भक्तपुर। राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ।
भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो। राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन्। यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन्। बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए। पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन्। पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ।
त्यस्तै हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, डा इवामुरा अस्पताल, अक्सफोर्ड स्कूललगायत क्षेत्र डुबानमा परेको छ। वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचालन गरिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो।
यता भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सूर्यविनायक हुँदै घ्याम्पेडाँडा जाने बाटाको धेरै ठाउँमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा यहाँ बासिन्दाले सास्ती खेप्नुपरेको छ।
स्थानीय होटल व्यवसायी रामजी अवालले पाइलट बाबा आश्रमभन्दा तल र माथि ठाउँठाउँमा पहिरो गएर कालोपत्रे सडकसमेत पूरै अवरुद्ध भएपछि सो बाटो हुँदै विद्यालय जाने विद्यार्थी, शिक्षक, शिक्षिका र स्थानीय बासिन्दा प्रभावित भएको बताए। रातिदेखि नै बाटो बन्द भएपछि विभिन्न कार्यक्रम लिएर होटलमा आउने र आन्तरिक पर्यटकसमेत बीचबाटै फर्किएर गएको उनको भनाइ छ।