नेपालगन्जको गणेशपुरमा ‘साइबाबा’ भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
केही समयअघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् ।
झारफुक गर्नेक्रममा ती साइबाबाले तीन/चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत किशोरीले प्रहरीसमक्ष बताएको आफन्तले जनाएका छन् ।
बिहीबार दिउँसो १ बजेतिर किशोरीको योनीबाट धेरै रक्तश्राप भएपछि किशोरीले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् ।
आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित किशोरीका काकाले जानकारी दिए ।घटना थाहा पाएलगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबाबा भनिने ती व्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् ।किटानी जाहेरी परेपछि बाँके प्रहरीले साइबाबा भनिने ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।
बढैयाताल गाउँपालिकाकी १५ वर्षीया ती किशोरीको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए/नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् ।
ती साइबाबाले पटक–पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउनेसम्बन्धी औषधिसमेत खुवाएको प्रहरीसमक्ष पीडित किशोरीले बयान दिएकी छन् ।
४६ वर्षीय साइबाबा भनिने ती व्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए । देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँके जिल्लामा पनि एक सातामै दुईओटा यस्ता घटना भएका छन् । (रासस)