सन २०१४ मा फिनल्याण्डको राजधानी हेल्सिन्कीमा प्रहरीले एक रेष्टुरेण्टमा छापा मार्दा खाद्य मापदण्ड विपरित खाना बनाएको फेला पारेका थिए । मालिक कामदार सहित इण्डियन, बंगलादेशी, पाकिस्तानी र तीनजना नेपाली कारवाहीमा परेका थिए । फिनल्याण्ड प्रहरीले एकैपटक यी सबैलाई डिपोट गरिदिएको थियो ।
हुन त सन २०१९ मा र २०२२ मा पनि नेपालीहरु कारवाहीमा परिसकेका विवरणहरु सार्वजनिक भएका थिए । सन २०२४ अप्रिल २९ मा दसाउथडटकम नामक अनलाईनमा इण्डियन मसलादेखि हर्वल मेडिसिनसम्म प्याकेजिङ खानेकुरादेखि ताजा फलफुलसम्म स्वास्थ्य प्रतिकुल भएको विवरण सार्वजनिक भएको थियो ।
अर्कोतर्फ जर्मनी प्रहरीले सन २००८ मा इण्डियन, बंगलादेशी र पाकिस्तानी रेष्टुरेण्ट अनुगमनका लागि अलगै फोर्स बनाएको थियो । विभिन्न देशमा नेपालीहरुले होहल्ला, कानुन उल्लंघन गरेका र अनुशासन बाहिर गएर कारवाही भोगेका त सुनेकै छौं ।
विश्वभरका प्रहरी नागरिकको सुरक्षा मात्र प्रदान गर्दैनन्, गलत कृयाकलापको निगरानी गरिरहेका हुन्छन् । समाजको चित्रले प्रहरीको काम देखाइरहेको हुन्छ । यही प्रहरीका अनेक संयन्त्र गृह मन्त्रालय मातहत रहेको हुन्छ । नेपालमा भने कयौं दशकदेखि विनाप्रहरी त्यसै त्यसै हाम्रो समाज हुँइकिरहेको छ ।
सडक, रेष्टुरेण्ट, घर, स्कुल, कलेज, कार्यालय, अस्पताल, पार्क र विभिन्न स्थानका दृष्य नै त्यो मुलुकको परिचय हो । यी सबै स्थानमा प्रहरीको आँखा अनिवार्य पर्नुपर्छ । विकसित सभ्य मुलुकले यही विधि अपनाएका हुन्छन् । तर, नेपालमा भने ठीक उल्टो छ ।
आज नेपालको गृह मन्त्रालय सरुवा बढुवा वाहेक अरु कामै गर्दैन । विकसित मुलुकको एउटा साधारण नागरिक नेपाल आएर सामान्य रेष्टुरेण्ट छिरेर सडकको पेटीमा डुल्यो भने उसले नेपालको सबै परिचय सजिलै पाउँछ ।
कुनै सार्वजनिक शौचालय गयो भने नेपालको सभ्यता बुझ्छ । चोकमा उभिंदा कर्कस लाग्ने हर्नको आवाजले हाम्रो आचरण थाहा पाउँछ । अर्थात नेपालका केही पर्यटकीय विशेष स्थान वाहेक जहींतहीं मानिस शान्तसंग बस्न सक्ने वातावरण छैन ।
साना काम, ठुला उपलब्धि
यो आलेखमा समय समयमा आउने बिपत्तिका बारेमा लेख्न खोजिएको होइन । बिपत्तिका बारेमा अन्य सामग्रीमा उठाउने नै छौं र अहिले पनि उठाइरहेका छौं । यहाँ उठाउन खोजिएको विषय यस्ता ससाना हुन्, जस्को निराकरण वा अन्त्य गर्न ठुलो लगानी चाहिंदैन,, तर परिणाम भव्य आउँछ । हामीले भोगेको यस्ता केही बिजोग अवस्था हेरौं ।
सार्वजनिक शौचालय
नेपालमा एउटा पनि सार्वजनिक शौचालय प्रयोग योग्य छैन । बिदेशी पर्यटकलाई त यी शौचालय नरक लाग्छ । एउटा विदेशी पर्यटक कहाँ जाने ?
