काठमाडौँ । मुलुक यतिबेला चुनावको महासंग्राममा होमिएको छ । पुराना,नयाँ, सानाठुला र फरक धारका दलहरु मैदानमा छन् । नयाँ दलहरुले पुराना दलहरुको शासन व्यवस्थामा देखाएको अर्कण्यमतालाई मुद्दा बनाएका छन् । पुराना दलहरुले भने नयाँहरुप्रति विश्वसनीयताको प्रश्न उठाएका छन् ।
०४६ सालपछि नेपालमा विभिन्न व्यक्तिको नेतृत्वमा सरकार संचालन भएका थिए । तर, जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेनन् । अहिलेसम्मका सरकारका बारेमा नयाँ पत्रिकाले तयार पारेको यो सामग्री हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
साढे तीन दशकमा देशले ३० जना प्रधानमन्त्री पायो । कसैले पनि पाँचवर्षे कार्यकाल पूरा गरेनन् । दल र नेताहरूका राजनीतिक तिकडमले सरकार बन्ने र ढल्ने चक्र चलिरह्यो । जनताले बहुमत दिएर सिंहदरबार पठाएका दलले पनि बिचमै संसद् विघटन गरेर देशलाई मध्यावधिमा धकेले ।
०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेपछिका ३५ वर्षमा यो देशले ३० जना प्रधानमन्त्री पायो । तर, कसैले पनि पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । यस अवधिमा दल र नेताहरूका राजनीतिक तिकडमले सरकार बन्ने र ढल्ने चक्र चलिरह्यो । त्यति मात्र होइन, जनताले बहुमत दिएर सिंहदरबार पठाएका दलले पनि आन्तरिक किचलोका कारण संसद् विघटन गरेर देशलाई मध्यावधिमा धकेले ।
सरकार चलाउने दलहरूका क्रियाकलापले नागरिकमा बढाउँदै लगेको निराशा गत २३ भदौसम्म आइपुग्दा उत्कर्षमा पुग्यो । जेन–जी पुस्ता नै विद्रोहमा उत्रिएपछि दुई ठुला दल कांग्रेस र एमालेले चलाइरहेको सरकार ढल्यो । आन्दोलनको मागअनुसार संसद् विघटन गरियो र २१ फागुनमा आमनिर्वाचन हुँदै छ । नयाँ जनादेशपछि देशले प्रजातन्त्र पुनस्र्थापनापछिको ३१औँ प्रधानमन्त्री पाउनेछ ।
यी ३५ वर्षमा कांग्रेस नेताद्वय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा सबैभन्दा धेरै पाँच–पाँचपटक प्रधानमन्त्री बने । एमाले अध्यक्ष केपी ओलीले चारपटक र तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपाका संयोजक) पुष्पकमल दाहाल प्रचण्डले तीनपटक देशको नेतृत्व गरे । कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले दुई–दुईपटक सरकार चलाए । भट्टराईले ०४६ को जनआन्दोलनपछि चुनावी सरकारको नेतृत्व पनि गरेका थिए । त्यसबाहेक मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुुशील कोइराला, खिलराज रेग्मी र सुशीला कार्कीले एक–एकपटक सरकारको नेतृत्व गरे ।
यस अवधिमा सत्ताका लागि विकृत खेलहरू पनि भए । सरकार ढाल्न र बनाउन सांसद किनबेचदेखि आफ्नै पार्टीको सरकार ढाल्नेसम्मका गतिविधि भए । कतिसम्म भने ठुला दलहरूको खिचातानीमा ११ सिट भएको तत्कालीन राप्रपाका सूर्यबहादुर थापा र आठ सिट भएको राप्रपा (चन्द)का नेता लोकेन्द्रबहादुर चन्द कांग्रेस, एमाले, तत्कालीन मालेको पालैपालो काँध चढेर प्रधानमन्त्रीको कुर्सीमा पुगे । यही राजनीतिक अस्थिरताको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दुईपटक सत्ता हत्याएर प्रत्यक्ष शासन गरे ।
दुईपटक गैरदलीय नेतृत्वमा मुलुक
