काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कडा अनुशासनात्मक कारबाही गरेको छ ।
राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसदको पदबाट पदमुक्त गर्न सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउने तथा पार्टी सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै थापामाथि कारबाही गरिएको राप्रपाले जनाएको छ ।
बाग्मती प्रदेश सरकार गठनका क्रममा राप्रपाले कुनै पनि दललाई समर्थन नगर्ने स्पष्ट निर्णय गरेको थियो । पार्टीको उक्त निर्णयविपरीत थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि उनीमाथि अनुशासनको कारबाही गरिएको हो ।
थापाको भूमिकाप्रति राप्रपाले यसअघि नै असन्तुष्टि जनाउँदै आएको थियो । पार्टी निर्णयको अवज्ञा गर्दै सरकार गठन प्रक्रियामा सहभागी भएको विषयलाई गम्भीर अनुशासनहीनता ठहर गर्दै सचिवालय बैठकले कडा कदम चालेको हो ।
बैठकमा नेता कमल थापाले भने उद्धव थापामाथि कारबाही गर्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । उनी कारबाहीको विपक्षमा उभिएको बताइएको छ ।
कारबाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ । यद्यपि, बहुमतका आधारमा उद्धव थापामाथि कारबाही गर्ने निर्णय भएको हो ।
राप्रपाले पार्टी निर्णय, निर्देशन र अनुशासन उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाही गर्ने सन्देश दिँदै उद्धव थापामाथि प्रदेश सांसद पदबाट हटाउनेदेखि पार्टी सदस्यता खारेजसम्मको कडा निर्णय गरेको हो ।