काठमाडौं । बागमती प्रदेश सरकार निर्माणमा राप्रपाको समर्थन रहेको भन्दै प्रकाशित समाचारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गम्भीर आपत्ति जनाउँदै त्यस्ता समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।
राप्रपाले सरकार निर्माणको नाममा हुने कुनै पनि गणितीय चलखेलमा पार्टी सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको जनाएको छ। गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यक अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो।
त्यसैगरी, भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न स्पष्ट निर्देशन दिइएको राप्रपाले जनाएको छ।
तर, पार्टीको स्पष्ट निर्णय र निर्देशनविपरीत प्रदेश सरकार निर्माणमा समर्थन गरेको भन्दै संसदीय दलका नेताको हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन र पार्टी निर्णयको अवज्ञा भएको राप्रपाले जनाएको छ। उक्त विषयमा पार्टीको अनुशासन समितिले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।
राप्रपाले बागमती प्रदेश सरकार गठनका लागि आफ्ना सांसदहरूको समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष बुझाइएको पत्रमा राप्रपाको कुनै समर्थन नरहेको स्पष्ट पारेको छ। पार्टीको निर्णयविपरीत बुझाइएको उक्त पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा अनुरोध तथा पत्राचारसमेत गरिएको राप्रपाले जनाएको छ।
पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत भएका गतिविधिलाई राप्रपाले स्वीकार नगर्ने स्पष्ट पार्दै स्वदेश तथा विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक, शुभचिन्तक तथा आम जनसमुदायलाई भ्रमपूर्ण समाचार र प्रचारबाट प्रभावित नहुन अपिल गरेको छ।