गणतन्त्रपछि नेपाल दुईपटक गैरदलीय नेतृत्वमा पुगेको छ । पहिलो संविधानसभा १४ जेठ ०६९ मा विघटन हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम सरकारको मन्त्रिपरिषद् अध्यक्ष बने । त्यस्तै, २३ र २४ भदौको जेन–जी विद्रोहबाट दलहरू सत्ताच्युत हुनुका साथै प्रतिनिधिसभा विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् । कार्की सरकारको म्यान्डेट २१ फागुनमा चुनाव गराउनेछ ।
अस्थिरताको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दुईपटक प्रत्यक्ष शासन गरे ।
अस्थिर राजनीतिको फाइदा दरबारले पनि उठायो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले दुईपटक निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिए । ७ साउन ०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । तत्कालीन विद्रोही माओवादीलाई निस्तेज पार्न संकटकाल लम्ब्याउने विषयमा प्रतिपक्षी र आफ्नै दल कांग्रेसबाट साथ नपाएपछि उनले ८ जेठ ०५९ संसद् विघटन गरी २७ कात्तिकका लागि चुनाव घोषणा गरे । तर, १७ असोजको मन्त्रिपरिषद्ले २७ कात्तिकको चुनाव ३ मंसिर ०६० मा सार्ने निर्णय गर्यो । त्यसको भोलिपल्टै अर्थात् १८ असोजमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई निर्वाचन गर्न ‘अक्षम प्रधानमन्त्री’ घोषणा गर्दै पदच्युत गरिदिए । र, २५ असोज ०५९ मा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए ।
ज्ञानेन्द्रले उनलाई पनि १६ जेठ ०६० मा बर्खास्त गरे र २१ जेठ ०६० मा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । थापालाई पनि हटाएपछि ज्ञानेन्द्रले प्रधानमन्त्री पदका लागि ०६१ जेठमा खुला दरखास्त आह्वान गरे । तर, आवेदन नै नदिएका तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई २१ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरे । त्यसको सात महिनामै अर्थात् १९ माघ ०६१ मा देउवालाई पनि अक्षम घोषणा गर्दै ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए ।
ज्ञानेन्द्रले राज्यसत्ता हातमा लिएको भोलिपल्ट २० माघ ०६१ मा आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे । उनले पूर्वप्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट र तुलसी गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएर दलहरूलाई बाहिरै राखे । ज्ञानेन्द्रले १४ महिना मन्त्रिपरिषद्को नेतृत्व गरे । ०६२÷६३ को जनआन्दोलबाट संसद् पुनस्र्थापना भएपछि ११ वैशाख ०६३ मा उनले राजगद्दी छोडे र नेपालमा राजतन्त्र अन्त्य भयो ।
जनताले बहुमत दिँदा पनि थेग्न सकेनन्, बिचमै संसद् विघटन गरेर देश मध्यावधिमा धकेले
दलहरूले जनताले दिएको बहुमतको समेत अपमान गरे । पार्टीको आन्तरिक किचलोका कारण बहुमतप्राप्त सरकारले संसद् विघटन गरेर देशलाई मध्यावधिमा पनि धकेले । ०४८ मा कांग्रेसले संसद्का २०५ मध्ये ११० सिट जितेर बहुमतको सरकार बनायो । तर, आन्तरिक किचलोले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २६ असार ०५१ मै संसद् विघटन गरेर मध्यावधि चुनाव गराए ।
दोस्रोपटक कम्युनिस्ट पार्टीहरूलाई जनताले बहुमत दिए । ०७४ मा एमाले र तत्कालीन माओवादी गठबन्धन गरेर चुनावमा गएका थिए । एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिक ४१ गरी १२१ र माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ गरी ५३ सिट जिते । सात महिनापछि दुवै पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाए । यो पार्टी १७४ सिटसहित संसद्मा झन्डै दुईतिहाइनजिक पुग्यो । तर, पार्टीभित्रको किचलोले प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद् विघटन गरे । दुवैपटक सर्वोच्चले पुनस्र्थापना गरिदियो ।
