काठमाडौं : बाजेको सेकुवा सोमबारबाट पुनः सञ्चालनमा आएको छ। सुन तस्करीको लगानी रहेको आरोपमा दुई महिनादेखि बन्द बाजेको सेकुवाको सिल तोडेर सोमबारदेखि सञ्चालनमा आएको हो। भदौ १३ गते सर्वोच्च अदालतले सबै शाखाहरू तत्काल खोल्न अन्तरिम आदेश दिएपछि सोमबारबाट काठमाडौं उपत्यकाका सबै शाखा पुनः सञ्चालनमा आएका हुन्।
बाजेको सेकुवामा गृह मन्त्रालयले लगाएको सिल तोडिएको हो। ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको अनुसन्धान समितिले बाजेको सेकुवामा सिल गरेको थियो। विगत दुई महिनादेखि बाजेको सेकुवा बन्द थियो।
बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सिल तोड्न सरकारका नाममा आदेश दिएको थियो।
चेतनलाई संगठित अपराध ऐनअन्तर्गत सुन तस्करीसँग जोडेर मुद्दा चलाइएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न आदेश दिएको थियो।
सरकारले बाजेको सेकुवा ब्रान्डअन्तर्गत सामाखुसी, बत्तीसपुतली, कमलपोखरी, गैरीधारा, अनामनगर र स्रोहखुट्टेमा रहेका ६ वटा शाखामा सिल गरेको थियो। ती शाखामा कार्यरत करिब दुई सय कर्मचारीले आफ्नो व्यवस्थापनको माग गरेका थिए।
मजदुरले सरकारले गरेको छानबिन प्रक्रियामा आफ्नो पनि साथ रहेको जनाएका छन्। त्यहाँ कार्यरत मजदुरले रोजगारी सुरक्षित गर्न सरकासँग अपिल गरेका थिए। उनीहरूले यस विषयमा सरकारको धारण कस्तो रहेको छ भन्ने बुझ्न श्रम मन्त्रालय, गृह मन्त्रालय र पर्यटन मन्त्रालयमा निवेदन समेत पेस गरेका थिए। यो विषयले मजदुरको रोजीरोटीमा असर परेको बताएका थिए।
उपत्यकाका ६ स्थानमा बाजेको सेकुवा कर्नर सञ्चालनमा थिए। पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकमा आघात पुगेको दाबी व्यवसायीले गरेका थिए।
यस व्यावसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदार प्रसाद श्रेष्ठ, मेहेशबहादुर भट्टराई र गणेश लम्साललगायत व्यक्तिहरू आबद्ध छन्
काठमाडौं उपत्यकामा रहेका बाजेको सेकुवाका सबै शाखा सञ्चालनमा आएका छन्। बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि गृह मन्त्रालयद्वारा गठित सुन छानबिन समितिले गत जेठ ३० गते बाजेको सेकुवामा छापा मारेर सिल गरेको थियो।
सबै शाखा सिल गरेपछि सञ्चालक नीतिमा भण्डारीले सर्वोच्चमा रिट हालेकी थिइन्। सुन काण्डमा चेतनाथ भण्डारी मुछिए पनि व्यवसाय बन्द गर्न नहुने भन्दै सुन छानबिन समितिको आलोचना भएको थियो।