काठमाडौं । विश्वको आर्थिक परिदृश्यमा बहुआयामिक चुनौतीहरू देखा परिरहेका बेला पनि चीनले आफ्नो विदेशी व्यापारमा उल्लेखनीय स्थिरता कायम राख्दै गुणस्तरमा उल्लेख्य सुधार गरेको छ । सन् २०२१ देखि २०२५ सम्मको १४औँ पंचवर्षीय योजनाको अवधिमा चीनले "मात्रा विस्तार" मात्र होइन, "संरचनागत मजबूती" र "लचिलोपनको विकास" समेत सुनिश्चित गरेको देखिएको छ । यस अवधिमा चीन विश्वको एक शक्तिशाली व्यापारिक राष्ट्रका रूपमा थप सशक्त बनेको छ ।
पछिल्ला पाँच वर्षमा, चीनको माल व्यापारले ५० खर्ब र ६० खर्ब अमेरिकी डलरजस्ता महत्वपूर्ण सीमा पार गर्दै, सन् २०२४ मा ६१.६ खर्ब अमेरिकी डलरमा पुगेको छ । यो तथ्याङ्क १३औँ पंचवर्षीय योजना (२०१६-२०२०) को अन्त्यको तुलनामा ३२.४ प्रतिशतले वृद्धि भएको छ, जससँगै चीन आठौँ वर्ष लगातार माल व्यापारमा विश्वको शीर्ष स्थानमा रहन सफल भएको हो ।
सिर्फ माल व्यापार मात्र होइन, सेवा व्यापारमा पनि चीनले उल्लेखनीय प्रगति हासिल गरेको छ । २०२४ मा चीनको सेवा व्यापार १० खर्ब डलर नाघेर विश्वमा दोस्रो स्थानमा पुगेको छ । यसमा निजी क्षेत्रको उल्लेख्य भूमिका देखिएको छ । १३औँ योजनाको अन्त्यमा निजी उद्यमहरूको निर्यातमा हिस्सा ५६% थियो भने २०२४ मा यो ६४.८% मा पुगेको छ — जुन चीनको आर्थिक नीतिको विकेन्द्रीकरण र उद्यमशीलतालाई संकेत गर्छ ।
सीमापार व्यापार र डिजिटल क्रान्ति
चीनले परम्परागत निर्यात संरचनाबाट बाहिर निस्कँदै सीमापार ई–कमर्सको विस्तारलाई प्राथमिकता दिएको छ । सन् २०२४ मा चीनको सीमापार ई–कमर्सबाट आयात–निर्यात २७ खर्ब युआन पुगेको छ, जुन पाँच वर्षमा ६७% को वृद्धिदर हो । ज्ञान–आधारित सेवा व्यापारमा ३८% को बृद्धि देखिएको छ भने डिजिटल माध्यमबाट वितरण गरिने सेवाहरूको आयात–निर्यातमा झण्डै ४०% को अभूतपूर्व वृद्धिदर देखिएको छ ।
धार्मिक जस्ता अनुत्पादक काम र लगानीमा चीन शून्यतर्फ अघि बढेकोले अर्थतन्त्रमा विश्वकै सर्वोच्च स्थान प्राप्त गर्न सफल भएको चिनियाँ अर्थशास्त्रीले सार्वजनिक गरेका छन् ।
प्रविधि–मुखी निर्यातमा पनि चीनले नयाँ युग प्रवेश गरिसकेको छ । माल व्यापारको कुल निर्यातमध्ये १८.२% उच्च प्रविधि उत्पादनहरूबाट भएको छ, अर्थात् प्रत्येक पाँच डलर निर्यातमा करिब एक डलर अत्याधुनिक प्रविधिज्ञ उत्पादनबाट आएको हो । यो आँकडाले चीनको निर्माण क्षमतामा आएको रूपान्तरण र नवप्रवर्तनमा केन्द्रित आर्थिक रणनीतिलाई प्रतिबिम्बित गर्छ ।
चीनको समग्र अर्थतन्त्र: पुनर्संरचना र बहुआयामिक रणनीति
विदेशी व्यापारमा उल्लेखनीय प्रगति हासिल गर्दैगर्दा चीनले आन्तरिक अर्थतन्त्रमा पनि रणनीतिक पुनर्संरचना गरिरहेको छ । “ड्युअल सर्कुलेशन” अर्थात् आन्तरिक खपत र अन्तर्राष्ट्रिय व्यापारलाई समानान्तर रुपमा प्रवाह गराउने रणनीतिअनुसार, चीनले आफ्नो अर्थतन्त्रको केन्द्रविन्दु प्रविधि, नवप्रवर्तन र हरित विकासतर्फ सारिरहेको छ ।