०५८ मा पहिलोपटक प्रधानमन्त्री बनेको कांग्रेस नेता शेरबहादुर देउवाले पनि संसद् विघटन गरेका थिए । तत्कालीन विद्रोही माओवादीलाई निस्तेज पार्न संकटकाल लम्ब्याउने विषयमा प्रतिपक्षी र आफ्नै दल कांग्रेसभित्र साथ नपाएपछि उनले ८ जेठ ०५९ संसद् विघटन गरी २७ कात्तिकका लागि निर्वाचन घोषणा गरेका थिए । तर, १७ असोजको मन्त्रिपरिषद्ले २७ कात्तिकको चुनाव ३ मंसिर ०६० मा सार्ने निर्णय ग¥यो । त्यसको भोलिपल्टै तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई निर्वाचन गर्न अक्षम प्रधानमन्त्री भनेर पदच्युत गरिदिए, जसकारण चुनाव भने हुन सकेन । त्यस्तै, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि २४ पुस ०५४ मा संसद् विघटनको असफल प्रयास गरेका थिए । उनले संसद् विघटन गरी मध्यावधि चुनावका लागि राजा वीरेन्द्रसमक्ष सिफारिस गरे पनि सर्वोच्च अदालतको रायका कारण रोकिएको थियो । त्यस्तै, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २६ जेठ ०५२ मा गरेको संसद् विघटन पनि सर्वोच्चले उल्ट्याइदिएको छ ।
१. कृष्णप्रसाद भट्टराई (१ वर्ष २ महिना)
(६ वैशाख ०४७ – ११ जेठ ०४८)
०४६ मा प्रजातन्त्र पुनर्वहालीपछि ६ वैशाख ०४७ मा कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारका प्रधानमन्त्री बने । २३ कात्तिक ०४७ मा उनको नेतृत्वमा संविधान जारी भयो भने २९ वैशाख ०४८ मा आमनिर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरे ।
२. गिरिजाप्रसाद कोइराला
३ वर्ष ६ महिना
(१२ जेठ ०४८ – १२ मंसिर ०५१)
०४८ मा कांग्रेसले कुल २०५ मध्ये ११० सिट जितेर बहुमत प्राप्त गरेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा १२ जेठ ०४८ मा सरकार बन्यो । तर, पार्टीभित्रकै किचलोले कोइरालाले बहुमतको सरकार साढे तीन वर्ष मात्रै चलाउन सके । कांग्रेसका सांसद ३६ र ७४ गरी दुई समूहमा विभाजित भए । ०५० कात्तिकमा सरकारको नीति तथा कार्यक्रम संसद्बाट पारित गर्ने वेला कांग्रेसकै ३६ सांसद अनुपस्थित भएपछि सरकार संकटमा पर्यो । त्यसको झोंकमा प्रधानमन्त्री कोइरालाले २६ असार ०५१ मा संसद् विघटन गरी देशलाई मध्यावधि चुनावमा धकेले । २९ कात्तिक ०५१ मा चुनाव भयो ।
३. मनमोहन अधिकारी
९ महिना
(१३ मंसिर ०५१ – २५ भदौ ०५२)
मध्यावधि निर्वाचनमा एमाले ८८ सिटसहित ठुलो दल बन्यो र त्यसका अध्यक्ष मनमोहन अधिकारी १३ मंसिर ०५१ मा प्रधानमन्त्री बने । तर, अल्पमतको सरकार नौ महिना मात्रै चल्यो । ८३ सिट रहेको कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएपछि अधिकारीले २६ जेठ ०५२ मा संसद् विघटन गर्दै मध्यावधि चुनावमा जाने निर्णय गरे । तर, सर्वाेच्च अदालतले १२ भदौमा संसद् विघटनको सिफारिस बदर गरिदियो । लगत्तै कांग्रेसले दर्ता गरेको अविश्वासको प्रस्तावमा राप्रपा र सद्भावनाले पनि समर्थन जनाएपछि २५ भदौ ०५२ मा अधिकारीले त्रिवि शिक्षण अस्पतालको बेडबाटै राजीनामा घोषणा गरे ।
४. शेरबहादुर देउवा
१ वर्ष ७ महिना
(२६ भदौ ०५२ – २६ फागुन ०५३)
