्न सल्लाह दिनुभएको रहेछ । त्यसपछि नियमित औषधि खाइरहनुहुन्थ्यो । पछि नियमित फलोअप गर्न र औषधि किन्न मैले स्कुटरमा राखेर सिभिल अस्पताल पनि २–३ पटक लिएर गएको थिएँ । हामी सिभिल हस्पिटलको क्यान्टिनमा बसेर चिया खान्थ्यौं ।

म इन्डियाका विकृति नेपाल छिरेको, धर्म आदिका नाममा समाजलाई बन्द समाजमा धकेलिएको सुनाउँथे । गोविन्द बा भन्नुहुन्थ्यो,‘हो विनोद बावु, भारतको समाज हाम्रो भन्दा भिन्न छ । हामीले अरुको सिक्न हुँदैन । हाम्रो कर्म पनि छोड्न हुँदैन ।’ नेपाली मौलिक धर्ममा गोविन्द बाको रुचि निकै लोभलाग्दो थियो ।
मानिसको जीवनमा समान उमेरको व्यक्ति मात्र साथी हुँदैन । विचार, बहस र चिन्तनका विषय मिल्यो भने जुनसुकै उमेर समुहका व्यक्ति पनि साथी जस्तै हुने गर्छन् । गोविन्द बा र मेरो उमेर अन्तर हजुरबुवा, छोरा, नाति जस्तै ठुलो थियो । तर एउटा अन्तरसम्बन्धमा समानता थियो, र सम्बन्धहरुमा कहिल्यै तलमाथि हुन पाएन ।

गोविन्द शर्मा कँडेल नाम भएपनि उहाँको "गोविन्द बा" एउटा यस्तो ब्रान्ड वा आफैँमा संस्था बनिदिएको थियो कि पोखरा उकालो लागेपछि उहाँ सबैभन्दा बढी यही नामबाटै परिचित हुनुभयो । सबैका प्रिय अभिभावक र सबैका बा, गोविन्द बा सदाचार राजनीतिज्ञका पनि बा नै हुनुहुन्थ्यो । राजनीतिक क्षेत्रका मास्टरहरुका गोविन्द बा हेड मास्टर हुनुहन्थ्यो । आज गोविन्द बा यो संसारमा नभए पनि नेपाली समाजलाई सदाचारको ठुलो पाठ सिकाएर जानुभएको छ ।
महात्मा गान्धीले भनेका थिए—“You may never know what results come of your actions. But if you do nothing, there will be no result.” गोविन्द बाले आफ्नो सम्पूर्ण जीवन सत्य, निष्ठा र सादगीको अभ्यासमा बिताउनुभयो । उहाँले गान्धीका यी सिद्धान्तहरू जस्तै, कर्म गर्ने तर प्रतिफलप्रति मोह नराख्ने नीति जीवनमा आत्मसात गर्नुभयो ।
प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्द प्रसाद शर्मा कँडेलले कहिल्यै आफ्नो शक्तिको दुरुपयोग गर्नुभएन । मसँगको भेटमा सधैं भन्नुहुन्थ्यो—‘विनोद बाबु, कसैलाई नराम्रो भन्न हुँदैन, र नराम्रो काम गर्न हुँदैन । एक दिन न एक दिन सबैले सम्मान गर्छन् ।’
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित हुनुहुन्थ्यो । कांग्रेसका संस्थापक वी.पी. कोइरालाको हातबाट सदस्यता लिएर राजनीति गर्नुभएका गोविन्द बाले कहिल्यै अतीतका योगदान भजाएर फाइदा लिनुभएन ।
बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील गोविन्द बा नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुनुहुन्थ्यो । वि.सं. २०१९ देखि २०४८ सालसम्म नेपाली कांग्रेस बागलुङका सभापति बन्नुभएका गोविन्द बा २०४६ सालको आन्दोलनका क्रममा पनि जेल पर्नुभएको थियो । उहाँको राजनीतिक यात्रा त्यत्तिमा मात्र सीमित रहेन । वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा गोविन्द बा पक्राऊ पर्नुभयो । वि.सं. २०१८ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनमा लामो समय जेल पर्नुभयो गोविन्द बा ।

वि.सं. १९९५ साल पुस १४ गते जन्मिनु भएका गोविन्द बा वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता लिएर राजनीतिमा होमिनुभयो । त्यसयता उहाँले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँग उहाँले लामो समय राजनीति गर्नुभयो । मसँगको भेटमा सधैं भन्नुहुन्थ्यो—‘विनोद बाबु, रामचन्द्र जी र म लामो समय राजनीतिमा रहे पनि उहाँ राष्ट्रपति बन्नुभयो, यसमा मलाई ठुलो खुसी लागेको छ । अरु नेताभन्दा रामचन्द्र जी असल हुनुहुन्छ है ।’