सरकारले भर्खर ल्याएको नीति तथा कार्यक्रममा देशभर शौचालय बनाउने घोषणा गरेको छ । तर, यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको यसअघिका उदाहरणले पुष्टि गरेका छन् । बनेका शौचालयको हालत पनि कुन अवस्थामा छन्, त्यो सबैलाई थाहा छ ।
धेरैलाई लाग्न सक्छ, यसमा गृह मन्त्रालयको जिम्मेवारी के हो ? गृह मन्त्रालयले फोहोर गर्नेलाई दण्डित गर्न सक्छ । नियम बनाउन सक्छ । जुन हरेक विकसित देशले गरिरहेका हुन्छन् ।
पर्यटककै कुरा गरौं
पर्यटक बस काठमाडौंको सोह्रखुट्टबाट छुट्छन्, तब पर्यटकले अर्को सास्ती व्यहोर्छन्, त्यो हो उही शौचालयकै । सोह्रखुट्टेमा शौच नगएका पर्यटकहरु बसले छिट्टै शौचालय भएको स्थानमा पुर्याउला भन्ने पर्खाईमा हुन्छन् ।
तर, बसले भने कलंकीसम्म विभिन्न यात्रु चढाउँदै जाँदा दुई घण्टा भन्दाबढि समय लगाइदिन्छ । यो अबधिमा एउटा यात्रुलाई कति सकस हुन्छ भन्ने कुरा त्यो यात्रा गर्नेलाई थाहा हुन्छ । यो रोक्ने जिम्मा प्रहरीको हो । अर्थात गृह मन्त्रालयको कर्तव्य हो ।
अर्को समस्या छ, मनलाग्दी मुल्य
रेष्टुरेण्टका मालिकहरुलाई कसरी हुन्छ महंगोमा खानेकुरा बेच्ने उद्देस्य मात्र छ । उता, पर्यटक व्यवसायको त झन कुरै नगरौं, आफ्ना होटलमा आउने पर्यटक कुन बाटो हुँदै कस्तो अवस्था भोग्दै आउँदैछन्, कुनै ज्ञान छैन । हो पछिल्लो पटक राजमार्गमा एकाध रेष्टुरेण्टहरु केहि व्यवस्थित खुलेका छन् ।
यी रेष्टुरेण्टका शौचालय केहि सुधारात्मक पनि छन् । तर, सबै बसले यी गतिला रेष्टुरेण्टमा यात्रु पुर्याउँदैनन् । जहाँ उनिहरुको रेष्टुरेण्टका मालिकसंग राम्रो सम्बन्ध छ, त्यहि लगेर पर्यटकलाई ओराल्छन् । राजमार्गमा पर्यटक बस र रेष्टुरेण्टका मालिकको खतरनाक सेटिङ छ ।
यो सेटिङले पर्यटक कति आजित छन् भने मलेखु भन्दा अलि वर काठमाडौं तर्फ आउने सडकको तल्लो भागमा रहेको एक रेष्टुरेण्टमा बसले यात्रुलाई खाना खान ओरालेको देख्दा छर्लंग हुन्छ । यो रोक्ने काम गृह मन्त्रालयकै हो । किनकी, यो मन्त्रालयले सबै निकायसंग समन्वय गरेर रोक्ने सामार्थ राख्छ ।
काठमाडौं ओर्लेको पर्यटक सोझै पोखरा, सौराहा वा लुम्बिनी जान रुचाउँछन् । किनकी काठमाडौंको भद्रगोल वातावरण उनिहरुले पहिल्यै जानकारी लिइसकेका हुन्छन् । जब कुनै पर्यटक विमानस्थलमा उत्रन्छ, तब उ ट्याक्सीवालादेखि अनेक व्यक्तिको घेरामा पर्छ । बिमानस्थलबाट शहर पस्न नपाउँदै उस्ले यति हैरानी व्यहोर्छ कि, उसलाई त्यहिंबाट स्वदेश फर्कुं फर्कुं बनाइदिन्छ । यस बिषयमा हामीसंग कयौं पर्यटकले गुनासो पोखेका छन् ।
गोरो छाला भएको पर्यटक देख्ने वित्तिकै पछ्याएर हैरान पार्ने परिपाटी छ । त्यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल कोच्ने काम प्रहरीको हो । हरेक पर्यटक निर्धक्क घुम्न सक्ने वातावरण निर्माण गर्नु पर्यटक आगमन बृद्धिको पहिलो शर्त हो ।
अहिले सामाजिक संजालको दुनियाँमा बिश्वका कयौं भ्लगरहरु नेपाल आउने गरेका छन् । उनिहरुले नेपालको प्रचार त गरेका छन्, तर यहाँ जे जे छ, त्यहि त्यहि प्रचार हुँदा नेपालको पहिचान सखाप भइसकेको देखिन्छ । उपत्यकाको स्वयम्भु, पशुपतिनाथ मन्दिर, बौद्ध, बसन्तपुर क्षेत्रमा अवान्छित गतिबिधी गर्ने युवाहरुको ठुलो जमात छ ।
यी युवाहरुले विदेशी पर्यटकलाई पछ्याएर दिक्दार बनाउने गरेका छन् । यो कुरा युट्युवमा गएर ती विदेशी भ्लगरले भोगेको अनुभव हेर्दा स्पष्ट हुन्छ । यो नियन्त्रणका लागि गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी गैरजिम्मेवार बनिरहेका छन् ।
अहिले चिनियाँ पर्यटकहरुको नेपाल आर्कषण बढ्दो छ । यसका अलावा कोरियन, जापानिज पनि नेपाल घुम्न आइरहेका छन् । युरोपियन र अमेरिकन देशका नागरिक पनि नेपाल घुम्न आएका छन् । यी सबै मुलुकमा बस्ने नागरिकको सभ्यता कति सभ्य छ भन्ने कुरा सबैलाई अवगत नै छ । पर्यटक आकर्षकको पहिलो शर्त निर्धक्क घुम्न पाउने सुरक्षित वातावरण हो भने अर्को सफासुग्घर हाम्रो रहनसहन हो ।
अहिले कयौं पर्यटक होटलमा मात्र बस्दैनन् । शहरका भित्री बजार र नीजि घरहरुमा पुगिरहेका हुन्छन् । तर, हाम्रा रेष्टुरेण्ट र सडक वरपरका पसलहरुको दृष्य यति कुरुप छ कि, तेस्रो मुलुकका पर्यटक नाक थुनेर घुमिरहेका देखिन्छन् । यसको अनुगमन, कारवाही गर्ने काम गृह मन्त्रालयकै हो । तर, हाम्रो गृह मन्त्रालय सरुवा बढुवामा मात्र अल्झिन्छ ।
खासगरि, इण्डियन व्यापारीले चलाएका समोसा पसलहरुको दृष्य निकै घिन लाग्दो छ । पसलको वातावरणदेखि किचनसम्म अनुमगन गरेर सौन्दर्यकरण गर्न अनिवार्य छ ।
जसरी विकसित मुलुकमा इण्डियन र नेपालीको भान्छा समेत त्यहाँका पुलिसले चेक गरेर सभ्यताको पाठ पढाउँछ, त्यसरी नै यहाँ सुरक्षाकर्मी खटाएर सफासुग्घरको वातावरण निर्माण गर्न अनिवार्य भइसकेको छ । हरेक पर्यटक सफा ठाउँ र सफा वातावरणमा रमाउँछन् ।
अर्को समस्या छ ध्वनी प्रदुषण
शहरको सौन्दर्यको मुख्य मापन शान्त वातावरण हो । दक्षिण एसियाका इण्डिया, बंगलादेश र पाकिस्तान सबैभन्दा क्रेजी (कोलाहल) मुुलुक हुन् । त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ । यो रोक्न स्वनियम जारी गर्नु अनिवार्य छ । शहरको मुख्य समस्या भनेको हर्नको आवाज हो ।
गत वर्षसम्म हर्न निषेधका प्रयास भएका थिए । नयाँ बानेश्वर लगायतका आकाशेपुलमा ‘हर्न निषेध’ का पोष्टर टांसिएका थिए । अहिले ती पोष्टर छैनन् । हर्न बजाउनेलाई २५ हजारसम्मको जरिवाना तोक्ने शुरुवात गरेको खै ?