अधिकारी नेतृत्वको सरकार ढलेको भोलिपल्ट २६ भदौ ०५२ मा कांग्रेस नेता शेरबहादुर देउवा राप्रपा, सद्भावना र एक स्वतन्त्र सांसदसमेतको समर्थनमा प्रधानमन्त्री बने । तर, एक वर्ष नपुग्दै एमालेले अविश्वासको प्रस्ताव ल्यायो । दुर्भाग्य ! अविश्वासको पक्षमा बहुमत पुर्याउन कांग्रेसकै नेताहरूसमेत लागे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ‘योजना’मा कांग्रेसकै सांसदद्वय भक्तबहादुर बलायर र अर्जुनबहादुर शाहले नाटकीय रूपमा एमालेको प्रस्तावमा समर्थन जनाएपछि २३ फागुन ०५३ मा देउवा सरकार एक वर्ष सात महिनामै ढल्यो ।
५. लोकेन्द्रबहादुर चन्द
७ महिना
(२७ फागुन ०५३ – १९ असोज ०५४)
राप्रपाको साथ लिएर कांग्रेसले मनमोहन अधिकारीको सरकार ढालेको थियो । तर, एमाले राप्रपाकै नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर सरकारमा गयो । राप्रपाका १९ मध्ये आठ सांसदको प्रतिनिधित्व गर्दै चन्द २७ फागुन ०५३ मा प्रधानमन्त्रीको कुर्सीमा पुगे । तर, यो सरकार पनि साढे ६ महिनामै अर्थात् १८ असोज ०५४ मा ढल्यो । ११ सिट रहेको राप्रपाकै सूर्यबहादुर थापा समूहको साथ लिएर कांग्रेसले अविश्वासको प्रस्तावमार्फत सरकार ढालेको थियो ।
६. सूर्यबहादुर थापा
६ महिना
(२० असोज ०५४ – २९ चैत ०५४)
कांग्रेसको समर्थनमा २० असोज ०५४ मा सूर्यबहादुर थापा प्रधानमन्त्री बने । तर, ६ महिनामै सरकार ढाल्ने तयारी भएपछि उनले २४ पुस ०५४ मा संसद् विघटनका लागि राजासमक्ष सिफारिस गरे । तर, कांग्रेससहित ९६ सांसदले प्रतिनिधिसभा बोलाउन दरबारमा माग गरे । दरबारले सर्वाेच्चसँग राय माग्यो, सर्वोच्चले बैठक बोलाउन राय दिएपछि विघटन असफल भयो । २४ माघमा प्रधानमन्त्री थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । तर, त्यसअघि नै उनले कांग्रेससँग सम्झौता गरे– गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गर्ने र अविश्वासको प्रस्ताव फेल गर्ने । सोही सहमतिअनुसार ८ फागुनमा अविश्वासको प्रस्ताव फेल भयो । सहमतिअनुसार थापाले पनि २८ चैत ०५४ मा प्रधानमन्त्रीबाट राजीनामा दिए । संसद् विघटनको विषयलाई लिएर राप्रपा पनि फुट्यो । लोकेन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरे ।
७. गिरिजाप्रसाद कोइराला
८ महिना
(३० चैत ०५४ – ७ पुस ०५५)
थापापछि ३० चैत ०५४ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । उनले एमाले विभाजन भएर वामदेव गौतमको नेतृत्वमा गठन भएको नेकपा मालेलाई साथमा लिएर सरकार बनाए । राधाकृष्ण मैनालीको नेतृत्वमा माले सरकारमा गयो । तर, प्रधानमन्त्री कोइरालासँग वामदेवको विवाद भएपछि मालेले ०५५ पुसमा समर्थन फिर्ता लियो । र, आठ महिनामै कोइराला सरकार ढल्यो ।
८. गिरिजाप्रसाद कोइराला
५ महिना
(८ पुस ०५५ – १२ जेठ ०५६)
चुनावी दाउपेच यतिमै रोकिएन । माले बाहिरिएपछि गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउन एमाले तत्काल आइपुग्यो । राजीनामा दिएको दोस्रो दिन अर्थात् ८ पुस ०५५ मा कोइराला फेरि प्रधानमन्त्री बने । यो सरकारले २० वैशाख र २ जेठ ०५६ मा आमनिर्वाचन गरायो । कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरी चुनावमा होमिएको कांग्रेस पहिलो बन्यो । र, कोइरालाले राजीनामा दिए ।
९. कृष्णप्रसाद भट्टराई
१० महिना
(१३ जेठ ०५६ – ६ चैत ०५६)