अब्राहम लिंकनले एकपटक भनेका थिए—“Nearly all men can stand adversity, but if you want to test a man’s character, give him power.” गोविन्द बाको जीवन यही वाक्यको जीवित प्रतीक थियो । उहाँ शक्तिमा पुगेर पनि विनम्र, शालीन र निस्वार्थ रहनुभयो । धेरै नेताहरूले सम्पत्ति जोडेर परिवार, इष्टमित्र र आफ्नो जीवन व्यवस्थित बनाए, तर गोविन्द बाको जीवन डेराबाट सुरु भएर डेराविहीन पुर्खोली घर बिहुँ गाउँमै फर्किएको थियो ।
राजनीतिको शक्तिमा पुगेर पनि एक सुका कमाउने त परै जावोस्, भएका पुर्खाका सम्पत्ति पनि बेच्नुभयो । जीवनको अन्तिम क्षणमा पनि उहाँ सडकमै हुनुहुन्थ्यो ।
नेल्सन मण्डेलाले एकपटक भनेका थिए—“A good head and a good heart are always a formidable combination.” गोविन्द बासँग त्यो संयोजन थियो । उहाँका विचार स्पष्ट थिए, उहाँको मन विशुद्ध थियो, उहाँको जीवन राजनीतिक सिद्धान्तको आदर्श पाठशाला थियो ।
आज त्यो इतिहासको धरोहर भौतिक रुपमा हामीमाझ हुनुहुन्न । तर गोविन्द बाको त्यो मेलमिलाप र सदाचारको राजनीतिको रामायण नेपाली माटोमा सधैं रहनेछ । गोविन्द बाले सधैं भन्ने गरेको एउटा लाइन छ, त्यो हो—‘यी सबै पार्टी मिल्नुपर्छ र देश विकास गर्नुपर्छ, एकअर्कालाई विरोध गरेर कसैलाई फाइदा हुँदैन ।’

गोविन्द बाको निधन भएदेखि मैले कसरी लेखुँ, के लेखुँ भन्ने मात्र मनमा लागिरहेको थियो मलाई । एउटा इमान्दार राजनीतिको मुर्धन्य नेताको बारेमा लेख्न ठुलो साहस चाहिन्छ । जब उहाँको निधनका खबर सुनें, अझै पनि श्रद्धाञ्जली दिन सकिरहेको छैन । अझै पनि मलाई लाग्छ, 'विनोद बाबु, म अनामनगर छु, चिया खान आउनुहोस' भनेर बोलाउनुहुन्छ कि भनेर म तरंगीत हुने गर्छु । उहाँको स्मृति आज उही सदाचारको जीवनका रुपमा झलझल याद आइरहन्छ । एउटा चम्किलो नक्षण पुरै आकाशगंगामा सधैं चम्किनुभएको छ ।
राजनीति भनेको सम्भावनाको कला हो," विंस्टन चर्चिलले भनेका थिए। तर गोविन्द शर्मा कँडेलले यो सम्भावनालाई व्यक्तिगत लाभ होइन, सार्वजनिक सेवा बनाइदिनुभयो। उहाँ एक यस्तो विरल राजनीतिज्ञ हुनुहुन्थ्यो, जसले राजनीति कर्मलाई पूजाजस्तै पवित्र मान्नुभयो । उहाँको जीवनले सिद्ध गर्यो—सदाचार, सादगी, र सिद्धान्तमा अडिग रहेर पनि राजनीतिमा दीर्घ योगदान दिन सकिन्छ।

"तपाईंले संसारलाई बदल्न सक्नुहुन्छ, तर पहिले आफूलाई बदल्नुपर्छ," नेल्सन मण्डेलाको यो भनाइ गोविन्द बाको जीवनमा प्रकट भएर आएको जस्तो लाग्छ।
गोविन्द बा केवल एउटा नाम होइन—उहाँ आफैँमा संस्था हुनुहुन्थ्यो। पोखराबाट बागलुङ उकालो लागेपछि ‘गोविन्द बा’ नामले सिंगो पहिचान बनाइसकेको थियो। सबैका प्रिय बा, सबैका आदर्श राजनीतिज्ञ। आज उहाँ भौतिकरूपमा हामीसँग हुनुहुन्न, तर उहाँका मूल्य, विचार र दर्शन भने नेपाली राजनीतिमा रामायणसरह अटल रहिरहनेछ।
गोविन्द बाप्रति पृथ्वीलोकबाट सधैं ढोग भइरहनेछ । नेपाली आकाशमा गोविन्द बाका इतिहासहरु कञ्चन भएर फैलिरहनेछन् ।
श्रद्धासुमन—गोविन्द बा ।
