प्रकाश रिमाल
नेपालमा २०६२/०६३ सम्म राजसंस्था, हिन्दुराष्ट्र कायम थियो । केही धर्म परिवर्तनका घटनाहरु भए पनि संस्थागत रुपमा धर्म, संस्कृतिमाथी प्रहार हुन सकेको थिएन । जब २०६२/०६३ पछि षडयन्त्र पुर्वक ढंगले हिन्दुराष्ट्र, राजसंस्था हटाइयो । यस अर्थमा षडयन्त्र भयो की राजा ज्ञानेन्द्रको सम्बोधनबाट आन्दोलन रोकियो ।
राजाकै सम्बोधनबाट पुनर्स्थापित प्रतिनिधि सभाको २०६३ जेष्ठ ४ गतेको घोषणाले राजाको जेठो सन्तान छोरा वा छोरी जे भएपनी राजगद्दीमा बस्न पाउने,राजाको सम्पत्तिमा कर लाग्ने लगायतका बिषय घोषणा गर्यो ।
यसबाट के स्पष्ट हुन्छ भने २०६३ जेष्ठ ४ गते सम्म राजसंस्था कायम गर्ने स्पष्ट थियो तर पछि विदेशी दबाब र प्रभावले तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले बिपिको मेलमिलाप नीति अनुरुप राजसंस्था राष्ट्रियताको प्रतीक साथै धर्म, संस्कृति र परम्पराको संरक्षक हो भन्ने बिर्सेर पहिलो राष्ट्रपति हुने लोभले २०६२/०६३ को आन्दोलनको सम्झौता विपरित राजसंस्था फालियो । त्यस्तै सडकमा उठ्दै नउठेको धर्म निरपेक्षता जबर्जस्त लागू गरियो ।
विश्वको एक मात्र हिन्दुराष्ट्र , विश्वको एक अरब दश करोड हिन्दुहरुको आस्थाको केन्द्र नेपालको पहिचान समाप्त पारियो । २०४६/०४७ को परिबर्तन पश्चात बुद्ध जन्मेको देश नेपाललाई शान्ती क्षेत्र बनाउने ११६ राष्ट्रले समर्थन गरेको बिषय हटाइयो । यसरी दिनप्रतिदिन दल र नेताहरु हाम्रो पहिचान कम्जोर बनाउन, बाह्र प्रभावमा काम गर्न लागे । २०६२/०६३ पछि झन नेपालका दल र नेताहरु दिनप्रतिदिन बाह्र उपस्थिती र निर्देशनमा काम गर्न थाले । जसको परिमाणस्वरुप धर्म निरपेक्षता लागू गरियो, राजसस्थालाई पाखा लगाइयो, देश बिखन्डनको बीउ संघीयता लागू गरियो । धर्म निरपेक्षता, पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउने, सरकारको सहभागीतामा भएको धर्म परिवर्तन गर्ने कार्यक्रम होलि वाइन र अहिलेको गुठी बिधेयक मार्फत जबरजस्ती ढंगबाट नेपालको धर्म संस्कृति मास्न र बाह्र धर्म संस्कृति स्थापित गर्न योजना बद्ध षड्यन्त्र बिजारोपण गरियो ।
नेपाललाइ धर्म निरपेक्षता बनाउनुको कारण -
नेपाललाई धर्म निरपेक्षता बनाएपछी नेपालको संस्कृति, परम्परा कमजोर बनाउन सकिने अनि आफ्नो धर्म प्रचार गर्न सहज हुने बुझेका विदेशी धर्म नेपाल भित्र्याउन कृयाशिल धार्मिक संघ , संस्थाहरु र युरोपियन युनियनहरु सशक्त रुपमा उक्त कार्यमा लागेका छ्न । साथै धर्म अफिम भन्ने, धर्म, संस्कृति र परम्परा समाज विकासको बाधक थान्ने धर्म निरिपेक्षमा मान्यता राख्ने कम्युनिस्ट दर्शनसँग धर्म मान्ने तर नेपालमा धर्म निरपेक्ष हुँदा धर्म प्रचार गर्न सहज हुने बुझेका इसाइ संस्थाहरुको आपसी लेनदेन र डलरको प्रभावले राजसंस्था पाखा लगाएपछी धर्म निरपेक्ष बनाउन सफल भए, कम्युनिष्ट दर्शनलाई र विदेशी प्रभावलाई काङ्ग्रेसले समेत सहर्ष स्विकार गरि संविधानमा धर्म निरपेक्षता कायम गर्न प्रमुख भुमिका खेल्यो ।
