काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा टिकापुर घटनाका अभियुक्त रेशम चौधरी आज बुधबार पाँच घण्टा थुनामा बसेर मुक्त भएका छन् ।
चौधरीलाई राष्ट्रपतिले दिएको कैद मिनाहा विरुद्धको रिट अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
बुधवार शाखा अधिकृत महिमान सिंह विष्टले रेशमलाई पक्राउ गरेर थुनामा राख्न कारागार कार्यालय डिल्लीबजारलाई सम्बोेधन गरेर पत्राचार गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर डिल्लीबजारमा बुझाएको थियो ।
१२ बजेर ५० मिनेटमा पक्राउ परेका चौधरी झण्डै ५ घण्टापछि कारागारबाट छुटेका छन् ।
रेशम चौधरी फौजदारी अभियोग मुद्दा झेलेका व्यक्ति हुन् । नेपालको परिमार्जित कानुन र निर्वाचन ऐन अनुसार फौजदारी अभियुक्त र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएपछि राजनीति गर्न बन्देज रहेको छ ।
रेशम चौधरीमाथि २०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा हिंसात्मक काम गर्न प्रोत्साहित गरेको अभियोग छ । उक्त घटनामा ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो ।
कैलालीको टिकापुरमा भएको घटनामा चौधरीलाई सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो । त्यो फैसला कार्यान्वयनका लागि जेलमा रहेका बेलामा सरकारले उनलाई आममाफी दिएपछि छुटेका थिए ।
चौधरीलाई राष्ट्रपतिले आममाफी दिने बाहेक अदालतले कुनै पनि निर्दोष, क्लिन चिट र गैरअपराधीको अन्तिम फैसला सुनाएको छैन ।
पीडितका तर्फबाट दायर गरेको रिट अनुसार उनको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको छ ।