काठमाण्डौ । नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको आज सम्पन्न पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
काठमाण्डौमा सम्पन्न मञ्चको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिष अबस्थी, पासाङ शेर्पा, मनुका वर, सुनिता लोहनी तथा बसन्त शर्मा चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमेर थिए । कार्यक्रममा बोल्दै राजदूत ओमेरले इजरालमा प्रयोग हुँदै आएको आधुनिक कृषि प्रणालीबाट नेपालले पनि धेरै सिक्न सक्ने बताए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको निम्ति जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताएका थिए। विगतमा परिवर्तनका निम्ति नेपाली सञ्चार जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आचार्यले व्यवसायिक पत्रकारिताको निम्ति जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारण राखे ।

नवनिर्वाचित अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा नेपाल पत्रकार मञ्च सदैव क्रियाशील रहने बताउदै मुलुकमा जारी कुनै पनि कानुनले प्रेस स्वतन्त्रालाई हनन् गर्न नमिल्ने धारण राखेका थिए ।

साथै कार्यक्रमा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट एशिया प्यासिफिक दैनिकमा कार्यरत पत्रकार आस्मिका गुरागाईंलाई सम्मान प्रदान गरिएको थियो भने अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी तथा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो ।