काठमाडौँ । भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र राष्ट्रिय सुरक्षा संरक्षणलाई प्रमुख एजेन्डा बनाउँदै ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल’ औपचारिक रूपमा गठन गरिएको छ ।
१३ सदस्यीय कार्यसमितिसहित काठमाडौँमा शनिबार यस संस्थाको सार्वजनिक घोषणा गरिएको हो।
ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपालको अध्यक्षतामा बनेको यस समाजमा नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द (पीएचडी)देखि विभिन्न क्षेत्रमा सक्रिय दिग्गज व्यक्तिहरू सम्मिलित छन्।
अध्यक्ष नेपालले संस्थाको उद्देश्यमाथि बोल्दै भने, 'हामी कुनै दल, सत्ता स्वार्थको दबाबमा होइन, सम्पूर्ण नागरिकको अधिकार र राष्ट्रहितका लागि स्वतन्त्र र निष्पक्ष रूपमा उभिनेछौँ।'
पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा हालका घटनाक्रमले सर्वसाधारण नागरिकको अधिकार, राष्ट्रिय स्वाधीनता, सुरक्षाभाव र राज्यप्रतिको विश्वास गम्भीर रूपमा कमजोर बन्दै गएको उल्लेख गरिएको छ।
सत्तासीन निकाय र राजनीतिक शक्ति केन्द्रहरूले राजनीतिको आडमा शक्तिको दुरुपयोग, प्रशासनिक मनोमानी, भ्रष्टाचार, भागबण्डा, दमन–शोषण र विदेशी स्वार्थअनुरूप नीति निर्देशनजस्ता गतिविधि गरिरहेको जिकिर गरिएको छ।
अध्यक्ष नेपालका शब्दमा, 'देशमा मौलिक हक, मानव अधिकार र प्राकृतिक न्यायमाथि प्रत्यक्ष आक्रमण भइरहेकाले अब सचेत नागरिक एकजुट हुनु अपरिहार्य छ।'
यही पृष्ठभूमिमा राष्ट्रभक्त, सचेत र जिम्मेवार नागरिकको साझा संस्थागत संरचना “राष्ट्रीय स्वतन्त्र नागरिक समाज, नेपाल” स्थापना गरिएको समाजले बताएको छ।
यस समाजले केन्द्रदेखि वडा तहसम्म संगठित संरचना विस्तार गर्ने, कुनै बाह्य निर्देशन वा प्रभावमा नपरी स्वतन्त्र रूपमा कार्य गर्ने र भ्रष्टाचारविरुद्ध तथा नागरिक सुशासनका पक्षमा उठाइएको जेन्जी आन्दोलनसँग सहकार्य गर्ने घोषणा गरेको छ।
अध्यक्ष नेपालले भने, 'जेन्जी आन्दोलनले उठाएका मुद्दा देशको अनिवार्य आवश्यकता हुन्, त्यसैले सहकार्य हाम्रो दुरदर्शितापूर्ण निर्णय हो।'
अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा थपे, 'देशको शासकीय स्वरुपसम्बन्धी विवादलाई गोलमेच संवादमार्फत साझा राष्ट्रिय अवधारणा निर्माण गरी समाधान खोज्नु आजको आवश्यकता हो। राष्ट्रवादी संस्था, व्यक्तित्व, प्रशासनिक र राजनीतिक तहबीच सर्वपक्षीय समन्वय हाम्रो प्राथमिकता हुनेछ।'
समाजले आवाजहीन नागरिकको दविएको आवाज बुलन्द गरिने, घोषणा–पत्र सर्वपक्षीय छलफलपछि तत्काल सार्वजनिक गरिने र कार्यक्रमहरू यथाशक्ति छिट्टै सञ्चालन गरिने जानकारी दिएको छ।
अध्यक्ष नेपालले भने, 'सचेत नागरिकको एकता, सक्रिय सहभागिता र साझा राष्ट्रिय प्रतिवद्धताबाट मात्रै मुलुकको स्वाधीनता, स्वाभिमान र भविष्य सुरक्षित हुन सक्छ। यो अभियानमा सबै देशभक्त नागरिकको साथ अपरिहार्य छ।'
कार्यक्रममा बोल्दै पूर्वएआइजी चन्दले मुलुकको स्वाधिनताको रक्षाका लागि यो समाज गठन भएको जानकारी गराए ।
नागरिक स्वतन्त्रता तथा मौलिक अधिकारमाथि हुने कुनै पनि हस्तक्षेप सहन नसक्ने समाजले स्पष्ट पार्दै राज्य संयन्त्र वा कुनै शक्ति समूहद्वारा नागरिकमाथि गरिने अन्याय–अत्याचारविरुद्ध निष्पक्ष र विधिसम्मत रूपमा आवाज उठाइने बताएको छ।
राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र नागरिक अभिभावकत्वका संवेदनशील छन्दमा मार्गदर्शक संयन्त्रका रूपमा काम गर्ने समाजले धर्म, संस्कार, संस्कृति, भाषा र सभ्यतामाथि हुने आक्रमणसमेत डटेर प्रतिवाद गर्ने प्रतिबद्धता जनाएको छ।
केन्द्रीय कार्य समिति —
१. अध्यक्ष – फणीन्द्र नेपाल
२. उपाध्यक्ष – रण बहादुर चन्द (पीएचडी), नेपाल प्रहरीका पूर्वएआइजी
३. महासचिव – परवीर नेपाल (प्रवीण)
४. कोषाध्यक्ष – संजय झा
५. सचिव – उजीर किराती
६. सदस्य – नारायण पोखरेल
७. सदस्य – अंकिता ढुङ्गेल
८. सदस्य – मिना पाख्रिन
९. सदस्य – रोशन मैनाली
१०. सिन्धु जलेसा बुढाथोकी
११. लक्ष्मी प्रसाद दहाल
१२. अर्जुन प्रसाई
१३. रोहित जंग राणा
