उमेरले पचास दशकको नेटो काट्दा राजनीतिलाई पढेर भन्दा भोगेर सिक्नुपर्ने परिस्थिति निर्माण हुन गयो । राणाहरुको शासन र राणा शासनपछिको बहुदलीय प्रजातन्त्रबारे पढियो ।
पञ्चायतलाई जान्ने भएपछि झण्डै १५ वर्ष भोगियो । नेपालमा जति धेरै मान्छे राजनीतिका प्रति जागरुक, उत्सुक र सहभागिता संसारका कमै देशमा होला तर दुर्भाग्य पटक–पटक परिवर्तन गरिएका तन्त्रहरुले मुलुक र नागरिकका लागि कहिल्यै न्याय गरेनन् ।
पछिल्लो पटकको परिवर्तन २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नामको ब्यवस्था चलिरहेको छ या घिस्रिरहेको छ ।
राजाको बहिर्गमन
संसारका धेरै देशमा मुलुक राजतन्त्रबाट गणतन्त्रमा जाँदा ठूलो रक्तपात र हिंसा भएका ईतिहास हामीले पढेका र सुनेका छौं ।
नेपालमा माओवादी हिंसात्मक आन्दोलनपछि भएको ०६२-०६३ शान्तिपूर्ण आन्दोलन ०४७ सालको संविधान अन्तरगतको राजाद्वारा भंग गरिएको प्रतिनिधि सभा राजाद्वारा नै पुनस्थापना गरिएको थियो । राजाले पुनर्बहाली गरेको संसदले नै राजालाई विदागरि देशमा गणतन्त्र भन्ने (यथार्थमा संविधानको कागजमा बाहेक कहिंकतै गणतन्त्र भेटिएन ) व्यवस्था लागु गर्यो ।
२४० वर्षदेखि कायम रहेको राजतन्त्रका अन्तिम भनिएका राजा सौहाद्र तरिकाले पत्रकार सम्मेलन गरेर जनताको नाशो श्रीपेच र राजदण्ड बुझाएर हाँसी हाँसी आफै गाडी हाँकेर गद्दी र दरबार त्याग गरे ।
संवैधानिक राजतन्त्रबाट गणतन्त्र जाने व्यवस्था परिवर्तन हुँदा जनअभिमत आवश्यक होला भनेर कसैले सोचेनन् । पहिलो र दोश्रो संविधानको चुनाव पछि कस्तो संविधान बनाउने हो भनेर देशको विभिन्न स्थानका नागरिकहरुसँग सुझाव मागिए ।
बोरा का बोरा सुझावहरु आएका भएपनि ठूला दलका नेताहरुले एउटै बोरा पनि खोलेर जनताको सुझाब हेरेनन् । खास गरेर राजतन्त्र, धर्म निरपेक्षता र संघीयताको बिषयमा जनता विपक्षमा थिए ।
जनताका प्रतिनिधीले संविधान बनाउने भनिए पनि यथार्थमा ५–७ वटा दलका करिव एक दर्जन नेताहरु, सनातन हिन्दुधर्मलाई समूल नष्ट गर्ने उद्देश्यले डलरको खोलो बगाउनेहरु र मुठ्ठीभर राष्ट्रविरोधी तत्वहरुकै सक्रियतामा संविधान जारि गरियो ।
ऐले जे सुकै भनेपनि संविधान लागु भएकै दिन संविधान मस्यौदा समितिका संयोग बाबुराम भट्टराईले संविधानकाप्रति असन्तुष्टि पोखेका थिए ।
शदियौंदेखि चलेको राजतन्त्रलाई विभिन्न तरिकाले बदनाम गरिएको थियो । राष्ट्रको धन राजा र दरबारियाहरुको निमित्त संचित गरेक विदेशमा धन थुपारेको आदि ।
