काठमाडौं । निरन्तर परेको अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । भने ३ जना बेपत्ता भएका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार स्थानीय नागरिक तथा प्रहरीको संयुक्त प्रयासमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा ८ की १९ वर्षीया सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका वडा ३ फगामकी ५४ वर्षीया योमाया पाईजा, मालिका गाउँपालिका वडा ३, डाँडागाउका ३१ वर्षीय चिरण पुन, मालिका गाउँपालिका वडा ३, डाँडागाउँका २८ वर्षीय देव बहादुर पुन, अन्नपूर्ण गाउँपालिका वडा ६, गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका वडा ३, फगामकी ७५ वर्षीया शिल कुमारी गर्बुजाको शव फोला परेको छ ।
बेपत्ता हुनेमा अन्नपूर्ण गाउँपालिका वडा ६, गिवाङका ७५ वर्षीय ओम बहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका वडा ८, काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका वडा ३, भकिम्ली छेपारेकी उमेर नखुलेको कुमारी वि.क. रहेका छन् ।
पहिरो प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल प्रभावित क्षेत्रहरूमा प्रहरी परिचालन भई थप उद्धार तथा राहत वितरण कार्य निरन्तर जारी छ ।
बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सम्पूर्ण यातायात आवागमन ठप्प भएको छ । अवरुद्ध सडक खुलाउन आवश्यक प्रयास भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।