१३ जेठ ०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त भए । तर, गिरिजाप्रसादले एक वर्ष पनि धैर्य गरेनन् । भट्टराई ११ चैत ०५६ मा फ्रान्स भ्रमणमा जाँदै थिए । त्यहाँबाट फर्किएर राजीनामा दिने गरी पार्टीभित्र समय मागेका थिए । तर, कोइरालाको नेतृत्वमा अविश्वासको प्रस्ताव नै ल्याएर राजीनामा दिन बाध्य पारियो । भट्टराईले ३ चैत ०५६ मा राजीनामा दिए ।
१०. गिरिजाप्रसाद कोइराला
१ वर्ष ४ महिना
(७ चैत ०५६ – ६ साउन ०५८)
फेरि ७ चैत ०५६ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । तर, उनलाई प्रतिपक्षी एमालेभन्दा पनि कांग्रेसभित्रकै खेमाले असहयोग गर्यो । २८ असार ०५८ मा तत्कालीन माओवादीले रोल्पाको होलेरी प्रहरी चौकीका प्रहरी र हतियार कब्जामा लियो । कोइरालाले सेना परिचालन गर्न खोजेका थिए । दरबार र सेनासँग कुरा नमिलेपछि उनले ४ साउन ०५८ मा राजीनामा दिए ।
११. शेरबहादुर देउवा
१ वर्ष २ महिना
(७ साउन ०५८ – १८ असोज ०५९)
गिरिजाप्रसादको राजीनामापछि कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा शेरबहादुर देउवाले सुशील कोइरालालाई हराए । र, ७ साउन ०५८ मा प्रधानमन्त्री बने । तर, तत्कालीन माओवादीलाई निस्तेज पार्न संकटकाल लम्ब्याउने विषयमा प्रतिपक्षी र आफ्नै दल कांग्रेसबाट साथ नपाएपछि उनले ८ जेठ ०५९ संसद् विघटन गरी २७ कात्तिकका लागि चुनाव घोषणा गरे । तर, १७ असोजको मन्त्रिपरिषद्ले २७ कात्तिकको चुनाव ३ मंसिर ०६० मा सार्ने निर्णय गर्यो । त्यसको भोलिपल्टै तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई निर्वाचन गर्न अक्षम घोषणा गर्दै प्रधानमन्त्रीबाट पदच्युत गरिदिए ।
१२. लोकेन्द्रबहादुर चन्द
८ महिना
(२५ असोज ०५९ – २० जेठ ०६०)
तत्कालीन राजा ज्ञानेन्द्रले २५ असोज ०५९ मा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे । उनलाई माओवादीसँग वार्ता गर्न पनि खटाइयो । तर, संविधानसभा चुनाव मागेको माओवादीको एजेन्डालाई समर्थन गर्ने म्यान्डेट चन्दसँग थिएन । शान्ति स्थापनामा प्रगति गर्न नसकेको भन्दै प्रधानमन्त्री चन्दलाई पनि १६ जेठ ०६० मा ज्ञानेन्द्रले बर्खास्त गरे ।
१३. सूर्यबहादुर थापा
१ वर्ष
(२१ जेठ ०६० – २० जेठ ०६१)
चन्दलाई हटाएपछि माओवादीसँग वार्ता गर्ने जिम्मेवारीसहित ज्ञानेन्द्रले २१ जेठ ०६० मा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । तर, कुनै प्रगति गर्न नसकेको भन्दै ज्ञानेन्द्रले उनलाई पनि ६ महिनामै हटाए । र, प्रधानमन्त्री पदका लागि ०६१ जेठमा खुला दरखास्त आह्वान गरे ।
१४. शेरबहादुर देउवा
८ महिना
(२१ जेठ ०६१ – १९ माघ ०६१)
राजा ज्ञानेन्द्रले १८ जेठ ०६१ मा प्रधानमन्त्रीका लागि खुला दरखास्त आह्वान गरेका थिए । तत्कालीन सातदलीय गठबन्धनका तर्फबाट माधवकुमार नेपाल र अन्य केही नेताले दरखास्त दिएका थिए, तर आवेदन नै नदिएका शेरबहादुर देउवालाई २१ जेठ ०६१ मा ज्ञानेन्द्रले प्रधानमन्त्री नियुक्त गरे । त्यतिखेर गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारमा गएको थिएन । तर, प्रतिगमन आधा सच्चिएको भन्दै एमाले २१ असार ०६१ मा देउवा सरकारमा गयो । तर, ज्ञानेन्द्रले आठ महिनामै अर्थात् १९ माघ ०६१ मा देउवालाई अक्षम घोषणा गर्दै शासनसत्ता आफ्नो हातमा लिए । जसलाई १९ माघको ‘कु’ पनि भनिन्छ ।
१५. गिरिजाप्रसाद कोइराला
२ वर्ष ३ महिना