गणतन्त्रपछि राजाको सम्पति राष्ट्रियकरण गरिने, विदेशमा लुकाएर राखेको धन फिर्ता गरिने र राजालाई मुद्दा चलाइने जस्ता अफवाहहरु फैलाइएको थियो ।
संसारका धेरै देशमा सत्ता उलटपुलट हुँदा तानाशाहहरु भागेर अरु देशमा शरण लिएको देखिएको छ । हाम्रै छिमेकी देश श्रीलङ्का र बंगलादेशमा जनआन्दोदन पश्चात सत्ताधारीहरु रातारात भागेर विदेश पलायन भए ।
ती तानाशाह दरबारहरु तोडफोड मात्र गरिएन सोफा, कुर्सी, टेलिभिजन फ्रिज समेत आक्रोसित भीडले बोकेर हिंडेको देखियो । तर नेपालका नागरिकले राजालाई सधै सम्मान गरिरहे ।
दशैंमा राजाको हातको टीका थाप्नु, भ्रमणका बेला जयजयकार गर्नु र राजा जहाँ–जहाँ जान्छन् त्यहाँ शुभचिन्तक र समर्थकहरुको भीड लाग्नुले राजाको लोकप्रियता बढ्दै गएको संकेत गर्दछ ।
यस्को विपरित राजा हटाएर सत्तासिन भएका दलहरुका नेता कडा सुरक्षा र आफ्ना भरौटेहरुको घेरा बाहिर जानै नस्कने भए । नेताहरुले कतै जुत्ता भेटे कतै गालामा चड्कन त कतै ढुङ्गामुढा ।
बितेको १७ बर्ष हामीले अनुभूति गर्यौं जति जति दलका नेताहरु भ्रष्टाचार, सरकारी जग्गाहरुको अपचलन, संवैधानिक निकायहरुमा हस्तक्षेप र दलालहरु पक्षपोषणमा लाग्दै गए उति नै दलका नेताहरु बदनाम हुँदै गए । फलस्वरुप राजा झन लोकप्रिय हुँदै गए ।
कस्लाई देशमा गणतन्त्र आयो ?
दलका नेताहरु भनिरहेका छन्,‘गणतन्त्र उन्नत ब्यवस्था हो यस्को विकल्प छैन ।’
निश्चय नै गणतन्त्र उन्नत व्यवस्था त हो, तर त्यो व्यवस्था कहिल्यै आएन । राजालाई हटाएर हजारौंलाई राजा बनाउने व्यवस्था कसरी गणतन्त्र हुन्छ ?
सरकारी जग्गा हडप्ने, राष्ट्रको निमित्त गरिएका खरिदहरु लाख करोड होइन, अर्बौं कमिसन खाएर देशलाई टाटपल्टाउने व्यवस्थाको नाम गणतन्त्र राख्दैमा हुन्छ ?
प्लेन किन्यो कमिसन, प्रिन्टिङ मेसिन किन्यो कमिसन, सञ्चार उपकरण किन्यो कमिशन, लाइसेन्स छाप्न कमिसन, परिचयपत्र बनाउन कमिसन ।
कमिसनले मात्र पुगेन सरकारी जग्गा बाँसबारी, गोकर्ण, गिरिबन्धु, टिकापुर लगायत देशका हरेक ठाउँका महत्वपूर्ण जग्गाहरु लाजै नमानेर मन्त्रिपरिषदले दलालहरुलाई दिने व्यवस्था कसरी गणतन्त्र हुन्छ ?
सभामुख, प्रधानमन्त्री, उपराष्ट्रपति, उपप्रधानमन्त्रीहरु नै सुन र मानव तस्करीमा खुलेयाम संलग्न हुने व्यवस्थाको नाम गणतन्त्र हो भने यस्तो गणतन्त्र किन चाहियो र ?