ध्वनी प्रदुषणको अर्को कारण छ, ठेलामा सामान राखेर हाते माइक प्रयोग गर्ने । प्रहरीलाई खटाएर यो पुर्ण नियन्त्रण गर्नु अनिवार्य छ । अहिले जथाभावी घरघरमा कुकुर पालिएका छन् । यसले छिमेकीहरुलाई हैरान बनाएको छ । सडकका बेबारिसेदेखि घरघरमा पालिने कुकुर नियन्त्रण गर्न आवस्यक छ ।
हाम्रो बस्तीमा घरघर जोडिएका छन् । एउटा घरमा चम्चा खस्यो भने पनि छिमेकीलाई असर पर्छ । अर्को विकराल समस्या छ, जथाभावी खुलेका काठ मिल, वर्कशप, फलामे मिलहरु । यी सबैभन्दा खतरनाक ध्वनी प्रदुषण हुन् । यस्ता सबै वर्कशपहरु निश्चित स्थानमा मात्र संचालनको अनुमति दिनुपर्छ । बस्तीमा यस्ता शपहरुले कोलाहल निम्तिएको छ ।
पुराना घर पुननिर्माण, नयाँ घर निर्माण, सामान आयात निर्यात, विवाह पार्टी, सभा जुलुश, माइकिङ लगायतबाट निस्कने आवाज नियन्त्रण गर्न र यस्ता गतिविधीमा पुर्ण रोक लगाउन र निश्चित स्थान समयको प्रणाली बसाल्न अनिवार्य छ ।
अर्को समस्या छ अवान्छित गतिविधी
अहिले काठमाडौं उपत्यकामा विकसित मुलुकका पर्यटक आएर घुम्न नसक्ने अवस्था छ । यसको उदाहरण हेर्न एक पटक स्वयम्भूमा एक घण्टा बिताए यो दृष्य सजिलै देखिन्छ । विदेशी पर्यटकलाई यहाँका उद्दण्ड युुवाहरु पछ्याएर हैरान बनाएका हुन्छन् । जर्वजस्ती पैसा माग्छन् ।
नेपालकै बेइज्जत हुनेगरि अहिले केहि समयदेखि यता बिदेशी भ्लगरहरुले यस्ता कुरुप दृष्य प्रशारण गरिरहेका छन् । दोष ती भ्लगरहरुको होइन । गल्ति हाम्रो हो । ती भ्लगरले त झन नेपालकै प्रचार गर्न यहाँ आएका हुन् । हामीले नै हाम्रो वातावरण खराब बनाउँदा ती दृष्य संसारभर फैलिरहेका छन् ।
खासगरि, स्वयम्भू, पशुपति, दक्षिणकाली, बुढानिलकण्ठ, बसन्तपुर, ठमेल लगायतका क्षेत्रमा इण्डिया र पाकिस्तानबाट आएका सडक व्यापारीहरुले भरिएका छन् । तेस्रो मुुलुकबाट आएका कयौं पर्यटकले यो नेपाल हो कि इण्डिया हो भनेर झुक्किएका छन् । यो सम्पुर्ण रुपमा रोक्न आवस्यक छ ।
काठमाडौं उपत्यकाको यहि विकृतिका कारण अहिले अधिकांश तेस्रो मुलुकका पर्यटक सोझै पोखरा घुम्न जान्छन् । राजधानीको यो कुरुप दृष्य नहटाएसम्म विकसित मुलुकका पर्यटक यहाँ अडिंदैनन् ।
अर्को समस्या छ सडक वरपरका कुरुप दृष्य
विकसित मुलुकमा जस्तो फराकिलो, सफा सडक छैन यहाँ । सडकमा खाना खाने त कुरै नगरौं, हिंड्न त मुस्किलको अबस्था छ । यस्तो फोहोर र धुलो भएको सडक र सार्वजनिक स्थानमा खाना विक्री गर्न पुर्ण रोक लगाउनुपर्छ ।
