काठमाडौँ । चरम भड्काव गतिविधिमा संलग्न विवादित व्यक्ति दुर्गा प्रसाईंको इन्डियन कुख्यात अपराधी लरेन्स विश्नोई समुहसँग सम्बन्ध रहेको केही प्रमाणहरु बाहिर आएका छन् । नेपाल प्रहरीले ती प्रमाणहरु अनुसन्धान गरिरहेको छ ।
नेपालमा धार्मिक भड्कावका कार्यक्रम गर्न र इन्डियाको संस्थापन पक्षको अतिवादमा समाहीत गराउन विगत केही वर्षदेखि प्रसाईं समुहले विभिन्न धार्मिक यात्रा गर्दै आएको थियो ।
पछिल्लो पटक कमजोर वर्गलाई उचालेर प्रसाईं समुहले वित्तिय क्षेत्र र उद्योगहरुमा आतंक सृजना गरिरहेको थियो ।
प्रसाईं अहिले (मंसिर ४ गतेदेखि ) थुनामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको अपुष्ट खबर बाहिर ल्याएर उनी पक्राउ परेका थिए ।
उनै प्रसाईंले शुक्रबारको बयानमा आँफूले गल्ति गरेको उक्त भिडियो र प्रमाण नक्कली रहेको प्रहरी समक्ष स्वीकारेका छन् ।
प्रसाईं त्यस्ता व्यक्ति हुन् जस्ले मारवाडी समुदायको विरोध गरे जस्तो देखाउने तर इन्डियाका अतिवाद धार्मिक समुहसँग मिलेर नेपालमा सामाजिक सद्भाव खल्बलाउने अभियानमा सक्रिय रहेका छन् ।
उनका हरेक कार्यक्रममा इन्डियन धार्मिक व्यक्ति , बाबा र अपराधी पृष्ठभुमिका नेपाल तथा इन्डियाका धार्मिक अतिवादी व्यक्ति अतिथि हुने गर्छन् ।
धर्म, राष्ट्र, राष्ट्रियता जोगाउने भन्दै सामान्य नागरिकलाई भ्रम पैदा गरेका दुर्गा प्रसाईंका गतिबिधिले पछिल्लो पटक आमनागरिक, व्यवसायी, उद्योगी, प्रशासनिक व्यक्ति, प्रहरी, राजनीति क्षेत्र र नीजि क्षेत्रले हैरानी व्यहोरिरहेको थियो ।
के हो प्रसाईंको विश्नोई समुहसँगको सम्बन्ध ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्रबार एकजना व्यक्ति पक्राउ गरेको छ ।
विगतमा अपराधमा संलग्न ती व्यक्तिका गतिबिधि इन्डियाको अपराधी विश्नोई समुहसँग रहेको प्रहरीले पुष्टि गरेको छ ।
हो तिनै व्यक्ति नेपालमा धर्मका नाममा विश्नोई र प्रसाईं समुहको समन्वयात्मक भुमिकामा देखिएका छन् ।
उनी हुन्, झापा घर भएका नविन प्रधान भन्ने हरिचन्द्र फूयल । सीआईबीको प्रारम्भिक अनुसन्धानमै यी व्यक्तिले दुर्गा प्रसाईंको निर्देशनमा विभिन्न व्यक्तिलाई इन्डियामा बसेर धम्क्याउँदै आएको देखिएको छ ।
सीआइबीको विज्ञप्ति
उनले इन्डियामा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ ।
फुयल पक्राउ गर्न नेपाल प्रहरी नेपाल–इन्डिया सिमानास्थित पानी ट्याङ्कीमा पुगेको थियो ।
फुयलले नेपालमा विभिन्न व्यक्तिलाई दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे मार्ने धम्की दिंदै आएका थिए ।
यी फुयल दुर्गा प्रसाईंले परिचालन गरेका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार, नेपाल र इन्डियामा प्रसाईंले यस्ता आपराधिक गतिबिधिमा लगाएका दर्जनौं व्यक्तिहरु रहेका सुचना प्राप्त भएका छन् ।
इन्डियन कुख्यात अपराधी विश्नोईको नाममा नेपालका व्यवसायीहरुलाई धर्म र धन्दाको विषय जोडेर सयौं फोनहरु तारन्तार आइरहेका छन् । पछिल्लो पटक मात्र यस्ता धम्कीपूर्ण १४१ फोनहरु आएको प्रहरीले जनाएको छ ।
