काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि देशभरबाट अध्यक्ष केपी शर्मा ओली पक्षका प्रतिनिधिमात्र चयन भएका छन्।
कुनै जिल्लाबाट ओली इतर पक्षका प्रतिनिधि छानिएका भए, त्यसलाई रोक्न संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले धमाधम पत्र काटिरहेका छन्।
यसको पछिल्लोपटक उदाहरण बनेको छ—ओखलढुंगा जिल्ला। यी स्थानलगायत देशभरबाट ओली इतर पक्षबाट कोही पनि प्रतिनिधि छनोट भएका छैनन्।
ईश्वर पोखरेलको प्रतिनिधि लगभग शून्य बराबर छ।
स्रोतका अनुसार, ईश्वर पोखरेलको हार भीम रावलको भन्दा झनै शर्मनाक हुनेछ। अघिल्लो महाधिवेशनमा ओलीविरुद्ध रावल उठेका थिए।
सबै प्रतिनिधि ओलीकै मात्र आएपछि अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका नेता पोखरेललगायतका नेताहरू भक्तपुरको गुण्डु पुगेर ओलीसँग भेटेर बिन्ति चढाएका थिए।
बिहीबार बिहान पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई ओलीलाई भेट्न पुगेका थिए। भेटमा महाधिवेशन प्रतिनिधि चयनमा देखिएको समस्याबारे ध्यानाकर्षण गराएको ती नेताहरूको भनाइ छ।
एमालेले गत शनिबार देशभर एकसाथ प्रतिनिधि चयन गरेको थियो। दाङ, भोजपुर, ओखलढुंगा लगायतका ठाउँमा ओली पक्षविरुद्ध छानिएका प्रतिनिधि हटाएर पुनः मतदानमार्फत ओली पक्षकै मात्र प्रतिनिधि छनोट गरिएका थिए।
ओलीसमक्ष ती नेताहरूले ‘जालझेल भयो हजुर’ भन्दै राजतन्त्रको पालामा राजा समक्ष बिन्ति विसाएझैँ अनुरोध सुनाएका थिए।
महाधिवेशनमा ओली पक्षले उनको व्यक्तित्वलाई भव्य तुल्याउन अनेक प्रकारका प्रोपोगान्डा तथा प्रचार सुरु गरेको छ।
ओलीको प्रशंसा–युक्त सामग्री महासचिव शंकर पोखरेललगायतका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म, तथा प्रदेश–जिल्लाका नेतादेखि भ्रातृ संगठनका कार्यकर्तासम्मले प्रचार गरिरहेका छन्।
ती सामग्रीमा देशको अस्तित्व जोगाउन केपी ओलीकै नेतृत्व आवश्यक छ भन्ने उल्लेख छ। त्यही आशयका नारासहितका पोस्टरहरू सेयर गर्दै बहुसंख्यक नेता–कार्यकर्ताले सामाजिक सञ्जालको भित्ताहरू रंग्याएका छन्।
उक्त पोस्टरमा नेताहरूले ओलीसँगै आफ्नै तस्बिर समेत राखेका छन्, जसमा नारा लेखिएको छ— ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व।’
ओली समूहले आक्रामक रूपमा प्रचार गरिरहेको अर्को नारा पनि छ, जसमा ‘मान्छेले होइन, माटोले ओली खोजिरहेको’ उल्लेख गरिएको छ।
‘मेरो होइन, माटोकै बोली—फेरि एकपटक केपी ओली’ भन्ने नारा अंकित प्रचार सामग्री पनि ओली पक्षले छ्यापछ्याप्ती वितरित गरिरहेको छ।
महाधिवेशनपछि ईश्वर पोखरेल र उनको समूह पूर्ण रूपमा एमालेबाट अलग हुने सम्भावना देखिएको छ। किनकि महाधिवेशनपछि सम्पूर्ण विरोधीहरूलाई कारबाही गर्न ओलीले सूची तयार गरिरहेका स्रोतले जनायो ।