काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि तथा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस पर्वलाई लिइने बताएका छन्।
विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पुस्तौँदेखि पारिवारिक तथा सामाजिक आत्मीयता कायम राख्दै आएको उनले बताएका छन्। पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई आजको सन्दर्भमा ‘आसुरी प्रवृत्ति’का रूपमा उल्लेख गर्दै यस्ता विकृति अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गर्ने अवस्था सिर्जना गर्न इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उनले बताएका छन्।
उनले परिवर्तनका लागि सोचसँगै व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमताअनुसार विजयादशमी मनाउँदै आपसी सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्। उनले शुभकामनाको अन्त्यमा ‘जय दुर्गा भवानी’ भनेका छन ।