काठमाडौँ । रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले भने लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग गरेको थियो ।
रास्वपा सभापति तथा पुर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले हिरासत अबधि बढाउन माग गरेपछि अदालतले यो सुविधा दिएको हो ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धानका लागि १० दिन अझै हिरासतमा राख्न समय दिएको कास्की जिल्ला अदालतको सूचना कार्यालयले जनाएको छ ।
आज मंगलबार लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो ।
त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।
सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । तर, पोखराका रैथानेबासी खासै सहभागी छैनन् ।