निश्चित स्थानमा अस्थायी व्यापार र जग्गाजमीन भएका नागरिकलाई घर फर्काउ अभियान शुरु गर्नुपर्छ । यसका लागि सम्बन्धित सबै निकायसंग समन्वय र सहकार्य आवस्यक छ । कुरुपको अर्को दृष्य छ, सडक वरीपरी झुत्रे पसल । सडक वरपरका घरहरु,पसलहरु र पुराना संरचनामा निश्चित रंगरोगन, डिजाइन लगायतका व्यवस्था अनिवार्य गर्नुपर्छ ।
अर्को छ, सडकमा भरिएका वेसहारा मानव । कतिपय समस्याहरुमा हाम्रा आँखा पर्देनन् । तर ती समस्याले हामीलाई बर्षौैंदेखि हैरान बनाएको छ । कोटेश्वरका चोकदेखि बिभिन्न बस स्टेशनमा इण्डियन महिला, बालबालिका भीख मागिरहेका छन् । अहिले यो दृष्य डरलाग्दो गरि बढिरहेको छ ।
यी इण्डियन महिलाहरु भीख माग्न कसरी आइपुगे यिनलाई उनिहरुकै देशमा फर्काउने बारेमा गृहमन्त्रालयले तुरुन्त समाधान निकाल्नुपर्छ । यो समस्या अहिले झन तीव्ररुपमा बढिरहेको छ ।
अर्को समस्या छ, पानपराग र सुर्ति खाएर सडकमा जथाभावी थुक्नु
बेलायत त्यस्तो देश हो, जहाँ करिव २५ प्रतिशत मानिस इण्डियनहरु बस्छन् । तर, त्यहाँ कसैले सुर्तिसेवन, पानपराग विक्री गर्न र सडकमा थुक्न पाउँदैनन् । सडकमा चुरोटका ठुटाहरु विस्कुन सुकाएर झैं एकैछिनमा देखिन्छन्, एकैछिनमा सफाचट पारिन्छ ।
यस्तो दृष्य सबै विकसित देशहरुमा देख्न सकिन्छ । गाँजा, चुरोट र मदिरा खुल्ला विक्री गर्न पाउने नियम चाहिन्छ भने सुर्ति पानपराग विक्रीमा प्रतिबन्ध लगाउनु अनिवार्य छ । यदि बंगलादेश र इण्डियाका शहरको जस्तो कुरुप दृष्य हटाउने हो भने सुर्ति र पानपराग आयात रोक्न सरकारसंग पहल गर्न आवस्यक छ ।
अर्को छ, फोहोर स्थानमा खानेकुरा बिक्री
उपत्यकाका सडकका दायाँबायाँ हेर्ने हो भने यति विजोग देखिन्छ कि, मानिस नरकमा बसेर खाना खाइरहेका छन् भन्ने सम्झाउँछ । हाम्रा सडक त्यस्ता छैनन्, जुन विकसित मुलुकका जस्ता स्ट्रिट फुड विक्री गर्न लायकका हुन् । चौविस घण्टा उड्ने धुलो र नजिकै दुर्गन्ध आउने फोहोरले उपत्यकाको कुनै पनि खुल्ला स्थानमा खाना खान सकिंदैन । यहाँ त्यस्तो वातावरण बनिसकेकै छैन ।
तर, पनि यहाँ हजारौं मानिसहरु सडकमा खाना बनाइरहेका हुन्छन् । चनाचटपटदेखि पानीपुरीसम्म, पकौडादेखि भुटनसम्म फोहोर मिश्रित खानाहरु सडकमा पाकिरहेका हुन्छन् ।
यी सामग्री विक्री गर्ने र उपयोग गर्नेहरु देख्दा लाग्छ, हामीलाई सभ्यता र सफाईको कुनै मतलव नै छैन । जे छौं, हामी संसारकै अब्बल छौं । सायद यहि नै हाम्रो परिचय हो । यस्तो विजोगले स्वंय हामीलाई कति रोगी बनाइरहेको छ भने, अर्कोतिर पर्यटकहरुमा कति नकारात्मक प्रभाव परेको होला । सोझो अनुमान गर्न सकिन्छ ।