इन्डियन कुख्यात अपराधी लरेन्स विश्नोईको नाममा आएका धम्कीपूर्ण फोनको बारेमा अनुसन्धान गरिपाउँ भनि सीआइबीमा उजुरीहरु परेका छन् ।
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा इन्डियाबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’ उनको इन्डियन धार्मिक अतिवाद संघ संगठनसँग सम्बन्ध रहेको संकेत राष्ट्रिय समाचार डटकमले गरिसकेको थियो । इन्डियन फण्डिङ पछि प्रसाईंका फोन कल आदिबाट यसको पुष्टि सीआइबीले पनि गरिसकेको छ ।
फोन गर्नेहरूले दुर्गा प्रसाईंलाई सहयोग नगरे हिन्दु धर्मको पक्षमा नलाग्ने व्यक्तिहरु र विभिन्न व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् ।
हरेक धम्कीपूर्ण फोनहरुमा लरेन्स विश्नोई, दुर्गा प्रसाईं र हिन्दु धर्म मात्र जोडिएका विषयहरु छन्, सीआइबी स्रोतले राष्ट्रिय समाचार डटकमसँग भन्यो । यी सबै विषयहरुको आधिकारिक जाँच र अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।
को हो लरेन्स विश्नोई ?
पछिल्लो पटक यही असोज २६ गते राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) नेता र महाराष्ट्र राजनीतिमा चर्चित ६६ वर्षिय बाबा सिद्दिकीको हत्या गर्ने यही विश्नोई समुह हो । यो विषय इन्डियन प्रहरीले पुष्टि गरिसकेको छ ।
मुम्बई प्रहरीले सिद्दिकीको हत्यामा तीन शूटर संलग्न रहेको पुष्टि गरेको छ । उनीहरू लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित रहेको प्रमाणित भएको छ ।
लरेन्स विश्नोई विरुद्ध करिब ५० वटा आपराधिक मुद्दा दर्ता छन्। प्रहरीका अनुसार अधिकांश घटना लरेन्सले जेलभित्रैबाट गराएका हुन् । उनीमाथि प्रख्यात पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याकोे आरोप लागेको छ ।
३३ वर्षीय लरेन्स बिश्नोईमाथि हत्या, चोरी–डकैती र एक व्यक्तिमाथि जानाजानी आक्रमणको आरोपहरू छन्। यी मामिलाहरू पञ्जाब, दिल्ली र राजस्थानमा दर्ता भएका छन्।
पञ्जाबको फाजिल्काको धत्तरानवाली गाउँमा जन्मिएका बिश्नोई परिवारका लरेन्सको नाम पनि चासोको विषय बनेको छ । प्रहरी रेकर्ड अनुसार लरेन्स बिश्नोईको वास्तविक नाम सतविंदर सिंह हो।
लरेन्स बिश्नोईका बुबा लविन्दर सिंह हरियाणा पुलिसमा कन्स्टेबल थिए। उनले सन् १९९२ मा जागिर सुरु गरे पनि पाँच वर्षपछि स्वैच्छिक अवकाश लिएर खेती गर्न थाले ।
लरेन्सले पञ्जाबको अबोहरबाट १२ कक्षा पढेका थिए र थप अध्ययनका लागि २०१० मा चण्डीगढ पुगेका थिए।
सन् २०११ मा उनले चण्डीगढको डीएभी कलेजमा भर्ना भए । यहीँबाट उनी विद्यार्थी राजनीतिमा पनि प्रवेश गरे । बिस्तारै उनले विद्यार्थी राजनीतिमा चासो लिन थाले र यहीँ गोल्डी बरारसँग मित्रता भयो ।
विदेशबाट लरेन्स बिश्नोई गिरोहका लागि काम गर्ने र एक हिसाबले गिरोहको व्यवस्थापन गर्ने सोही गोल्डी ब्रार रहेको बताइएको छ । लरेन्स आफैँले २०११–२०१२ मा पञ्जाब विश्वविद्यालय विद्यार्थी संगठन (एसओपीयू) गठन गरे र यसको नेता बने।
