नवलपरासी — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अनुभव नभएका व्यक्तिलाई शासनको बागडोर सुम्पिँदा देश दुर्घटनाको जोखिममा परेको बताएका छन्।
शनिबार राप्रपा नवलपरासीले सुनवलमा आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन राजनीतिक दलहरूबीच निषेधको राजनीति अन्त्य गरी सहमतिको बाटोमा अघि बढ्नुपर्ने बताए।
सरकारले हरेक क्षेत्रमा आतंक र भ्रम सिर्जना गरेको आरोप लगाउँदै लिङ्देनले गरिब तथा सुकुमवासीलाई त्रसित बनाउने र सरकारको आलोचना गर्नेहरूविरुद्ध कृत्रिम मुद्दा चलाउने काम भइरहेको दाबी गरे।
‘सरकारको भनाइ र गराइ फरक छ। सरकारले गरिब सुकुमवासीलाई त्रसित बनाउने काम गरेको छ। सरकारको आलोचना गर्नेलाई कृत्रिम मुद्दा चलाइएको छ,’ उनले भने।
लिङ्देनले भूराजनीतिक दृष्टिले समेत नेपालको अवस्था झन् तहसनहस बन्दै गएको टिप्पणी गरे।
उनले सरकारले निजी क्षेत्रलाई उद्योग तथा व्यवसाय विस्तारका लागि लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाए।
‘सरकारले उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई थप उद्योग खोल्ने वातावरण बनाउनुपर्ने हो। निजी क्षेत्रलाई उत्साहित बनाउन लगानीमैत्री र उद्योगमैत्री वातावरण बनाउन जरुरी छ,’ उनले भने, ‘तर सरकारको ध्यान यतातिर छैन।’