(१२ वैशाख ०६३ – ३० साउन ०६५)
आन्दोलनको बलमा संसद् पुनस्र्थापना भएपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला १२ वैशाख ०६३ मा प्रधानमन्त्री भए । उनकै नेतृत्वमा ५ मंसिर ०६३ मा तत्कालीन विद्रोही माओवादीसँग १२बुँदे शान्ति सम्झौता भयो । माओवादी संसद्मा आएपछि बनेको अन्तरिम संविधानअनुसार कोइरालाले १८ चैत ०६३ मा राजीनामा दिए । र, राष्ट्रप्रमुखसमेत रहने गरी सोही दिन उनी पुनः प्रधानमन्त्रीमा नियुक्त भए । उनले २८ चैत ०६४ को पहिलो संविधानसभाको चुनाव गराए र ०६५ साउनमा राजीनामा दिए ।
१६. पुष्पकमल दाहाल प्रचण्ड
९ महिना
(३१ साउन ०६५ – १० जेठ ०६६)
०६४ को पहिलो संविधानसभा निर्वाचनबाट ठुलो दल बनेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । एमाले र मधेशी जनअधिकार फोरमको समर्थनमा ३१ साउन ०६५ मा उनी प्रधानमन्त्री बने पनि नौ महिना मात्र टिके । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवालमाथि उनले चलाएको कारबाही प्रक्रिया राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि २१ वैशाख ०६६ मा उनले राजीनामा दिए ।
१७. माधवकुमार नेपाल
१ वर्ष ८ महिना
(११ जेठ ०६६ – २२ माघ ०६७)
प्रचण्डले राजीनामा दिएपछि तेस्रो ठुलो दल एमालेका नेता माधव नेपाल ११ जेठ ०६६ मा प्रधानमन्त्री बने । २२ दलको संयुक्त सरकारको नेतृत्व गरेका उनले आफ्नै पार्टीको सहयोग पाएनन् । साथै, माओवादीको लगातारको आन्दोलनपछि उनले ११ असार ०६७ मा राजीनामा दिए । तर, मुलुकले नयाँ प्रधानमन्त्री तत्काल पाएन । उनले कामचलाउ प्रधानमन्त्रीका रूपमा पनि थप सात महिना देश चलाए ।
१८. झलनाथ खनाल
७ महिना
(२३ माघ ०६७ – ११ भदौ ०६८)
०६७ असारदेखि भदौसम्म संसद्मा नयाँ प्रधानमन्त्री छान्न १७ पटकसम्म चुनाव भयो, तर एमालेले ‘नो भोट’ राखेपछि चयन हुन सकेन । अन्तिममा २३ माघ ०६७ मा माओवादीको समर्थनमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने । तर, करिब सात महिनामै अर्थात् ११ साउन ०६८ मा उनको सरकार ढल्यो । एमालेका तत्कालीन नेताहरू माधवकुमार नेपाल र केपी ओलीले नै खनाल सरकारलाई असहयोग गरेका थिए ।
१९. डा. बाबुराम भट्टराई
१ वर्ष ७ महिना
(११ भदौ ०६८ – ३० फागुन ०६९)
खनालपछि तत्कालीन माओवादीका नेता बाबुराम भट्टराई ११ भदौ ०६८ प्रधानमन्त्री बने । मधेशवादी दलहरू पनि सरकारमा गए । भट्टराईले १४ जेठ ०६९ मध्यराति पहिलो संविधानसभा विघटन गरे र ७ मंसिर ०६९ का लागि दोस्रो संविधानसभा निर्वाचनको घोषणा गरे, तर चुनाव हुन सकेन । पछि दलीय सहमतिका आधारमा भट्टराईले ३० फागुन ०६९ मा पदबाट राजीनामा दिए । र, मुलुक गैरदलीय नेतृत्वमा गयो ।
२०. खिलराज रेग्मी
११ महिना
(१ चैत ०६९ – २६ माघ ०७०)
तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानको बाधा अड्काउ फुकाउने व्यवस्था जारी गरेपछि प्रमुख चार दल एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाबिच चुनावी सरकारको नेतृत्व बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दिने सहमति भयो । र, १ चैत ०६९ मा रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बन्यो । ४ मंसिर ०७० मा दोस्रो संविधानसभाको निर्वाचन गराएर उनले सोही वर्षको २६ माघमा सरकारको चाबी पुनः दलहरूलाई सुम्पिए ।
२१. सुशील कोइराला