सन् २०२४ को तथ्याङ्कअनुसार, चीनको कुल गार्हस्थ उत्पादन (GDP) को योगदानमा सेवाक्षेत्रको हिस्सा ५४% पुगेको छ, औद्योगिक क्षेत्रको हिस्सा ४०% र कृषि क्षेत्रको हिस्सा ६% छ । चीनको औद्योगिक उत्पादनमा अब परम्परागत भारी उद्योगको सट्टा इलेक्ट्रोनिक्स, अटोमेशन, ग्रीन एनर्जी, आर्टिफिसियल इन्टेलिजेन्स र सेमीकण्डक्टरजस्ता उच्च प्रविधि उद्योगहरू अगाडि आएका छन् ।
यो रूपान्तरणले चीनलाई "विश्वको कारखाना" बाट "विश्वको नवप्रवर्तन केन्द्र" तर्फ धकेलिरहेको छ । उदाहरणस्वरूप, २०२४ मा चीनबाट निर्यात हुने विद्युतीय सवारीसाधन (EVs), लिथियम ब्याट्री, सोलार प्यानलजस्ता हरित प्रविधि सम्बन्धित वस्तुहरूको निर्यातले तीव्र उछाल देखाएको छ ।
क्षेत्रीय व्यापार रणनीति र 'बेल्ट एण्ड रोड'
‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (BRI) अन्तर्गत चीनले पूर्वाधार विकासका माध्यमबाट विश्वव्यापी व्यापार मार्गहरू निर्माण गर्दै आएको छ । सन् २०२४ सम्ममा BRI अन्तर्गत १५० भन्दा बढी राष्ट्रसँग सहकार्य गरिसकेको चीनले एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिका बजारमा नयाँ खल्तीहरू सिर्जना गरिरहेको छ ।
बेल्ट एण्ड रोड परियोजनाका कारण चीनको पश्चिमी तथा आन्तरिक क्षेत्रहरू (जस्तै सिचुआन, गुइझोउ, युन्नान) पनि अन्तर्राष्ट्रिय व्यापारमा संलग्न हुन थालेका छन् । यसले समग्र चीनभित्रको क्षेत्रीय आर्थिक असमानतालाई कम गर्न सहयोग पुर्याएको छ ।
विश्व अर्थतन्त्रमा चीनको प्रभाव
सन् २०२४ को अन्त्यसम्म चीनको विश्व निर्यातमा हिस्सा लगभग १४.२% रहेको छ, जुन अमेरिकाको भन्दा पनि अगाडि छ । चीन अब ब्राजिल, भारत, दक्षिण अफ्रिका, इन्डोनेसियाजस्ता उदाउँदो अर्थतन्त्रहरूसँग द्विपक्षीय तथा क्षेत्रीय व्यापार सम्झौताहरू गर्दै एक "ग्लोबल साउथ" को नेतृत्वकर्ता बन्ने रणनीति लिइरहेको छ ।
चीनको सफलताले अब 'मात्र व्यापारिक सफलताको कथा' नभएर, नयाँ युगको विश्वव्यवस्थामा उसको रणनीतिक भू–आर्थिक स्थानलाई उजागर गरिरहेको छ । अमेरिकासँगको व्यापार युद्ध, युरोपेली संघका संरक्षणवादी कदम, र जियोपोलिटिकल उतारचढावका बाबजुद पनि चीनले आफ्नो व्यापारिक नीतिमा लचिलोपन अपनाउँदै, दीर्घकालीन लक्ष तर्फ अगाडि बढिरहेको छ ।
१४औँ पंचवर्षीय योजना चीनका लागि मात्र आर्थिक रणनीतिक योजना होइन, विश्वका लागि पनि एक सन्देश बनिसकेको छ — जहाँ प्रतिबद्धता, नवप्रवर्तन, नीति लचकता र प्राविधिक विकासका संयोजनबाट एउटा राष्ट्रले व्यापार र आर्थिक समृद्धिमा नयाँ शिखर चुम्न सक्छ ।
वास्तवमा, जब संयुक्त राष्ट्रसंघले सन् २०२४ को अन्त्यमा विश्व आर्थिक वृद्दिदर २.६% अनुमान गरिरहँदा चीनको GDP वृद्धिदर ५.३% थियो — जुन विश्व अर्थतन्त्रको कुल वृद्धिमा झण्डै एक तिहाइ हिस्सा हुने गरी प्रभावशाली छ । यो आँकडाले देखाउँछ कि विश्व बजारमा चीनको भूमिका अझ बलियो हुँदैछ ।
यसरी, चीन अब केवल ‘निर्माण केन्द्र’ होइन, ‘सृजनात्मक नेतृत्वकर्ता’का रूपमा उदाउँदैछ । नेपालजस्ता छिमेकी मुलुकहरूको लागि यो एउटा ठूलो सन्देश हो — नवप्रवर्तन, नीति स्थिरता र व्यापारमैत्री वातावरण विकास गर्दै अघि बढे मात्र आर्थिक समृद्धिको मूल ढोका खुल्छ ।
–पिपुल्स डेली अनलाइन