काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा अहिलेसम्म ११९ दलबाट १२० निवेदन परेका छन् । कुल दर्ता दलको संख्या १४३ पुगेको आयोगले जनाएको छ । पुराना ठूला दल कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपादेखि जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति लगायत सबै सक्रिय दलले भाग लिन निवेदन दिएका छन् । एक महिनाभित्र मात्रै दर्ता भएका २५ नयाँ दलले पनि प्रतिस्पर्धाको तयारी गरेका छन् ।
यसपटक उद्योगी–व्यवसायी, पूर्वप्रशासक, प्राध्यापक, युवा र जेन–जी अभियन्तासहित धेरै समूहका व्यक्तिहरूले नयाँ दल गठन गरेका छन् । हर्कराज राईको श्रम संस्कृति पार्टी, कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको सक्रियता रहेको गतिशील लोकतान्त्रिक पार्टी, तथा दलित समुदाय केन्द्रित हाम्रो पार्टी नेपाल प्रमुख नयाँ शक्ति बनेका छन् ।
त्यसैगरी जेन–जी आन्दोलनका सहभागी र घाइतेहरूको उपस्थितिसहित राष्ट्रिय परिवर्तन पार्टी, जनादेश पार्टी, राष्ट्रिय जनमत पार्टी, नागरिक सेवा पार्टी, समावेशी समाजवादी पार्टीलगायतका दल पनि मैदानमा उत्रिएका छन् । २० मंसिरमा आयोगले छानबिन सकेर दलहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ र सूचीकृत दलले मात्र निर्वाचनमा भाग लिन पाउनेछन् ।