१ वर्ष ८ महिना
(२७ माघ ०७० – २४ असोज ०७२)
दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस र एमालेले २७ माघ ०७० मा संयुक्त सरकार बनाए । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने । ०७२ को भूकम्पपछि प्रमुख दलहरूबिच १६ बुँदे सहमति भयो, कोइरालाको नेतृत्वमै संविधान जारी गर्ने र त्यसपछि एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्ने । सहमतिअनुसार ३ असोज ०७२ मा संविधान जारी भयो, तर कोइरालाले प्रधानमन्त्रीको कुर्सी छाडेनन् । एमालेले समर्थन फिर्ता लिएपछि २४ असोज ०७२ मा संसद्मा भएको प्रधानमन्त्रीको चुनावमा कोइराला एमाले अध्यक्ष केपी ओलीसँग भिडे । तर, माओवादीसहितका दलहरूले ओलीलाई साथ दिएपछि कोइरालाले चुनाव हारे ।
२२. केपी ओली
१० महिना
(२४ असोज ०७२ – १८ साउन ०७३)
एमाले र माओवादी मिलेर २४ असोज ०७२ मा केपी ओलीको नेतृत्वमा सरकार बनाए । राप्रपा र राप्रपा नेपालको पनि ओलीलाई समर्थन थियो । सरकार बन्नुअघि एमाले र माओवादीबिच १४ बुँदे सहमति भएको थियो । तर, सहमति लागू नभएको भन्दै ०७३ जेठमा बजेट ल्याउनुअघि नै माओवादीले सरकारबाट फिर्ता हुने जनाउ दियो । तर, फेरि तीनबुँदे भद्र सहमति भयो– बजेट पारित भएपछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने । तर, यो सहमति पनि कार्यान्वयन नभएपछि २८ असार ०७३ मा माओवादीले समर्थन फिर्ता लियो । र, ३० असारमा प्रचण्डले ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरे । संसद्मा विश्वासको प्रस्ताव लिने बताए पनि अन्ततः ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिए ।
२३. पुष्पकमल दाहाल प्रचण्ड
१० महिना
(१९ साउन ०७३ – २२ जेठ ०७४)
ओलीपछि १९ साउन ०७३ मा कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । उनलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस र माओवादीबिच सातबुँदे सहमति भएको थियो । प्रचण्डलाई मधेशी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपासहित साना दलले समेत समर्थन गरेका थिए । प्रचण्डले ३१ वैशाख ०७४ मा स्थानीय तहको पहिलो चरणको चुनाव गराए । र, कांग्रेससँगको सहमतिअनुसार १० जेठ ०७४ मा प्रधानमन्त्रीबाट राजीनामा दिए ।
२४. शेरबहादुर देउवा
८ महिना
(२३ जेठ ०७४ – ३ फागुन ०७४)
२३ जेठ ०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बने । स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबिच तालमेल पनि भयो । तर, कांग्रेस र माओवादीको सहयात्रा डेढ वर्षमै टुंगियो । देउवा नेतृत्वको सरकारमा छँदै माओवादीले १० र २१ मंसिरमा दुई चरणमा तय भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल गर्ने निर्णय गर्यो । १० र २१ मंसिरमा भएको निर्वाचनमा कांग्रेस दोस्रो दलमा खुम्चिएपछि ३ फागुन ०७४ मा देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
२५. केपी ओली
३ वर्ष ३ महिना
(३ फागुन ०७४ – २९ वैशाख ०७८)