लरेन्स पञ्जाब, हरियाणा र राजस्थानका धेरै भागहरूमा बसोबास गर्ने बिश्नोई समुदायका हुन्। लरेन्स बिश्नोईको विद्यार्थीकालमा स्कूल र कलेजमा साथमा रहेका अन्य विद्यार्थीहरूले उनी पञ्जाबी, बागरी र हरियाणवी भाषाहरू जान्ने बताउँछन्।
लरेन्स बिश्नोईको विद्यार्थी जीवनको अन्त्यमा हत्याको प्रयासमा संलग्न भएको आरोपमा पहिलो मुद्दा दर्ता भएको थियो। यो घटना सन् २०११–२०१२ को हो।
त्यसपछि विद्यार्थी राजनीतिमा पराजय भोगेपछि आक्रोशित लरेन्सले सहकर्मी विद्यार्थी नेतामाथि गोली प्रहार गरे । उक्त घटनापछि दर्ता भएको मुद्दामा पहिलो पटक प्रहरी एफआईआरमा लरेन्सको नाम उल्लेख गरिएको थियो ।
लरेन्सलाई सन् २०१४ मा राजस्थानमा पहिलो पटक पक्राउ गरी भरतपुर जेल पठाइएको थियो । उनलाई मोहाली (पञ्जाब) लैजाँदै गर्दा प्रहरी हिरासतबाट भागेका थिए ।
उनी सन् २०१६ मा पुनः पक्राउ परेका थिए । सन् २०२१ मा उनलाई महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्टको मुद्दामा सुरक्षाको कारणले तिहाड जेलमा ल्याइएको थियो।
तिहाड ल्याउनुअघि उनलाई पञ्जाबको भटिंडा जेलमा राखिएको थियो ।
सन् २०२२ मा, पञ्जाब प्रहरीले उनलाई (जेलबाटै) सिद्धु मूसेवाला हत्या प्रकरणमा पक्राउ गर्यो।
पञ्जाब प्रहरीले लरेन्स ‘ए’ श्रेणीको ग्याङ्गस्टर भएको बताएको छ । यस श्रेणीको अर्थ यस्तो अपराधी धेरै गम्भीर अपराधमा संलग्न व्यक्ति भन्ने बुझिन्छ। इन्डियामा लरेन्स कुख्यात अपराधीमा दर्ज छन् ।
सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि चलचित्र नायक सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो ।
सन् २०२२ मा गुजरात एन्टी टेररिस्ट स्क्वाडले लरेन्सलाई लागु औषध तस्करी मुद्दामा नाम दिएको थियो। यो मामला कच्छमा पाकिस्तानी जहाजबाट लागु औषधको ठूलो खेप जफतसँग सम्बन्धित थियो।
प्रहरीले उक्त खेपमा लरेन्सको हात रहेको आशंका गरेको थियो । त्यसपछि गुजरात प्रहरीले लरेन्सलाई दिल्लीको जेलबाट निकालेर २३ अगस्ट २०२३ मा गुजरातको साबरमती जेलमा लगेको थियो।
लरेन्समाथि हत्या, डकैती र आक्रमणलगायत अन्य धेरै आरोपहरू छन्। गुन्डा नाइके विश्नोइ अहिले इन्डियाको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् ।
उनीविरुद्ध पञ्जाब, दिल्ली र राजस्थानमा दर्जनौँ मुद्दा दर्ता छन् तर प्रहरीका अनुसार लरेन्सलाई चारवटा मुद्दामा दोषी ठहर गरिएको छ।
लरेन्स बिश्नोईविरुद्ध हाल २२ मुद्दा विचाराधीन छन् भने उनीविरुद्ध ७ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।
बिश्नोईको गिरोहमा करिब ७ सय सदस्य रहेको बताइएको छ ।
सामान्यतया अपराधी अपराध गरेपछि प्रहरी र कानुनबाट लुकेर बस्छन् । विश्नोई इन्डियन हिन्दु अतिवाद समुहसँग मिलेर काम गर्ने इन्डियाकै संचारमाध्यमहरुका हेडलाइन बनिरहेका छन् ।
खासगरि बिजेपी र उनको शिर्ष नेताहरुको संरक्षणका कारण लरेन्स विश्नोई जेलमा बसेर पनि बाहिर आपराधिक गतिबिधिलाई जारी राखेका आशंका इन्डियन संचारमाध्यमले गर्दै आएका छन् । अपराधीलाई कसरी बिजेपीले जोगाउँछ ?
