नयाँ दिल्ली । भारतको गृह मन्त्रालयका अनुसार देशमा महिलाविरुद्ध हुने अपराध लगातार बढिरहेको छ।
नयाँ दिल्ली स्थित गृह मन्त्रालयले आर्थिक वर्ष २०२४–२५ को वार्षिक प्रतिवेदनमा महिलाविरुद्ध हुने अपराधमा निरन्तर वृद्धि भएको पुष्टि गरेको छ। तथ्याङ्कअनुसार २०२० मा ३ लाख ७१ हजार ५०३ घटना दर्ता भएका थिए भने २०२१ मा यो संख्या बढेर ४ लाख २८ हजार २७८ पुगेको थियो। २०२२ मा भने ४ लाख ४५ हजार २५६ घटना दर्ता भएका छन्।
भारतमा धर्म र जातका नाममा महिला र युवती हिंसामा पर्ने गरेका छन् । भारतका ग्रामिण वस्ती महिलाका लागि भयमा बस्नुपर्ने स्थान बन्दै गएका छन् ।
प्रतिवेदनमा भनिएको छ— महिलाविरुद्ध हुने अधिकांश अपराध “पति वा उनका आफन्तद्वारा गरिने क्रूर व्यवहार” अन्तर्गत पर्छन्, जसको हिस्सा ३१.४ प्रतिशत रहेको छ। त्यसपछि “महिलाको अपहरण” १९.२ प्रतिशत, “महिलाको मर्यादामा आघात पुर्याउने उद्देश्यले आक्रमण” १८.७ प्रतिशत र “जबरजस्ती करणी” ७.१ प्रतिशत रहेका छन्।
यद्यपि मन्त्रालयले यो वृद्धि मुख्य रूपमा उजुरी दर्ता अनिवार्य बनाइनु, प्रहरीलाई सचेत बनाइनु र जनचेतना अभिवृद्धि गरिनुका कारण घटनाहरू बढी उजागर हुन थालेको बताएको छ।
प्रतिवेदनमा हत्या, डकैती र ठगीजस्ता सामान्य अपराधका पीडित पनि धेरैजसो महिला हुने उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार २०२० देखि २०२१ सम्म महिलाविरुद्ध अपराधमा १५ प्रतिशत वृद्धि भएको थियो भने २०२१ देखि २०२२ सम्म ४ प्रतिशतले वृद्धि भएको छ। २०२२ मा दण्ड संहिताअन्तर्गत महिलाविरुद्ध हुने अपराधको हिस्सा १२.५ प्रतिशत रहेको छ।
प्रतिवेदनमा २०२२ मा प्रत्येक एक लाख महिला जनसंख्यामा महिलाविरुद्ध हुने अपराधको दर ६६.४ रहेको उल्लेख गरिएको छ।
बालबालिकाविरुद्ध हुने अपराधमा पनि २०२० देखि २०२२ सम्म निरन्तर वृद्धि देखिएको छ। २०२० मा १ लाख २८ हजार ५३१ घटना दर्ता भएका थिए भने २०२१ मा १ लाख ४९ हजार ४०४ र २०२२ मा १ लाख ६२ हजार ४४९ पुगेको छ।
प्रतिवेदनअनुसार २०२२ मा बालबालिकाविरुद्ध हुने प्रमुख अपराधमा अपहरण ४५.७ प्रतिशत र बाल संरक्षणसम्बन्धी विशेष कानुनअन्तर्गतका मुद्दा ३९ प्रतिशत रहेका छन्।
गृह मन्त्रालयले दिएको जानकारीअनुसार बालबालिकाद्वारा गरिएका अपराधका ३० हजार ५५५ घटनामा ३७ हजार ७८० जना नाबालिग पक्राउ परेका छन्।
भारतमा सबैभन्दा धेरै महिला हिंसा, बलत्कार र लैंगिक भेदभाव हुने राज्यमा उत्तर प्रदेश, बिहार र मध्येप्रदेश रहेका छन् । यहाँ छोरीछोरीबीच चरम भेदभाव छ ।
द वायरबाट–