काठमाडौँ । सहकारी ठगीमा मुछिएका रवि लामिछाने तत्काल रिहा हुने संभावना निकै न्यून रहेको देखिएको छ ।
कास्की जिल्ला अदालतले जस्तो आदेश दिएपनि लगत्तै रुपन्देही प्रहरीलाई बुझाउने कानुनी चेन प्रयोग हुने भएको छ ।
रुपन्देही प्रहरीले यसअघि नै लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएकोले सोही बमोजिमको तयारी सुरु भएको स्रोतहरुले उल्लेख गरेका छन् ।
आज मंगलबार कास्की अदालतबाट म्याद थप भएमा रुपन्देही सार्ने काम केही दिनपर सर्नेछ । त्यसपछि रुपन्देही लाने र त्यहाँ पनि शुन्य दिनबाट गणना हुनेगरि अनुसन्धानका लागि थुनामा राख्ने तयारी प्रहरीले गरेको छ । किनकी रुपन्देहीबाट यस अघि भएको पक्राउ पुर्जाको आधारमा पक्राउ गरी रुपन्देही ल्याउने योजनामा प्रहरी रहेको छ ।
प्रहरीले लामिछानेको नामबाट बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट ऋण प्रवाह भएको प्रमाण भेटेको छ । यस्तै प्रकृतिको मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पनि कास्कीबाट रुपन्देहीको ल्याएर बयान लिइसकेको छ ।
रवि कास्की जिल्ला अदालतमा उपस्थित
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेसहित चार जनालाई आज मंगलबार प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ ।
लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । लामिछाने यही कात्तिक २ गते साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।
उता, राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ ।
प्रदर्शन र बाह्य दबाबबाट अदालती कानुनी प्रक्रिया र अनुसन्धानमा कुनै फरक नपर्ने कानुनका जानकारहरु बताउँछन् । दशैँअघि रास्वपाले प्रदर्शन गर्दा पोखराका रैथाने नागरिकको खासै सहभागीता थिएन ।