नेपालमा पनि थुनामा रहेका दुर्गा प्रसाईंले बाहिर चिठी पठाएर सामाजिक संजालमा भडकाव सन्देश फैलाउने प्रयास गरेका थिए ।
थुनामा रहेकैबेला एक दिन त उनले भडकावजन्य सामग्री बाहिर पुर्याएका थिए । तर, प्रहरीले प्रसाईंको यो हर्कतमा रोक लगाइदिएको छ ।
प्रसाईं समुहको चलखेल खतरनाक
प्रधानमन्त्री ओलीको चीन भ्रमण रोक्न दुर्गा प्रसाईंलाई इन्डियाले प्रयोग गरेको सूचना आएका थिए ।
मंसिर ७ गते प्रसाईं समुहले भड्काव सभा गरेर त्यहीबाट नेपालको आन्तरिक राजनीतिक अवस्था कमजोर भएको प्रमाणित भएको नेपाल बाहिर खबर पठाउने तयारी थियो ।
चीनलाई नेपालको राजनीतिक क्षेत्र विभाजित भएको सन्देश दिन र कुनै पनि सम्झौता नगर्न योजनामा प्रसाईं समुह थियो । यो तयारी पूर्व नै प्रहरीले प्रसाईंलाई पक्राउ गरेर इन्डियाको योजना तुहाइदिएको छ ।
प्रसाईंले कहिले पूर्व राजा ज्ञानेन्द्रलाई उपयोग गर्ने प्रयास गरे । कहिले विभिन्न राजावादी समुहलाई । ज्ञानेन्द्र शाह भने प्रसाईंको नियत बेलैमा बुझेर पछाडि हटे ।
त्यसपछि उनले मधेशका कमजोर र विपन्न वर्गलाई उपयोग गर्न थाले । प्रसाईंले हरेक सभा गर्दा राजधानीमा मधेशबाट कमजोर परिवारका मानिसहरु उतार्ने गर्छन् ।
केही दिनअघि प्रसाईंको साथ र घरबाट बरामद गरिएका ल्यापटप अनि मोबाइलबाट इन्डियाका धार्मिक अतिवादसँगको कनेक्सन, नेपालको सामाजिक सद्भाव भड्काउने विभिन्न योजना, आपराधिक व्यक्तिहरुसँगको सम्बन्ध र इन्डियन कुख्यात अपराधी लरेन्स विश्नोईसँगको सम्बन्धका प्रमाणहरु फेला परेका प्रहरीले जनाएको छ ।
प्रसाईं अस्पताल पनि चलाउँछन् । यसैको आवरणमा उनी सधैंभर झापादेखि भक्तपूरसम्म सामजिक खलल पुर्याउने कार्यक्रम गरिरहन्छन् ।
उनलाई अहिले साईबर अपराध, गैरकानुनी सम्पति आर्जन, आपराधिक समुहसँगको सम्बन्ध, संगठित अपराध, सामाजिक सद्भाव खलल पार्ने लगायतमा अनुसन्धान भइरहेको छ ।
यसअघि उनी गत असोजमा पनि पक्राउ परेका थिए । त्यतिबेला अनेक बहाना देखाएर मुक्त भएका थिए ।
बाहिर आउने वित्तिकै इन्डियन आपराधिक समुहसँग जोडिन थाले र उस्तै शैली अपनाउन सुरु गरे । यसपालि भने प्रसाईंलाई पुर्पक्षकै लागि जेल चलान गरेर अनुसन्धान गर्ने तयारीमा प्रहरी पुगेको छ ।
प्रसाईंले कम्योडियामा प्रधानमन्त्री ओलीको कथित लगानीबारे अपुष्ट भिडियोमा व्यक्त सामग्री नक्कली भएको स्वीकारेका छन् ।
उक्त भिडियो सार्वजनिक गर्न उक्साउने विभिन्न व्यक्तिहरु (इन्डियन, नेपाली भ्लगर ) का नाम प्रहरी समक्ष पोलीसकेका छन् ।
(समाचार स्रोतः नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो, बीबीसी हिन्दी, टाइम्स अफ इन्डिया लगायत)