काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भइरहेको ‘सगरमाथा संवाद’ सम्मेलनमा सक्रिय सहभागिता जनाएका छन् ।
सम्मेलनमा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा जोड दिए ।
नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादमा प्रधानमन्त्री ओलीले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उल्लेख गरे ।
‘आशा गर्छौं, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने,‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।
त्यसैगरि, प्रधानमन्त्री ओलीले शुक्रबारदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।
समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट पाल्नुभएका मन्त्री, नीति निर्माता, विज्ञलगायत थिए ।
संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए । सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ ।
सगरमाथा संवाद भोलिसम्म चल्नेछ । नेपालले विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेपनि कुनै पनि उच्चस्तरका व्यक्ति नेपाल आएनन् ।
सगरमाथा संवादलाई अन्तराष्ट्रियस्तरको कार्यक्रम भनिएपनि कुनै पनि मुुलुकका उच्चस्तरीय व्यक्तित्व आगमन नहुँदा नेपालको कुटनीतिक असफलतासँग जोडिएर हेरिएको छ ।