नयाँ दिल्ली। जहाँ धेरै धर्मको प्रभाव हुन्छ, त्यहाँको समाजमा महिलाहरू — विशेष गरी किशोरी र युवतीहरू — बढी प्रताडित हुन्छन्। भारतमा हरेक सेकेन्ड, हरेक घडी यस्ता घटनाहरू घटिरहेका हुन्छन्। विश्वका धार्मिक मुलुकहरूमध्ये भारत पनि धार्मिक कट्टरता भएको देश हो। भारतमा किशोरी र युवतीहरू कसरी यौन उत्पीडनको सिकार भइरहेका छन् भन्ने विषयमा बीबीसी हिन्दीले तयार पारेको एउटा खोजमूलक सामग्री।
- आशय येडगे
- बीबीसी संवाददाता
ओडिशाको बालासोर जिल्लाको एक गाउँकी २० वर्षीया छात्राले आफ्ना शिक्षकमाथि यौन शोषणको गम्भीर आरोप लगाइन्। उनले आवाज उठाइन्, उजुरी गरिन्, तर जब कसैले केही गरेन, अन्ततः उनले आफूलाई आगो लगाइन्। दुई दिनको संघर्षपछि उनको ज्यान गयो। उनका पिताले भने— “मेरी छोरी शेरकी छोरी थिई। उसले डराइनन्, उसले बोलेकी थिई। तर अब ऊ छैन।”
यो मात्र एक घटनामात्र होइन। यो भारतीय शिक्षण संस्थाहरूमा फैलिएको गहिरो पितृसत्तात्मक सोच, शोषण र मौनताको संकेत हो। बालासोरको उक्त छात्राले आफू पढ्ने कलेजका प्राध्यापकले लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको बताएकी थिइन्। उनले कलेज प्रिन्सिपललाई निवेदन दिइन्। तर, प्रिन्सिपलको जवाफ थियो— “रिपोर्ट त तिम्रै बिरुद्धमा आएको छ।” त्यो जवाफ उनको अन्तिम सहनशीलताको सीमा थियो।
घटनाको केही दिनपछि ओडिशाकै संबलपुरमा अर्की छात्राले प्राध्यापकमाथि यौन शोषणको उजुरी दिइन्। प्रारम्भिक अनुसन्धानपछि ती प्राध्यापकलाई पक्राउ गरियो। कर्नाटकको एउटा निजी कलेजमा दुईजना लेक्चररले छात्रालाई नोट्स दिने बहानामा बोलाएर बलात्कार गरेको, त्यसको भिडियो बनाएर ब्ल्याकमेल गरेको उजुरीपछि उनीहरू पक्राउ परे। दिल्ली, चेन्नई, मुम्बईका प्रतिष्ठित शिक्षण संस्थामा पनि यस्ता घटनाहरू दिनदिनै उजागर भइरहेका छन्।
तर सबैभन्दा पीडादायक कुरा के छ भने — जब पीडित महिलाले आवाज उठाउँछिन्, समाज उल्टै उनैलाई दोष दिन थाल्छ। दिल्ली विश्वविद्यालयकी छात्रा अद्रिका भन्छिन्, “जब हामी उजुरी गर्छौं, तब समाज भन्छ— ‘तिमी नै केही गरिरहेकी थियौ होला।’” उनका अनुसार कलेजका इभेन्टहरूमा, कक्षामा वा क्यान्टिनसम्म पनि छात्राहरू असुरक्षित महसुस गर्छन्।
जेएनयूकी छात्रा अदिती सिंह भन्छिन्, “हाम्रो विश्वविद्यालयमा आन्तरिक उजुरी समिति (ICC) त छ, तर त्यसले पीडितलाई विश्वास दिन सक्दैन। एकछिनलाई मानौँ उजुरी दर्ता भयो, तर तत्कालै प्रमाण मागिन्छ — ‘तिमी कहाँ थियौ? भिडियो छ?’ भनेझैँ गरिन्छ। शिक्षकमाथि लागेको आरोपलाई प्रमाणित गर्न छात्राले आफैं गोप्य रेकर्डिङ गर्नुपर्ने अवस्था आउँछ।”
अझ चुनौतीपूर्ण अवस्था ट्रान्सजेन्डर छात्राहरूको हुन्छ। मुम्बईकी ट्रान्सजेन्डर छात्रा रुशाली दिशा भन्छिन्, “हामीलाई कलेज गेटमै सुरक्षा गार्डहरूले रोकेर सोधपुछ गर्छन्। हाम्रो पहिचानमाथि नै प्रश्न उठाइन्छ। कक्षा पुग्नु अगाडि नै हामी मानसिक रूपमा थाकिसक्छौँ।”
ओडिशाको बालासोरमा आत्मदाह गरेकी छात्राले उजुरी दिएको शिक्षक कलेजमा कायमै थिए। उनलाई छुट्टीमा पठाइएन, विभाग परिवर्तन गरिएन। जब यौन उत्पीडनका उजुरीमा दोषीहरू सजिलै आफ्ना पदमा टिकिरहन्छन्, तब उजुरी गर्ने पीडितहरू डराउँछन् — नतिजा स्वरूप उनीहरू चुप लाग्न बाध्य हुन्छन्।
पूर्व महिला आयोग सदस्य नम्रता चढ्ढा भन्छिन्, “छात्राहरू केही वर्षमै कलेजबाट निस्कन्छन्, तर शिक्षकमाथि कारवाही नगर्दा उनीहरू सधैँको लागि सुरक्षित रहन्छन्। यिनलाई थाहा हुन्छ कि उनीहरूको जागिर स्थायी छ। त्यही कारण उनीहरू डराउँदैनन्, शोषण गरिरहन्छन्।”
UGC का अनुसार, प्रत्येक विश्वविद्यालयमा आन्तरिक उजुरी समिति अनिवार्य छ। तर धेरै कलेजहरूमा यस्ता समिति छैनन्। भएका ठाउँमा पनि अधिकांश छात्राहरूलाई त्यो कहाँ छ, कसरी काम गर्छ भन्ने जानकारी छैन। दिल्ली विश्वविद्यालयकी एक छात्राले भनिन्, “म पीएचडीको तयारी गर्दैछु तर अझै पनि मलाई थाहा छैन कि ICC को कार्यालय कता छ।”
बालासोरको कलेजमा ती छात्राले उजुरी दिएको अर्को दिन मात्र ICC पुनर्गठन गरिएको थियो। त्यसअघि समितिमा छात्र प्रतिनिधि नै थिएनन्। अन्ततः उक्त शिक्षकलाई समितिले क्लिन चिट दियो, र पीडितलाई नै दोषी देखाउने प्रयास गरियो।
अन्तमा उनका पिताले भने— “उनी पीएचडी गर्न चाहन्थिन्। डाक्टर बन्ने सपना थियो। तर उसले न्याय खोज्ने प्रयास गर्दा ज्यान गुमाइन्। अब ऊ ‘मशहूर’ बनिन्, तर यस्तो तरिकाले बनुन् भनेर त चाहेको थिइनँ।”
शिक्षण संस्था सुरक्षा, न्याय र सम्मानको ठाउँ हुनुपर्छ। तर जब प्रणाली दोषीको पक्षमा उभिन्छ र पीडितको आवाज दबाइन्छ, तब शेरकी छोरीहरू पनि चुप लाग्न बाध्य हुन्छन् — र कहिलेकाहीँ सधैँको लागि मौन बनाइन्छन्।
-बीबीसी हिन्दी