वाम गठबन्धनको बहुमत आएपछि ३ फागुन ०७४ एमाले अध्यक्ष केपी ओली फेरि प्रधानमन्त्री बने । ३ जेठ ०७५ मा एमाले–माओवादी एकता भएर नेकपा गठन भयो । ओली र प्रचण्डबिच आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयन भएन । बरु, पार्टीभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर भएपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर १७ र २७ वैशाख ०७८ मा मध्यावधि चुनाव घोषणा गरे । तर, सर्वाेच्च अदालतले विघटन असंवैधानिक ठहर गर्दै पुनस्र्थापना गरिदियो । सँगै २३ फागुन ०७७ मा सर्वाेच्चले एमाले र माओवादी पूर्ववत् ब्युँतिने गरी फैसला गर्यो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकारले २७ वैशाख ०७८ मा संसद्मा विश्वासको मत गुमायो ।
२६. केपी ओली
२ महिना
(३० वैशाख ०७८ – २८ असार ०७८)
ओली सरकार ढलेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाख ०७८ मा बहुमतीय सरकार गठनका लागि दलहरूलाई आह्वान गरिन् । त्यसका लागि ३० वैशाख राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै ३० वैशाख ०७८ मा अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन् । जब कि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । अल्पमत सरकारका प्रधानमन्त्री रहेका ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए । त्यसविरुद्ध परेको मुद्दामा पनि २८ असार ०७८ मा सर्वोच्चले परमादेश जारी गर्दै विघटन बदर गरेर संसद् पुनस्र्थापना गरिदियो । र, कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशसमेत दियो ।
२७. शेरबहादुर देउवा : १७ महिना १० दिन
(२९ असार ०७८ देखि १० पुस ०७९ सम्म)
सर्वोच्चको परमादेशअनुसार २९ असार ०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा पुगे । उनलाई माओवादी र एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले साथ दिँदा ३१ वैशाखमा भएको स्थानीय तह र ४ मंसिर ०७९ मा भएको आमनिर्वाचनसम्मै गठबन्धन कायम हुन पुग्यो । १० पुस ०७९ सम्म उनी प्रधानमन्त्रीमा बहाल रहे । निर्वाचनमा कुनै दलको बहुमत आएन ।
२८. पुष्पकमल दाहाल प्रचण्ड : १८ महिना
(१० पुस ०७९ देखि २८ असार ०८१)
०७९ को निर्वाचनपछि १० पुस ०७९ मा माओवादी अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री बने । उनले पालैपालो एमाले र कांग्रेसको सहयोगमा १८ महिना सरकार चलाए । रास्वपा, जसपा, राप्रपालगायतका दल पनि उनको सहयात्री बने । सुरुमा एमालेको समर्थन लिएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, राष्ट्रपति नियुक्तिका विषयमा बेमेल हुँदा ११ फागुनमा सहकार्य टुट्यो । तर, कांग्रेसको समर्थन मिलेपछि प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमै रहे । गठबन्धन हेरफेरका कारण प्रचण्डले १८ महिनामा पाँचपटक संसद्मा विश्वासको मत लिनुपर्यो । तर, १७ असार ०८१ मध्यरातमा एकाएक कांग्रेस र एमालेबिच सातबुँदे सहमति भएपछि २८ असारमा प्रचण्डले संसद् फेस गरे । तर, बहुमत जुटाउन नसकेपछि पदमुक्त भए ।
२९. केपी ओली : १२ महिना २४ दिन
(३० असार ०८१ देखि २४ भदौ ०८२)
संसद्को पहिलो र दोस्रो ठुला दल कांग्रेस र एमाले मिलेपछि दुईतिहाइको सरकार बन्यो । ३० असार ०८१ मा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी ओली २४ भदौ ०८२ मा सत्ताच्युत भए । यसबिचमा उनले १२ महिना २४ दिन सरकार चलाए । तर, २३ भदौमा भएको जेन–जी आन्दोलनमा राज्यपक्षबाट भएको बल प्रयोगबाट एकै दिन १९ बालबालिकाको ज्यान गएपछि त्यसको भोलिपल्ट देशभर चर्किएको आन्दोलनका कारण उनी बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर सुरक्षित स्थानमा जानुपर्यो ।