काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ । मुलुकभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् भने निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी खटाइएको छ ।
निर्वाचन आयोगका अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ ।
आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा मतदान भइरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।
प्रतिनिधिसभाअन्तर्गत ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ । प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन् । यस प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार रहेका छन् ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थलसमेत तोकिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवतीलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको छ ।
सुरक्षातर्फ ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचन सम्पन्न गराउन कूल दुई लाख १५ हजार कर्मचारी खटाइएको आयोगले जनाएको छ ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइएको छ । यसपटक चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साहपूर्वक मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् ।