तसर्थ आम नागरिकमा यो भ्रम हुन जरुरि भएन कि गणतन्त्र धरापमा पर्यो यथार्थमा गणतन्त्र आएकै होइन । जनताको रगत पसिना लुटेर मुठ्ठिभर नेताहरु पाल्ने व्यवस्था गणतन्त्र हुनै सक्दैन ।
गणतन्त्रका नेताहरुको चरित्र
राष्ट्रपतिका छोरा बुहारी बेलायतको राजधानी लण्डनमा ४–४ वटा घर बनाएर उतैको नागरिक हुने । उपराष्ट्रपतिले कुनै छोरालाई सुन तस्कर बनाएर करोडौको महल बनाउने ।
उपप्रधानमन्त्री भैसकेका व्यक्तिहरु मनवतस्करीमा जेल पर्नु, विगतमा हिंसात्मक जनविद्रोहको नेत्रृत्व गरेका, गणतन्त्रमा सभामुख बनेका व्यक्ति रक्सीको बोतल लिएर रातीमा परस्त्रीको घरबाट पक्राउ पर्नु, उनकै छोरा सुनतस्करीमा संलग्न हुनु । कस्तो चरित्र हो यो ।
अर्थमन्त्री भएका व्यक्तिले छोराछोरीलाई अमेरिकामा सेट गर्नु अनि कालोधन विदेश पठाउनु, गणतन्त्रको नायक भनिएका नेताले आफ्नो नातिनीको विहेमा दशौं करोड खर्च गर्नु । गणतन्त्रका नेताहरुको के गुण हो यो ।
पूर्व राष्ट्रपतिहरुले काठमाडौँमा आफ्नो घर हुंदा हुँदै राज्यबाट बार्षिक करोडौं रकम लिनु लगायतव विषयले नेताहरुमा आर्थिक, सामाजिक, नैतिक र मानवीय चरित्र नभएको स्पष्ट हुन्छ ।
त्यस बाहेक वडा सदस्य सहित झण्डै चालीस हजार जनप्रतिनीधी, प्रदेशका हजारौं सांसद तथा सयौं मन्त्री आम जनतालाई लुटेर पाल्नुपर्ने हदैसम्मको अपराध यो व्यवस्थाले नागरिकलाई थोपरेको छ ।
वार कि पारको सम्झौता
नेपालमा कुनै पनि व्यवस्थाको परिवर्तन एक पक्षले पूर्ण रुपमा जित्ने र अर्को पक्षले हार्ने अवस्थामा भएको छैन ।
राजसंस्था मान्ने शक्तिहरुले आन्दोलन परिचालन समितिनै बनाएर अघि बढेका छन् । १० वर्षमा देशलाई दक्षिण एसियामा सबैभन्दा धनी बनाउँछौ भन्ने गणतन्त्रका नेताहरुका लागि लज्जाको बिषय हो ।
धनीहरुसँग कर लिएर आम गरीब जनताका आधारभूत आवस्यकताहरु पूरा गरेको भए, संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी आवास र भोजन कम्तिमा सबैभन्दा कमजोर वर्ग पहिचान गरेर पूरा गर्दै गरेको भए, सबै दलका शिर्ष नेताहरु कुनै न कुनै अपराध अनि भ्रष्टाचारमा संलग्न नभएको भए व्यवस्थाको विकल्प खोज्न जरुरी थिएन ।
राजनीतिको अपराधीकरण, भ्रष्टिकरण र सबै दलमिलेर सञ्चालन गरिएको दलीय लुटतन्त्रले सीमा नाघेको हुनाले यो अवस्था सृजना भएको हो ।
गलत तरिकाले राज्य सञ्चालन गरेकाले देशलाई वाह्यरुपमा ग्रे लिस्टमा पारियो भने आन्तरिक रुपमा दैनिक खर्च टार्न वार्षिक खरब बढि ऋण लिनपर्ने अवस्थामा पुर्याइयो । यो तरिकाले अब मुलुक रहनु हुँदैन ।
सम्पूर्ण राज्य संयन्त्रहरु पक्षघातको अवस्थामा गएकोले सिघ्र सघन उपचार अत्यावश्यक छ । त्यसको लागि कि वार कि पारको तनाबपूर्ण संघर्ष या सम्झौता समाधानको बाटो हुन सक्छ ।
