काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र बढ्दो मतभेद र महाधिवेशनको अनिश्चितताप्रति निकै चिन्तित देखिएका छन् ।
विधानले तोकेको समयमा महाधिवेशन गराउन आफूले सिंगापुर जाने बेलामै स्पष्ट निर्देशन दिएको भए पनि त्यसअनुसार प्रक्रिया अघि नबढेको भन्दै उनले नेताहरूसँग कडा आपत्ति जनाएका छन् ।
हाल उनी निरन्तर नेतासँग भेटघाट गर्दै सबै पक्षलाई सहमति र नियमित प्रक्रियामा फर्कन आग्रह गरिरहेका छन् । कार्यवाहक नेतृत्वले समयमै महाधिवेशन नगरेकोमा देउवाको असन्तुष्टि देउवा निवासमा भएको पछिल्लो छलफलमा झन् स्पष्ट रूपमा व्यक्त भएको सहभागी नेताहरूले बताएका छन् ।
उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सहभागी थिए । छलफलकै क्रममा देउवाले आफूले पद छोड्ने निर्णय गरिसकेको र विधानअनुसार मंसिरमै महाधिवेशन गर्न भनिएको भए पनि नेताहरू विवादमै अडिनुका कारण प्रक्रिया थन्किएको भन्दै असन्तोष पोख्दै “मैले छाड्छु भनेकै छु भने तपाईंहरूलाई समस्या के भयो ?” भनेर प्रश्न गरेका थिए ।
उनको यस्तो कडाइपछि महामन्त्री थापा र शर्मा दुवैले समय कम भएकाले विशेष महाधिवेशन आवश्यक भएको र सुवर्णशमशेरले २०१५ सालमा अपनाएको मार्गअनुसार देउवाले विशेष महाधिवेशनबाटै पद त्याग गर्नुपर्ने प्रस्ताव राखे । तर देउवाले विशेष महाधिवेशनमा जाने सुझाव अस्वीकार गर्दै नियमित महाधिवेशन नै पुसको अन्तिम साताभित्र गर्न सकिने भन्दै त्यसै तर्फ अघि बढ्न निर्देशन दिए । यही प्रसंगमा नेता विमलेन्द्र निधिले केन्द्रीय कमिटीको बहुमत नियमित महाधिवेशन मान्ने अवस्थामा नरहेको तर्क गरेपछि देउवा कड्किँदै “कसले नमान्ने ? किन नमान्ने ? पार्टी फुटाउन लागेका हो ?” भन्दै समयमै मिति तोकेर अघि बढ्नुपर्ने आफ्नो अडान पुनः दोहोर्याए ।
निधिले पुनः बहुमत सदस्यले समर्थन नदिने अवस्था रहेको बताइरहे पनि छलफलमा फास्ट ट्र्याकमार्फत महाधिवेशनमा जाने सम्भावनाबारे पनि विस्तृत बहस भएको थियो । नेताहरूका अनुसार प्रतिनिधि छनोटदेखि क्रियाशील सदस्यता नवीकरणसम्मका प्रक्रियालाई छोट्याएर महाधिवेशन गर्न सकिने विकल्पबारे पनि छलफल भएको थियो ।
तर सहमति नजुटेकै कारण कांग्रेस केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको र बैठक बस्न नसक्दा आन्तरिक विवाद झन् जटिल बन्दै गएको सहभागी नेताहरू बताउँछन् । महाधिवेशनबारे अन्तिम निष्कर्ष निकाल्ने अपेक्षासहित भोलि (शनिबार) पनि छलफल जारी रहनेछ ।