काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
पार्टीले योग्य र इच्छुक सदस्यहरूलाई मोबाइल एपमार्फत अनलाइन आवेदन दिन आह्वान गर्दै छनोट प्रक्रियालाई डिजिटल र पारदर्शी बनाउने प्रयास अघि बढाएको छ। आवेदन कार्तिक २२ गतेदेखि मङ्सिर २५ गतेसम्म खुला रहने जनाएको छ।
उम्मेदवार छनोटका सम्बन्धमा विस्तृत रूपरेखा अध्ययन गरेर मात्र आवेदन दिन अनुरोध गरिँदै, थप जानकारीका लागि पार्टीका देशभर रहेका कार्यालय वा उम्मेदवार छनोट समिति संयोजक विपिन कुमार आचार्यसँग सम्पर्क राख्न सकिने व्यवस्था मिलाइएको छ।
चुनाव नजिकिँदै जाँदा रास्वपा आन्तरिक रूपमा मात्र होइन, देशव्यापी रूपमा पनि सक्रिय भएको देखिन्छ। सभापति रवि लामिछानेको लोकप्रियता, विशेषतः युवा पुस्ता र जेन–जी समूहबीच बढ्दो प्रभाव, पार्टीका लागि मुख्य आधार बन्न पुगेको छ। संस्थापक सभापति लामिछानेको छवि, संचारक दक्षता र भ्रष्टाचारविरोधी कडा धारणा अहिले पनि रास्वपाको प्रमुख पहिचान बनेको छ। पार्टीभित्रका अधिकांश व्यक्तिहरूका अनुसार यही लोकप्रियताले रास्वपालाई द्रुत रूपमा फैलिन र टिक्न मद्दत गरिरहेको छ।
उता रास्वपा मात्र होइन, देशका सबै दलहरू आगामी आमनिर्वाचनमा पूर्ण रूपमा होमिएका छन्। तर अन्य दलहरूको परम्परागत संरचनाभन्दा फरक, चुस्त–चुस्त अभियान, डिजिटल सक्रियता र युवामुखी उपस्थितिका कारण रास्वपा अहिले विशेषगरी शहरी युवामाझ निकै आकर्षण बटुलिरहेको देखिन्छ। मङ्सिर २५ सम्मको आवेदन अवधिसँगै समानुपातिक सूची तयार गर्ने, जनमत तथा संगठन दुवैलाई बलियो बनाउने र चुनावी अभियानलाई तीव्र बनाउने पार्टीको लक्ष्य रहेको रास्वपाले जनाएको छ ।