महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले एकजना युवालाई सार्वजनिक गरेपछि महेन्द्रनगर बजार तनावग्रस्त बनेको छ ।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् ।
उनीहरुले महेन्द्रनगर बजारमा प्रदर्शन गरेका छन् । महेन्द्रनगर बजार बिहानैदेखि ठप्प छ । यातायात र शिक्षण संस्थासमेत बन्द छन् । स्थानीय व्यापारीसमेत आफ्नो बजार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्व नाराबाजी भइरहेको छ । प्रशासन कार्यालयमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेट तोडेर भित्र जाने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेटीले ११ राउण्ड अश्रुग्यास प्रहार गरिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर २ प्रहरी जवान घाइते भएका छन् ।
भागदौडका क्रममा केही प्रदर्शनकारीलाईसमेत चोट लागेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रशासन अघिको आन्दोलनकारीहरुको भीड तितरबितर भएको थियो ।
१३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेको भन्दै दिनहुँ आन्दोलन भइरहेको थियो । हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित नागरिक संघर्ष समितिको नेतृत्वमा प्रशासन कार्यालय अघि भइरहेको रिले अनशन जारी छ ।
प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिप सिंह विष्टलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।