अन्तत: नेपाल राजा बिहिन धर्मनिरपेक्ष राज्य भयो । यो नेपालको संस्कृति, परम्परा कम्जोर बनाउन विदेशी धर्म , संस्कृति स्थापित गर्न जानी बुझिकन गरिएको योजना मुताबिक भएको कार्य हो भन्न अब गारो छैन।
नेपालमा गूठीले परम्परा, संस्कृति बचाउन महत्त्वपूर्ण भुमिका खेलेको छ भन्ने सबैलाई थाह छ । हरेक गुठिका स्रोत, संचालन प्रकृया फरक फरक छ्न । बिशेष गरि नेवार समुदाय भित्रको पनि थर अनुसारको फरक फरक परम्परा, संस्कार छन । यो अलिखित कानुन जस्तो चल्दै आएको छ । निजि गुठी, राज गुठीका छुट्टाछुट्टै स्रोत, सन्चालन प्रक्रिया छ्न । अहिले गुठी मठ मन्दिर सन्चालन देखि हरेक जातका मानिसहरुले समेत जन्म देखि मृत्यु सम्मको संस्कार चलाउन गुठी बनाउने चलन छ । यस्तो संवेदनशिल विषयमा राज्यले प्राधिकरण बनाइ गुठीको सम्पत्तिमा राज्यकारण गर्न खोज्नु, संस्कृती ,परम्परा रोक्न खोज्नु कम्युनिस्ट दर्शन बमोजिमको कार्य हो तर नेपाली जनताले मान्दै आएका आफ्नो संस्कृती माथिको प्रहारलाई सहन गर्ने कुरा भएन।
कुनै देशको संस्कृती, परम्परा कमजोर नबनाइ , त्यो देशको पहिचान कमजोर नबनाइ त्यो देशमा आफ्नो प्रभाव ,संस्कृती, धर्म लाद्न संभव हुदैन भन्ने बुझेका बिदेशीहरुको योजना र विदेशी लगानीमा नेपालमा कृयाशील NGO/INGO को योजनाबद्ध षड्यन्त्र र धर्म निरपेक्ष पार्टी कम्युनिस्टहरुको सहकार्यमा नेपालको संस्कृति, परम्परा कमजोर बनाउने काम भैरहेको छ । २०६२/०६३ सम्म हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा रहेको काङ्ग्रेस पनि पछि कम्युनिस्ट एजेन्डामा रुपान्तरित हुन पुग्यो।
गुठी बिधेयक मेडिकल बिधेयक जस्तो नहोस बेला बेलामा नब्युत्योस भन्ने चहाना राख्ने जनता, राजनीतिक दल, विभिन्न संघ- संस्था तथा गुठियारहरुले अब सोच्नु पर्छ गूठी बिधेयक किन आयो? यसको भित्रि आसय र उद्देश्य के थियो ? होली वाइन कार्यक्रम किन नेपालमा संभव भयो?
बिश्वमा करिब १४५ देश धर्म सापेक्ष हुन हुने, ७० भन्दा बढी देश इसाई राष्ट्र, ४० भन्दा बढी ईस्लाम ,१० भन्दा बढी देश बुद्धिस्ट देश हुँदा एक मात्र हिन्दुराष्ट्र (धार्मिक स्वतन्त्रता सहित) पहिचान कायम हुन नहुने किन? किन नेपाल धर्म निरपेक्ष भयो ?।अब संस्कृती,परम्पराको पक्षधर, धर्ममा बिश्वास गर्ने जनताले गहन रूपमा सोच्नु पर्ने बेला आएको छ। कम्युनिस्ट दर्शनको धर्म नमान्ने दल , धर्म निरपेक्षतामा आफ्नो संस्कृति,धर्म प्रचार गर्ने योजनाको इसाई संघ-संस्थाहरु र एजेन्डा बिहिन काङ्ग्रेसको घोषित अघोषित सहकार्यले नेपाल धर्म निरपेक्ष भएको सर्वबिदित नै छ ।
गुठी बिधेयकको बिरोधमा काठमाडौमा देखिएको जनताले अब बुझ्नुपर्छ कि धर्म निरपेक्षता बनाउने दलहरुको कारणले गूठी बिधेयक आएको हो । मेडिकल बिधेयक हरेक पटक आन्दोलनले रोकिन्छ,फेरि मेडिकल माफियाको कारणले ब्युझिन्छ । डा .गोबिन्द के.सी।कयौं पटक अनसन बस्न बाध्य पारिन्छ किन ? अब जनताले त्यो खोज्नु पर्छ । गुठी बिधेयक त्यस्तो नहोस भनेर हरेक नेपाली सचेत हुनु जरुरी छ।
धर्म, संस्कृति र परम्परामा बिश्वास गर्ने जनताले अब के गर्ने ?