राजगद्दीबाट च्युत गरिएपछि राजा लामो समय ‘पर्ख र हेर’ को अवस्थामा थिए । अहिले उनले दलहरुसँग विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने र मिलेर जाने मुडमा भएकोले आन्दोलन परिचालन गर्ने समिति बनाएका छन् ।
आन्दोलनलाई दबाउने, शक्ति प्रदर्शन गर्ने या आन्दोलनरत शक्तिलाई नजरअन्दाज गर्ने गरेमा मुलुक थप संकटमा पर्ने संभावना रहन्छ तसर्थ फेरि एकपटक वार्ता र संवाद होस् ।
संविधानको संशोधन उपयुक्त विधि
वर्तमान गठबन्धन सरकारको भित्रि उद्देश्य जेसुकै भएपनि राजनीतिक स्थिरता र समृद्धिको निमित्त संविधान संशोधन गर्ने कुरा आवरणमा सुनिएको बिषय हो ।
स्थानीय तहका हजारौं तलबी जनप्रतिनिधी, जिसस, राष्ट्रिय सभा र प्रदेश संरचना देशले थेग्न सकेन । महंगो चुनाब र ४०–५० हजार भोट ल्याएर एउटा चुनाव क्षेत्रबाट जितेको व्यक्ति प्रधानमन्त्री र सांसदहरु मन्त्री बन्ने विधिले नीतिगत भ्रष्टाचार बढायो ।
अबको संविधान संसोधनमा राष्ट्रपतिको ठाउँमा संबैधानिक राजा, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री, प्रदेशहरुको खारेजी जस्ता कुरा हुन सके भने आन्दोलन सम्झौतामा टुङ्गिने र आन्दोलनबाट हुने जोखिमहरुबाट मुलुक जोगिन सक्छ ।
स्व.विपि कोइराला, स्व.मदन भण्डारी, स्व.कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरुले गणतन्त्रबारे नपढेका थिए होला र ?
हाम्रो गणतन्त्रको आगमन, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्या आदि कुराहरुबारे यथार्थ विवरण नआएपनि धेरथोर कुराहरु सतहमा आइरहेका छन् । राजा पनि यो देशकै नागरिक हुन् ।
गद्दी च्युत हुँदा पनि मुलुकबारे चिन्तित छन् । उनलाई पनि राष्ट्रनिर्माणको अभियानमा समेटेर जाँदा के पो नराम्रो होला र ? बरु भविस्यमा पाल्नुपर्ने पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिहरुको भार त कम होला ? अब अग्रगमन पश्चगमन जस्ता गफ नगरी निषेधको राजनीतिलाई त्याग्ने बेला भयो ।
अन्तमा–
संसारका सबै तन्त्रहरु असल नियतका साथ चले भने नागरिक खुशी हुन्छन् र मुलुक समृद्ध हुन्छ भन्ने उदाहरण हामीले देखेका छौं ।
लग्जम्बर्ग, नर्बे, डेनमार्क, स्वीट्जरल्याण्ड बेलायत जस्ता देशहरुमा संवैधानिक राजा भएर पनि देश संसारकै उदारण बनेका छन् ।
मध्यपूर्वका थुप्रै देशमा सक्रिय राजा छन् नागरिकको हितमा उनीहरुले काम गरेका छन् । जापान, कोरिया अमेरिका, चीन जस्ता देशहरुमा फरक–फरक व्यवस्था भएर पनि आम नागरिक खुशीसुखी र मुलुकहरु समृद्ध छन् । तसर्थ व्यवस्था साधन होइन रहेछ, सत्तामा बस्नेहरुको सफा नियत पवित्र उद्देश्य हुनुपर्ने रहेछ ।
अब गणतन्त्र पक्षधरलाई चेत आओस,‘कुन–कुन शक्तिसँग झगडा गर्ने र शत्रुवत सम्बन्ध उत्पत्ति गर्ने ?’ कुनसँग मित्रवत सम्बन्ध कायम गर्ने ? समाधान त्यो हो, सबै शक्तिलाई मिलाएर लाने र मिलेर जाने अनिवार्य दुरदृष्टि ।
(लेखक अर्याल राजनीति र सामाजिक विषयमा कलम चलाउने गर्छन् ।)