काठमाडौँ । मंसिर अन्त्यतिर हुने नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छनोटको प्रक्रिया चले पनि अधिकांश जिल्लामा विवाद, असन्तुष्टि र समूहगत प्रतिस्पर्धा देखिएको छ।
प्रतिनिधि छनोटमा ८० प्रतिशतभन्दा बढी जिल्लामा अध्यक्ष केपी शर्मा ओली निकट समूहले एकलौटी शैलीमा नाम टुंग्याएको आरोपसहित प्रतिस्पर्धी समूहहरूले कडा आपत्ति जनाएका छन्। ती जिल्लाहरूमा ‘सर्वसम्मत’ घोषणा गरे पनि व्यवहारमा ओली निकट समूहले मनपरी ढङ्गले नाम पठाएको असन्तुष्ट पक्षको आरोप छ।
प्रतिनिधि छनोट सकिएसँगै साढे ६ लाखभन्दा बढी एमाले नेता–कार्यकर्ता औपचारिक रूपमा महाधिवेशन प्रक्रियामा प्रवेश गरेका छन्। कतिपय जिल्लामा सहमतिबाट प्रतिनिधि छानिए पनि धेरै ठाउँमा मतपरिवर्तन, हात हालाहाल, तोडफोड र बहिस्कारसम्म पुग्ने घटना देखिनु एमालेभित्रको समग्र शक्ति–समिकरण कति तातिएको छ भन्ने संकेत मानिएको छ।
एमाले महाधिवेशन मंसिर २७, २८ र २९ मा सम्पन्न हुँदैछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। पाँच वर्षका लागि नयाँ नेतृत्व छानिने यस महाधिवेशनलाई काट्न अध्यक्ष ओली तेस्रो कार्यकालतर्फ अघि बढेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पहिलोपटक अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। यही प्रतिस्पर्धाको तातो प्रभाव प्रतिनिधि छनोटमा पनि झल्किँदै आएको देखिन्छ।
मोरङ, धनकुटा, ओखलढुङ्गा लगायतका स्थानमा प्रतिनिधि छनोटका क्रममा ओली र पोखरेल पक्षबीच खुलेआम विवाद भएको समाचार बाहिरिएको छ।
मोरङमा भिडन्तदेखि मतदान स्थगन
मोरङ क्षेत्र नं. ६ मा प्रतिनिधि छनोटका क्रममा असहमति चुलिँदै जाँदा हात हालाहाल, आरोप–प्रत्यारोप र मतदान स्थगनसम्मको अवस्था सिर्जना भयो।
सर्वसम्मत सम्भव नभएपछि भएको निर्वाचनमा डबल मत खसालेको आरोपसमेत लगाइयो। पाञ्चालीस्थित पार्टी कार्यालयमा संस्थापन–इतर समूहबीच तनाब चर्कँदा भिडन्त भएको भिडियो नै सार्वजनिक भएको छ।
विवाद त्यतिबेला चरममा पुगेको थियो जब अध्यक्ष ओली निकट नेता परशुराम बस्नेतमाथि एकै व्यक्तिले अपाङ्ग तथा अशक्तका नाममा पुनः–पुनः मतदान गर्न खोजेको भन्दै विरोध गरिएको थियो। यद्यपि मोरङमा पूर्वराष्ट्रपति भण्डारी निकट समूहको प्रभाव बलियो रहेको एमाले स्रोतहरू बताउँछन्।
धनकुटामा तोडफोड र बहिस्कार
कोशी प्रदेशको धनकुटामा पनि प्रतिनिधि छनोट विवादरहित हुन सकेन। दुई समूह—अध्यक्ष ओली निकट राजेन्द्र राई समूह र विद्या भण्डारी पक्षधर इन्द्रमणी पराजुली समूह—बीच तीव्र असहमति रहेकाले निर्वाचन नै बहिस्कारमा पुग्यो।
असन्तुष्ट पक्षले मतदातालाई थाहा नदिई एकलौटी शैलीमा मतदान गराइएको आरोप मात्र लगाएन, बूथमै तोडफोड गरेका दृश्य पनि सार्वजनिक भए।
१५ गतेभित्र प्रतिनिधिको नाम केन्द्रमा
एमाले केन्द्रीय कार्यालयका अनुसार सबै क्षेत्रबाट मंसिर ११ गते नै उम्मेदवारी मनोनयन भएको थियो। केन्द्रले प्राथमिकतामा सहमति राखे पनि सहमति नजुटेमा लोकतान्त्रिक मतदान प्रक्रियाबाट अघि बढ्न निर्देशन दिएको थियो। सोहीअनुसार धेरै जिल्लामा शनिबार मतदान भयो। सामान्यतया दिउँसो २ बजेसम्मको समय तोकिए पनि स्थानअनुसार समय मिलाइएको थियो।
सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित, युवा गरी करिब २ हजार प्रतिनिधि चयन भएका छन् भने प्रवास, जनसङ्गठन र विभागहरूबाट करिब सयजना प्रतिनिधि छानिएका छन्। मनोनितसहित करिब २२ सय प्रतिनिधि आगामी महाधिवेशनमा सहभागी हुनेछन्।
एमालेले प्रतिनिधि छनोटमा प्रतिनिर्वाचन क्षेत्रलाई आधार बनाउँदै १२०० सदस्यमा खुला दुई र महिला एक प्रतिनिधि छान्न निर्देशन गरेको थियो, जसमा एक जना ४० वर्षभन्दा कम उमेरको अनिवार्य रहने प्रावधान राखिएको छ। केन्द्रीय कमिटीबाट ३५४ जना, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद्बाट २५ प्रतिनिधि रहने व्यवस्था छ।
सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार देशभरबाट छानिएका प्रतिनिधिका नाम मंसिर १५ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने व्यवस्था छ।