हामी जो नेपालको राष्ट्रियता बलियो होस भन्ने चहान्छौं । नेपालको बुद्ध जन्मेको देश, सगरमाथाको देश, एक मात्र हिन्दुराष्ट्रको पहिचान विश्व भरी चिनाउन चहाने,जसरी इसाईहरु भ्याटिकन सिटि,।मुश्लिमहरु मक्का मदिना जान्छन, बिश्वको एक अर्ब दश करोड हिन्दुहरुको आस्थाको केन्द्र नेपाल बनाउ भन्ने नेपाल र पशुपतिनाथ आउने बनाउन चहानेहरु, ईश्वरमा, धर्ममा बिश्वास गर्नेहरु सबैले अब खोज्नु पर्छ । नेपाल किन धर्म निरपेक्षता भयो? होलि वाइन कार्यक्रमको उदेश्य के हो? बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा इन्द्रजात्रा,कुमारीको राज्यले दिँदै आएको सहयोग किन रोक्न खोजे ? गुठी बिधेयक किन आयो ? अब खोज्नु पर्छ । अनि मात्र हामी ठिक गन्तव्यमा पुग्छौं ।धर्मलाई अफिम मान्न्रे, धर्म निरपेक्षता लागू गर्ने दल अब चिन्नु पर्छ । परम्परागत मान्यताहरु ठिक हो भन्ने धर्म,संस्कृति ,परम्परा संरक्षण हुनु पर्छ भन्ने मान्यता बोक्ने दल र परम्परा, संस्कृति , धर्म समाज विकासको बाधक थान्ने दल अब छुट्टाउनु जरुरी छ । जहिलेसम्म धर्म नमान्ने ,धर्म निरपेक्षता लागू गर्ने दल र नेतालाई,देशको नेतृत्व स्थापित गरिरहन्छौं । त्यही बेलासम्म मेडिकल बिधेयक जस्तो गुठी बिधेयक आइरहन सक्छ । त्यसैले अब जनताले धर्म, संस्कृती मान्ने,नेपाललाई हिन्दुराज्य कायम गर्ने, राजसंस्थाको पुनर्स्थापनाको माग गर्ने राजनितिक दल खोज्नु जरुरी छ । अब धर्म मान्ने जनताले धर्म नमान्ने दलर नेतालाई फाल्न सक्नु पर्छ ।
जुन दर्शनलाई बिश्वास गरेर राजनिती गरे त्यही दर्शनको आधारमा दलहरुले आफ्नो क्रियाकलाप र मुद्दा स्थापित गर्ने हो । बीस रोपेर अमृतको आश गर्न सकिँदैन भने जस्तै कार्लमाक्स, माओ, लेनिनको फोटो झुन्डाउनेहरुले धर्म मान्छ्न । संस्कृती र परम्पराको संरक्षण गर्छ्न भनेर बिश्वास गर्नु भनेको कम्युनिस्ट दर्शन नबुझ्नु । पहिलो पटकबाट प्रधानमन्त्री हुँदा केपि ओलीले सपथ खादा ईश्वर शब्द नबोल्नु, माधव कुमार नेपालले आमाको मृत्युु हुँदा क्रिया नबस्नु, प्रचण्डको छोराको मृत्यु हुँदा धार्मिक परम्परा अनुसार क्रिया नबस्नुको कारण अब हामी जनताले बुझ्नु पर्छ । अब भ्रममा जनता बस्नु हुदैन । अब जनताले पृथ्वीनारायण शाहको दिब्य उपदेश, राजा महेन्द्रको राष्ट्रवाद, बिपिको मेलमिलाप नितिको महत्त्व बुझ्नु जरुरी छ । निरन्तरता सहितको परिवर्तन ,धर्म संस्कृति परम्पराको संरक्षण हुने सम्बर्द्धनवादको चिन्तनको बहस गर्नु जरुरी छ । अब जनताले दर्शनको आधारमा आफुलाई उभ्याउनु जरुरी छ ।
सडकमा आएका जनता जो गुठी संरक्षण चहान्छ्न, धर्म मान्छ्न, संस्कृति, परम्परा बचाउन चहान्छ्न, मेडिकल विधेयक जस्तो गुठी बिधेयक नहोस भन्ने चहान्छ्न, त्यही विचारको प्रतिनिधित्व हुने गरि आफ्नो नेतृत्व छान्नु जरुरी छ । हिजो के थियौ? कुन दल र दर्शन रोज्यौ हैन । नेपालको सन्दर्भमा आज कुन विचार ठिक छ भन्ने सोचौं भारतीय जनताले अङ्ग्रेज लखट्ने दल छोडेर धर्म मान्ने दल भाजपालाई शक्तिशाली बनाउन सके भने हामी हाम्रो पहिचान, संस्कृतिको लागि विकल्प खोज्न सक्दैनौ? अब बिकल्प खोज्ने बेला आएको छ ।
लेखक राप्रपाका केन्द्रिय सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष हुन् ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६ १६:२३