काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्ने खड्गप्रसाद ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस गर्न लागेको छ ।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ ।
प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।
ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत श्री केपी शर्मा (ओली) भन्ने खड्ग प्रसाद शर्मा ओलीलाई कारवाहीको सिफारिस गरेको थियो ।

त्यसैगरी, पार्टी अध्यक्ष खड्ग ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ ।
नेकपा एमालेका ओली निकट सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार झिसमिसेमै पक्राउ परेका थिए ।
लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । पार्टीको निर्णय अनुसार एमाले कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिँदा शनिबार दिनभर काठमाडौंको माइतीघर–बिजुलीबजार सडकखण्ड तनावग्रस्त भएको थियो ।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमालेका कार्यकर्ताले निजी सवारीमा तोडफोड र विभिन्न सर्वसाधारण नागरिकलाई कुटपिट गरेका थिए । एमालेका केही कार्यकर्ताले आगजनी गर्ने धम्की दिंदै हिंडेका थिए ।
नेपालको राजनीतिमा सत्ता बाहिर हुँदा सबैभन्दा धेरै नेपालबन्द र तोडफोड गर्नेमा एमाले अग्रपंक्तिमा आउँछ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भने कसैसँग प्रतिशोध नसाँधेको जनाएका छन् ।