काठमाडौँ, असोज ९ गते । दसैँ, तिहार तथा छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ मङ्गलबारबाट (९ गते) खुला हुने भएको छ ।
असोज ५ गतेबाटै खुला गर्ने भनिए पनि यातायात व्यवसायीले इन्धनको मूल्यवृद्धि भएकोमा विरोध गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका थिएनन् तर सरकारले हालको गाडी भाडामा १० प्रतिशत भाडा वृद्धि गरेपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आजबाट देशभर अग्रिम टिकट बुकिङ खुला गरेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला र कोटेश्वरबाट अग्रिम टिकट बुकिङ गर्न सकिने छ ।
यात्रुको सुविधा र सुरक्षाका लागि टिकट काउन्टरमै सार्वजनिक सूचना प्रसारण गरिने भएको छ । साथै समयमै बस छुट्ने र समयमै गन्तव्यमा पुग्नका लागि बीच बाटोमा यात्रु चढाउने कार्य नहुने महासचिव सिटौलाले दाबी गर्नुभयो । भीडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले काउन्टरबाटै टिकट लिन महासङ्घले अनुरोध गरेको छ । कसैले सस्तो टिकट मिलाइदिन्छु भन्दैमा प्रलोभनमा नपर्न पनि सिटौलाले अनुरोध गर्नुभएको छ । साथै शङ्कास्पद व्यक्तिलाई बसमा प्रवेश नदिइने महासङ्घले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बसमा राख्न नपाइने व्यवस्थालाई कडाइका साथ लागू गरिने भएको छ ।
बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म अग्रिम टिकट बिक्री गरिने भएको छ । हालका लागि १० प्रतिशत भाडा वृद्धि गरी भाडा समायोजनका लागि समिति बनाएपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।
यातायात व्यवस्था विभाग र व्यवसायीको भाडा समायोजन समितिले विस्तृत अध्ययन गरी आगामी मङ्सिर २८ गतेसम्म प्रतिवेदन दिएपछि वैज्ञानिक भाडा समायोजन गरिने भएको छ ।
दसैँका अवसरमा करिब २५ लाख जनसङ्ख्या काठमाडौँबाट बाहिरिन्छ । महासङ्घका अनुसार समान्यता दैनिक दुई हजारको सङ्ख्यामा यात्रुबाहक सवारीसाधन काठमाडौँबाट बाहिर जान्छन् । दसैँका अवसरमा करिब छ हजार यात्रुबाहक सवारीसाधन काठमाडौँबाट बाहिर जाने महासङ्घले जनाएको छ ।