काठमाडौँ । इन्डियाको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी छिन् । विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ ।
बारा सिम्रौनगढकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।
‘करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दुतावासले भनेको छ,‘विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावासलाई प्रारम्भिक विवरण जानकारी गराएको छ । थप बुझ्ने प्रयास भइरहेको छ ।’
विश्वविद्यालयका एक विद्यार्थीले भनेका छन्,– ‘अहिले प्रहरीको तीनचार वटा गाडी आएका छन् । समर भ्याकेसन भएकाले धेरैजसो विद्यार्थी घर गएका छन् । फस्र्ट इयरका विद्यार्थीको भने परीक्षा चलिरहेको छ । मृतक पनि बिटेक फस्ट इयरकै विद्यार्थी हुन् । घटनास्थल प्रहरीको नियन्त्रणमा रहेकाले हामीले थप जानकारी पाएका छैनौं । बुझ्ने कोसिस गर्दै छौं ।’
यसैगरि, इन्डियाको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेको घटनामा परराष्ट्र मन्त्रालयले इन्डिया सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ ।
वीरगन्जकी ती छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।
गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाले यसबारे शुक्रबार बिहान जानकारी गराएकी हुन् । मृत फेला परेकी नेपाली छात्रा प्रिसा साह रहेको र उनी आफ्नै होस्टेलको कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको समेत उनले बताएकी छन् ।
सामाजिक सञ्जाल एक्समा मन्त्री राणाले लेखेकी छन्, ’प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
अघिल्लो पटक इन्डियामा भएको लम्सालको मृत्यू निष्पक्ष छानविन नभएकोले पुनः अर्को घटना घटेको धेरैले आशंका गरेका छन् ।