काठमाडौं । प्रधानमन्त्री कार्यालय बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को आकस्मिक बैठक बसेको छ ।
निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको आन्दोलन हिंसात्मक बनेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले घटनाबारे विशेष अनुसन्धान गर्ने निर्णय गरेको हो ।
कञ्चनपुर घटनाबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको अवस्थामा पार्टीले पनि विशेष अनुसन्धान गर्ने निर्णय गरेको बैठक स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । पार्टीले घटनाबारे आजैदेखि विशेष अनुसन्धान सुरु गर्ने बताइएको छ ।
बैठकले कञ्चनपुरसहित देशभर भएका बलात्कारका घटनालाई गम्भीरतापूर्कक लिँदै आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड समेत दिएको स्रोतले जनायो ।
शुक्रबारमात्रै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी कञ्चनपुर घटनाबारे ध्यानाकर्षण गराउँदै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका थिए । शुक्रबार नै घटनाको विरोधमा कञ्चनपुरमा भएको आन्दोलनमा क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि सरकार र प्रहरी प्रशासनको चर्को आलोचना भइरहेको छ ।
यद्यपी सरकारले भने कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेको दाबी गरेको छ ।
उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।
शुक्रबार राती अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा घुपसैठ भएको दाबी गरे । उनले आन्दोलनमा कसको घुसपैठ भएको भन्नेचाही खुलस्त पारेनन् ।
उनले दोषीलाई कारबाही गर्न सरकार गम्भीर रहेको भन्दै पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न पनि कञ्चनपुरबासीसँग अनुरोध गरेका छन् ।
कञ्चनपुरमा आन्दोलनरत स्थानीयले प्रहरीले यसअघि बलात्कारपछि हत्या अभियोगमा एक जनालाई पक्राउ गरेपनि उनी बास्तविक अपराधी नभएको भन्दै आन्दोलन चर्काउँदै आएका छन् ।
आज बसेको ने क पा को बैठकले देशको शान्ति सुरक्षामा खलल पार्ने तत्तहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउनु पर्नेमा पनि जोड दिएको छ ।