आचार्य श्री सुजन शात्री
सम्- उपसर्ग पूर्वक "कृ" धातुदेखि क्त प्रत्यय लागेर निष्पन्न भएको शब्द हो "संस्कृत"। शुद्ध संस्कारित परिष्कृत भाषा। जसलाई "संस्कृत" भनिन्छ
संस्कृत भाषा विश्व को प्राचीनतम एवं समृद्ध भाषा हो। ग्रीक भन्दा परिपूर्ण र लेटिन भन्दा पनि सुसंस्कृत भाषा भनेर पश्चिमाहरुले पढ्ने गर्छन्। सवै भाषाको जननी हो। प्रायः भाषाहरुमा संस्कृत शब्दहरुनै देखिन्छन्। अर्थ भेद छैन छ त केवल उच्चारण भेद।जस्तै "सम" यो शब्दलाई अंग्रेजीमा "सेम" भनियो "ह्लाद" लाई "ग्लाड" भनियो। तेस्तै फ्रेञ्च जर्मन अरवी भाषाहरुमा देखिन्छ। त्यसैले यो विश्वभाषा थियो र सवै भाषाको कारण पनि हो।
यस भाषालाई देववाणी, देवभाषा पनि भनिएको छ " संस्कृतं नाम दैवी वागान्वाख्याता महर्षिभिः" । संस्कृतभाषा लोकभाषा मात्र नभएर देव भाषा पनि हो। व्यापक एवं जीवन्त भाषा- संस्कृत भाषा, आज पनि करोडौं मनुष्यहरुले आफ्नो जीवनमा समाविष्ट गरेको पाईन्छ। नेपाल भारत लगाय अन्यत्र प्रायः राष्ट्रहरूमा वसोवास गर्नेहरुले वैदिक परम्परामा गरिने समस्त धार्मिक कृत्यहरु संस्कृतमा नै गर्छन् । प्रातः जागरण देखि शयन वेला सम्म संस्कृत भाषाद्वारा नै वैदिक कर्म गर्ने गर्छन्।सनातन वैदिक धर्ममा गर्भाधान देखि अन्त्येष्टि पर्यन्त षोडश संस्कार संस्कृतमा नै हुन्छन्। तेसैले संस्कृत भाषा समृद्ध छ। जैन एवं महायानी बौद्धहरुको समस्त विशाल साहित्य संस्कृतमा नै छन् । विचार-विस्तार, भाषण को माध्यम संस्कृत नै हो। "भाष्यते इति भाषा"। भाषा भनेको भावना एवं विचारलाई प्रकट गर्ने साधन हो र संस्कृत भाषा नै प्रथम भाषा हो भन्ने कुरा विभिन्न अनुसन्धानले देखिएको पाईन्छ। अतः संस्कृत भाषा एक जीवन्त र सशक्त भाषा हो।
संस्कृत केवल भाषा मात्र होईन अपितु संस्कृत एक विचार हो, क्रान्ति हो,जीवनी शक्ति हो। संस्कृत नै संस्कृति हो र संस्कार हो। संस्कृतमा विश्वको कल्याण छ, शांति छ, सहयोग सद्भाव छ, "वसुधैव कुटुम्बकम्" को भावना छ।
संस्कृत भाषालाई जान्ने ले स्वयंलाई जान्दछ। साथै भेदभाव आदि संकीर्ण मनस्थितिबाट माथि उठ्ने गर्छ। सम्पूर्ण प्राणिलाई समान व्यवहार गर्न सिकाऊने पूर्वीय दर्शनको संवाहक हो संस्कृत भाषा। त्यसैले आजको द्वैत एवं असमान व्यवहारले भरिएको समाजमा संस्कृत भाषाको महत्व खट्किएको छ। पश्चिमाहरु संस्कृतलाइ जीवनमा उतार्न लागि परेका छन्।
भनिएको छ "--
" जानाति विविधाःभाषाः जानाति विविधाः कला।
आत्मानं नैव जानाति यो न जानाति संस्कृतम्""
अनेकानेक भाषा, कला, आदिमा निपूर्ण हुँदा पनि आफुले आफुलाई जान्न सकिदैन तर संस्कृत जसले जान्यो उसले स्वयंलाई जान्यो।
सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताले भरिएको कारण सर्वश्रेष्ठरुपमा सुशोभित छ संस्कृत भाषा। सर्वाधिक एवं महत्वपूर्ण साहित्यहरुको धनी भएकाले यस भाषाको श्रेष्ठतामा कुनै विवाद छैन।संस्कृत भाषा अन्य भाषाहरुझैं केवल अभिव्यक्ति को साधन मात्र होईन; अपितु यो भाषा मनुष्यको सर्वाधिक सम्पूर्ण विकास को कुञ्जी पनि हो। प्राचीन कालमा संस्कृत भाषालाई देववाणी भनिन्थ्यो। त्यस बखत यो भाषा अव्याकृत थियो र यसमा प्रकृति प्रत्ययको विभाजन गरिएको थिएन। पछि देवराज ईन्द्रले अव्याकृतता र प्रकृति प्रत्ययलाई छुट्याऊन प्रातिपदिक पाठले हुने कठिनाईलाई मध्यनजर गरि प्रकृति र प्रत्यय विभाजन गरि शब्दहरुको उपदेश गर्नुभयो। यसरी अव्याकृतलाई व्याकृत गरेर पुनःसंस्कार गरिएकाले "देववाणी" भाषालाई "संस्कृत" भनिएको हो। अतः संस्कृत केवल स्वविकसित भाषा होईन अपितु संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो।
एक साधारणरुपमा पाकेको दालमा शुद्ध घ्यु जीरा,जीम्बु, ज्वानु, मेथी, हींग,लहसुन हालेर दाल झानिन्छ अनि मात्र त्यसलाई स्वादिष्ट मानिन्छ यानी संस्कारित दाल भनिन्छ। घ्यु जीरा, लहसुन, मेथी ; हींग आदि सवै महत्वपूर्ण औषधिहरु हुन्। यी सवै शरीरको तमाम विकारहरुलाई हटाई पाचन शक्तिलाई तन्दुरुस्त राख्न मद्दत गर्छ।दाल खानेलाई यो थाह हुदैन की मेथी हींग आदि कटु औषधि पनि खाँदै छु भनेर। तर अनायास रुपमै आनन्दले दाल खाँदा खाँदै औषधिहरुको लाभ लिई रहेको हुन्छ । ठीक यसैगरी तदनुरुप संस्कारित भाषा संस्कृतको गुण रहेको छ। योग्य र अनुभवी ऋषि महर्षिद्वारा संस्कारित भाषा हो संस्कृत। पाणिनि कात्यान र पतञ्जली जस्ता महर्षिहरुको कुशलता प्रदर्षित छ संस्कारित भाषामा। यसको प्रमाणिकता विश्वको तमाम भाषाहरुसंग संस्कृत भाषाको तुलनात्मक अध्ययन गर्नेहरुले गरेको उदाहरणले स्पष्ट भै सकेको छ।
उत्तरी अमेरिकाको दक्षिणी भाग मैक्सिको र पनामा राज्यको सीमानाको लगभग 20-22 वर्ष पूर्व अनुसन्धान गरिएको थियो। त्याहाँ अन्वेषण गर्दा एऊटा मानव समुदाय भेटियो। विद्वान् हरुले उनीहरुको शारीरिक रंगको आधारमा श्वेत वर्णको कारण उनीहरुलाई ह्वाईट इंडियन राखे र भाषा विशेषज्ञहरुले उनीहरुको भाषा ब्रोन संस्कृत राखे। यसैले यो सिद्ध हुन्छ जमानामा संस्कृत भाषाको अखण्ड राज्य थियो। बाली द्वीप निवासीहरुको मातृभाषा संस्कृत हो यो कुरा पछिल्लो रिपोर्टद्वारा बुझिन्छ।यस्ता अनेकानेक प्रमाण र अरु भाषा भन्दा शक्तिशाली यस भाषाको अनेक महत्व छ। जसलाई आज कम्प्युटर ,रोवट, रकेट, आदिमा उपयुक्त भनि प्रमाणित गरिएको छ। तर केहि विकृत मानसिकता अंग्रेजीका भूतहरु अझ भनौं अंग्रेजी मानसपुत्रहरु संस्कृतलाई "मृत" भाषा भनेर सम्बोधन गर्ने कु चेष्टा समेत गर्छन्। सूर्य उदाएर उज्यालो छर्दा पनि अन्धकार देख्नु सूर्यको दोष होईन। यो जानी जानी आँखा चिम्लेर आफुले आफैलाई खाल्डोमा हाल्ने चेष्टाले गरिएको नाटक या चलखेल हो र संस्कृत भाषाको महत्व घटाऊने षड्यन्त्र हो। तर बुझ्नेले बुझेकै छन् संस्कृत स्वयं समर्थ, सरस, सरल र अमर भाषा हो।
शारीरिक आरोग्यताको लागि सुयोग्य भाषा हो संस्कृत
जस्तै= अनुस्वार (अं ) र विसर्ग(अ:) संस्कृत भाषाको सबैभन्दा महत्वपूर्ण र लाभदायक व्यवस्था हो अनुस्वार र विसर्ग। पुल्लिंगका अधिकांश शब्द विसर्गान्त हुन्छन् —जस्तै- राम: बालक: हरि: भानु:आदि अनि नपुंसक लिंगका अधिकांश शब्द अनुस्वारान्त हुन्छन्—जस्तै-जलम्, मन्दिरम्, फलम् आदि। मेरो मतलब हो अनुस्वार र विसर्गको उच्चारण मात्रले भ्रामरी र कपालभाति दुवै प्राणायाम हुन्छ। विसर्गको उच्चारणले कपालभाति प्राणायामबाट पाईने लाभ प्राप्त हुन्छ भने अनुस्वारको उच्चारणले भ्रामरी प्राणायामको लाभ अनायास मै हुन्छ । यी दुईको उच्चारण प्रकृया र उपरोक्त प्राणायामको कृया एऊटै हो। त्यसैले संस्कृत भाषाको नियमित उच्चारणले शारीरिक आरोग्यता र स्मरण शक्तिमा बृद्धि हुन्छ भनेर पश्चिमा विज्ञहरुले पनि प्रमाणित गरि स्विकारेका पनि छन्।
त्यसैले आउनुहोस्! हमी सबै मिलेर संस्कृत को उन्नतिमा योगदान गरौं। संस्कृत बिना संस्कृति अधूरो नै रहन्छ। विस्तारै खान-पान, रहन-सहन, लगाई, बोलिचाली, अन्धाधुन्ध अंग्रेजीमय हुँदै गईरहेको छ। उठौं! जागौं! स्वयंलाई जानौं । देश वचाउन कालु पाण्डे भक्ति थापा आदि असंख्य योद्धाहरुले ज्यानको बाजि लगाए अंग्रेज विरुद्ध लडे। अव हामिले पनि देशको देशत्त्व बचाउनका लागि एक दुई घण्टा संस्कृत सिक्न सिकाऊनको लागि समय दिऊँ अघि बढौं।
ॐ अस्तु।卐 जयतु संस्कृतम् 卐।