हुन त हामी चरम गरिवीको अवस्थामा छौं । सडकमा खानेकुरा विक्री गर्नेहरुलाई हटाउँदा हजारौंको रोजगार खोसिने तर्फ आवाज उठ्न सक्छ । यसका पनि उपाय छन् । सरकारले प्याकेजमा रोजगारका कार्यक्रम र निश्चित स्थानमा यी सामग्री विक्री गर्ने प्रवन्ध मिलाउन सक्छ ।
गृह मन्त्रालयले केन्द्र सरकारले पहल नगरेसम्म यो समस्या हल हुने वाला छैन । यस तर्फ सरकारले ध्यान नदिएसम्म हाम्रा शहरहरु सधैं कुरुप र नरककै नक्सामा दरिनेछन् ।
अर्को समस्या हो, सडक व्यापारी
असरल्ल सडक व्यापारीका कारण हाम्रा शहरहरु भद्रगोलमा परिणत भएका छन् । गत वर्ष काठमाडौं महानगरले ठेला र साइकलमा व्यापार गर्न रोक लगाएको छ । यो निकै सर्हानीय काम हो । हो, यसले धेरेको रोजगारमा कठिनाई हुनेछ ।
यसका वावजुद पनि यसलाई अझ सरल र सहज व्यापारको प्रक्रियामा लान सकिन्छ । ताकि कसैको रोजगार वा व्यवसाय नगुमोस । त्यसका लागि उपत्यका भित्र विभिन्न स्थानमा ठेला र साइकलमा व्यापार गर्ने निश्चित स्थान तोक्नुपर्छ । यो नै सबैभन्दा उत्तम उपाय हो ।
गृह मन्त्रालय र प्रहरी अनिवार्य किन ?
माथी उल्लेखित समस्याहरु समाधान गर्ने दायित्व गृह मन्त्रालय र प्रहरीको नै हो किन भनियो ? धेरैलाई लाग्न सक्छ, अन्य मन्त्रालय, विभिन्न पालिका छन्, गृहकै किन जिम्मेवार ? हो हामी नेपालीले बुझ्न नसकेको र हाम्रो शासन पद्धतिले नसिकेको विषय यही हो । विकसित देशका केही उदाहरण हेरौं ।
यदि तपाईं सिंगापुरको सडकमा फोहोर फाल्दै हुनुहुन्छ भने तपाईंलाई सिंगापुर प्रहरीले पक्राउ गर्छ । तपाईं जापानको कुनै पार्कमा गलत गतिविधी गर्दै हुनुहुन्छ भने त्यहाँ पनि प्रहरीले समाउँछ । युरोप, अमेरिका, अष्ट्रेलियादेखि ताइवानसम्मका देशमा दक्षिण एसियन मुलका नागरिकको भान्छादेखि बाथरुमसम्म चेकजाँच गर्न प्रहरी नै आइपुग्छन् । (हेर्नुस र अध्ययन गर्नुस सम्बन्धित देशका नियम)
अब नेपालमा हरेक क्षेत्रमा प्रहरी हावी हुन अनिवार्य छ । जुन प्रणाली विकसित देशमा प्रभावकारी भएको छ । नेपालमा बाणिज्य विभागले खाद्य अनुगमन गर्छ, अनि घुस लेनदेन चल्छ ।
अनि त हानीकारक सामग्री बिक्री भइहाल्छ । अहिले सार्वजनिक रुपमा बिक्री भएका खानेकुरा, पानी आदि कति स्वास्थ्य प्रतिकुल छन् भन्ने हेर्यो भने यी सबै प्रमाणित हुन्छ ।
तर, देशका सुरक्षा अंगका व्यक्तिहरु नै खटिए भने यो नियन्त्रण हुन्छ । किनकी तुलनात्मक रुपमा कर्मचारी भन्दा सुरक्षाकर्मी ठीक हुन्छन् । यो प्रणाली विकसित देशमा निकै प्रभावकारी छ ।
अतः नेपालमा आउने विकसित देशको नागरिकले सधैं प्रश्न गर्छ, यहाँ प्रहरी खोई ? अर्थात, गृह मन्त्रालय कहाँ छ ???